घण्टाघरबाट हेर्दा

अर्थ न बर्थ गोविन्द गाइ
नेप्लिज थाँग्रेसका कार्जेकर्ताहरुमाथि हसिया हतौडा, कलम, साइकल, गिलासमा भोट नदिएको भन्दै कारबाही हुने भएको छ । अर्थ न बर्थ गोविन्द गाइँ भनेझैँ अरुलाई भोट नदिँदा अन्तरघातको आरोपमा कारबाही गर्ने रे । फेरि कारबाहीले के लछारपाटो लाग्ने होला ? इमान्दार कार्जेकर्ता भटाभट अन्तैै लहसिन थाल्या छन् । वडा  स्तरबाटै कारबाहीको प्रस्ताव बाल्वाटारे मुखिया, मुखिनी, भुत्ला कृष्णेकी जोइ मञ्जु खाँड, थुतुनोमात्र चलाउने नुवाकोटे अँध्यारो शरण महत, हैसियत गुमाएका जनकपुरे कायस्थलाई कारबाही हुनुपर्छ भनेर पारित हुनुप¥यो । थाँग्रेस यिन्को बिर्ता र कामत घर होइन । आफ्नी जोइ र हनुमानहरुका बारेमा चर्को विरोध हुन थालेसी’ कार्जेकर्तालाई कारबाही गरेर तर्साउने बडो गज्जबको जुक्ति काँग्रेस माराहरुले अपनाएका छन् । यसलाई क्या बात त भन्नै प¥यो ।
उपचारका नाममा दश करोड
उल्फाको धन फूपूको श्राद्ध त्यसै भन्या होइन । वतर्नमान पञ्चधातुको निकम्बा सरकारले आफ्ना आसेपासे, पहुँचवालाहरुलाई उपचार खर्च बापत १० करोड रुपैया खुईखुई बाँडेछ ।
रकम लिनेमा जनकपुर सपहीका जमिन्दार आच्या डा. रामवरन जादव, इलाम पुर्खेउली घर भई काठमाण्डौमा दरबार बनाएर बस्या अनि सर्लाहीतिर सर्प पाल्ने व्यवसाय गर्दै आएका सर्पनाथ खनाल, झालेमालेका प्रदीप नेपाल, निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौड्याल, बाग्लुङ्गतिरका हिरा केसी लगायतले उपचारको नाममा रकम बजाएछन् । जेहोस् आफ्ना आसेपासेहरुलाई उपचारको नाममा खर्च दिने धन्दा नेपालमा  राम्रै चलेको छ । कसैको अण्डकोष सुन्नियो, कसैको अण्डकोष सुक्यो, कसैलाई हाच्छिउ आयो, कसैलाई ख्वांकक खोकी लाग्यो, कसैको तल्लो पेट दुख्यो, कसैको माथिल्लो पेट सुक्यो, कसैलाई गर्धन बाँगियो, कसैलाई मुत्रासयले काम गरेन भनेर पैसो बाँडिएको छ । गज्जब छैन त ?
राष्ट्रपतिको लिगलिगे दौड
मुलुककाँ यतिबेला बेकामे र अपाच्य अनुहारहरु राष्ट्रपतिको लिगलिगे दौडको लागि रिहर्सल गरिरा’छन् । कोही ज्यानमारा छन्, कोही आफ्नै घरमा आगो लगाएर हिडेका परजीवि छन्, कोही ताकपरे तिवारी नत्र गोतामे व्यहोरा भएका छन्, कोही जनताले पिँधमा पुल्ठो बालेर लखेटे्काहरु छन्, कोही १७ पटक सम्म पर्धानमान्तरीको प्रतिष्पर्धा गर्दा पनि मुक्का खाएर रिङ्ग आउट भएकाहरु छन् । अझ गज्जबको बात के छ भने राष्ट्रपतिको लिगलिगे रिहर्षलमा पूर्व न्यायाधिशहरु पनि साण्डाको तेल घसेर रिहर्सल गरिरा’छन् । हुन त गन्हाउने तन्त्रमा स्वच्छ छविका पाउनै छाड्या छ । राष्ट्रपतिका लिगलिगे दौडमा पनि गन्काएका, सडेका, ज्यान मारेकाहरुको प्रतिष्पर्धा के अनौठो भयो र ? कि कसो हौ ?
ब“धुवा मजदुर


नेप्लिज थाँग्रेसभित्र बँधुवा मजदुरहरु पनि छन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । बँधुवा मजदुहरुको नित्यकर्म भन्या बाल्वाटारे मुखिया मुखिनीको हरिकिर्तन गर्नु, धुपधुहार गर्र्नु नै हो । त्यसवापत मुखिया मुखिनीबाट बक्स भएको पदीय प्रसाद ग्रहण गरेर रमाउनु तिनको कर्तव्य नै हो । मास्तिर मात्र हैन देशका गाउँ गाउँ, जिल्ला जिल्लामा नि त्यस्ता बँधुवा हरिकिर्तने मजदुरहरु छ्यासकछ्यास्ती छन् । बँधुवा हरिकिर्तने मजदुरहरुका पनि दुई प्रकारका छन् । उपल्लो स्तरका हरिकिर्तने बँधुवा मजदुहरुमा ज्ञवाक, भुत्लाकृष्ण खाँड, अध्यारोशरण महत, एनपी साउद लगायत केही भुरे टाकुरे छन् । अरुलाई उठ्न नदिन मुखिया मुखिनीको भजन किर्तनमै व्यस्त हुन्छन् । बँधुवा हरिकीर्तनेहरुबाटै काँग्रेस प्रजा परिषद् होला जस्तो छ ।
पर्धानमन्तरी पदको डाक बढाबढ
यतिबेला मुलुका सबैभन्दा शक्तिशाली पर्धानमन्तरी पदको डाक बढाबढ चलिरा’छ । डाक बढाबढ भएको गन्धेतन्त्रमा यो नै पहिलो भने होइन । पहिला पहिला पनि डाक बढाबढ भएकै हो । यस पटकको डाक बढाबढचाहिँ अलि भिन्न प्रकारको छ । लुतिराम देखि ¥यालेसम्म, दलालदेखि माफियासम्म, हत्यारादेखि आफ्नै घर जलाउनेसम्मले दाबी ग¥या छन् । एउटा भन्छन् मलाई एक बर्ष पर्धानमन्तरी हुन मन लाग्या छ, अर्को भन्छ आधा आधा कार्यकाल बाँड्नुपर्छ, अर्को भन्छ ज्योतिषीको मान राख्न पनि मैले पर्धानमन्तरी हुनुपर्छ, अर्को सनक्क भएर उफ्रन्छ अब बुढाखाडा होइन युवालाई सुम्पनु पर्छ । ख्याल रमाइलो भा’छैन । अन्तमा जोसँग देउवा छ उसैल पड्काउन त हो । आखिरी बजार भन्या किनबचेकै लागि हो ।
वडाध्यक्षहरुको रुवाबासी
यतिबेला धरानका वडाध्यक्षहरुमा रुवाबासी मच्चिएको छ । वितगमा दुवै हातले खान पल्किएका र खाँदै आएका वडाध्यक्षहरुको ६ महिना देखि चिलिम फर्किएको छ । खोला दुहेर खान पाम, योजनाहरुका नाममा खान पाम भनेर मेयरलाई धेरै पटक झम्टिए । रोई कराई गरे तर बीरेहरु नाँगानाँगै । मेयर विकास मुल फुटाउन खोलामा ढुंगा बोक्न दौडिन्छन् वडाध्यक्षहरुचाहिँ
वियेरको बोतल उधिनेर भुटन चपाउँछन् । वडा समिति बनाउन दिएको रंग पोतेर सिध्याउँछन् । बाटा घाटोको योजना लिएर पुगेकाहरु रोलर, आफ्नै स्काभेटर, आफनै खोलाको गिट्टी र श्रमदान गरेर बनाउनुपर्छ भन्दा वडाध्यक्षहरु पहिल्यै कुले ठोक्छन् । बिचराहरुलाई पीडा छ पीडा । अघिल्लो पटक खाएको झल्झल्ती सम्झेर विचराहरु कक्रिएका छन् ।
गठबन्धन तोड्ने रे
लगौटीको जुम्रा टाउमा पुगेसी बढी नै सक्सकाउँछ भन्थे हो रै’छ । काँग्रेसको लगौटी अँठ्याएर गोडा ३२ सेक ठामबाट चुनाउ जित्या माउवादीका अध्यक्षलाई पर्धान मन्तरी चाहियो रे । पर्धानमन्तरी नपाए गठबन्धन तोड्ने रे । जोड्दा नेपाली जनताले के पाएका थिए र तोड्दा झनै के पाउने हुन र ?  हराउन लाग्या माउवादीलाई स्यालबहादुरको बुद्धि सप्रेकाले संसदभित्र छिर्न लाग्या छन् । अब त हुँदा हुँदा पर्धानमन्तनरी नै पो चाहियो रे । अरुले त्यत्रा सिट जित्या छन् । उनीहरुचाहिँ भद्रो हेरेर बस्छन् ? बात करता है ?
अन्तेमा
नेपालको राजनीतिबाट सिद्धिएर थान्को लागेका बाउदेउ नाम गरेका एक तिघ्रेले अस्तिका दिन भन्या मुलुक अब मध्यावधिमा जान्छ कसैका बाबुले रोक्न सक्दैन । यी बिग्रेका तिघ्रेलाई खाली यस्तै उट्पट्याङ गफ मात्र जोत्न आउँछ कि क्या हो ? भर्खर चुनाव सिद्धिएको् छ । फेरि चुनाउ भए गाउँ गाउँबाट तिन्का हातखुट्टा मतदाताले बंग्याएर पढाई दिन्छन् । यसरी थुतुनोमा जे आउँछ त्यही त बोल्नु भएन नि गाँठे ।

तपाईको प्रतिक्रिया