अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा आइतबार काठमाण्डौ स्थित भारतीय राजदूतावास अन्तर्गत रहेको बीपी कोइराला भारत–नेपाल फाउन्डेशनले दृष्टिविहीनहरुको सहयोगार्थ ९ सय ५० थान सेतो छडी हस्तान्तरण गरेको छ । अपांगता संरक्षण नेपालले आयोजना गरेको एक विशेष समारोहमा बीपी कोइराला भारत–नेपाल फाउन्डेशनका सचिव, भारतीय राजदूतावासका प्रथम सचिव एवम् प्रवक्ता डा. शाहील कुमारले अपांगता संरक्षणका अध्यक्ष विरोध खतिवडालाई उक्त छडीहरु हस्तान्तरण गर्नुभएको थियो ।

काठमाण्डौ बागबजारस्थित हार्दिक होटलमा आयोजित ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवसका प्रमुख अतिथिको रुपमा भारतीय राजदूतावासका प्रथम सचिव एवम् प्रवक्ता डा. शाहील कुमार रहनु भएको थियो भने काठमाण्डौमा रहेका एघारवटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रभु म्यानेजमेन्टका कार्यकारी निर्देशक कुशुम लामा, नेपाल नेत्र ज्योति सघका अध्यक्ष सुरेशचन्द्र न्यौपाने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका कर्मचारीहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । नेपाल र भारत सरकारको संयुक्त पहलमा सन् १९९१ मा बीपी कोइराला भारत–नेपाल फाउन्डेशनको स्थापना भएको थियो । फाउन्डेशनले दुई मित्र राष्ट्रका कला, सँस्कृति र जनजीवनसँग सम्बन्धित वहुआयामिक पक्ष तथा कला साहित्य, बौद्धिक सवाललाई थप प्रगाढ र मजबुत बनाउन समय समयमा विविध कार्यक्रमको आयोजना र स्रष्टाहरुलाई एक अर्को देशको अवलोकन भ्रमणका लागि अवसर प्रदान गर्दै आएको छ । यसका अलावा फाउन्डेशनले स्वास्थ्य क्षेत्रमा समेत उल्लेख्य काम गर्दै आएको छ । दुई बर्ष अगाडि विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीका समयमा सुदुर पश्चिम प्रदेशमा फाउन्डेशनले औषधी र सुरक्षा सामाग्री उपलब्ध गराएको थियो ।
