इलामको श्रीअन्तुको विकल्प ध्वजेडाँडा

सूर्योदयको दृश्यवलोकनका लागि धनकुटाको डाँडाबजारस्थित ध्वजे डाँडालाई इलामको श्रीअन्तुसँग तुलना गरिने गरिएको छ । सूर्योदय हेर्न पछिल्लो समय दैनिक हजारौ पर्यटक इलामको अन्तु पुग्ने पनि गरेका छन् । यो सिजनमा त इलामको श्रीअन्तुमा पाइला राख्ने समेत ठाउँ हुदैन । अन्तुसँग तुलना गरिने धनकुटाको डाँडा बजारस्थित ध्वजे डाँडामा भने पूर्वाधार र प्रचारप्रसार अभावका कारण निक्कै कममात्र पर्यटक पुग्ने गरेका छन् । पूर्वकै सुन्दर पर्यटकीय स्थल मध्ये एक हो धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ५ मा रहेको ध्वाँजे डाँडा । समुन्द्र सतहबाट २ हजार ४७ मिटरको उचाइमा रहेको यो डाँडा महाभारत श्रृंखला अन्तर्गत यस क्षेत्रको दोस्रो अग्लो डाँडो हो । खासगरी यो सिजनमा सूर्योदयको मनोरम दृश्य हेर्न आसपासका पर्यटक यहाँसम्म आउने गरेका छन् । अन्तु र ध्वजे डाँडा दुवै ठाउँ पुग्ने पर्यटक सूर्योदयको दृश्य अन्तु र यहाँबाट उस्तै देखिने बताउँछन् । यहाँबाट सूर्योदयसँगै पूर्वका अधिकांश जिल्ला, तराईको फाँट, विभिन्न पर्वत श्रृंखला, विभिन्न हिम श्रृंखला देख्न सकिन्छ ।यहाँ आउनेहरुले इलामको श्रीअन्तुभन्दा केही फरक नभएको बताउने गरेका छन् । विराटनगरकी सुनिता मगरले श्रीअन्तु र ध्वाँजे डाँडामा केही फरक नभएको बताइन् । उननले भनिन्–‘यहाँबाट सूर्योदय सबै भन्दा राम्रो देखिन्छ, म पनि बर्षेपिच्छे यहाँ आउने गरेको छु, बर्षेपिच्छे सूर्योदय हेर्न आउने खास कारण भनेको यहाँबाट सूर्यादयसँगै विभिन्न हिमश्रंखला क्लियर देखिन्छ, हिमालमात्र हैन पहाड, मधेशको फाँटको दृश्य प्रष्ट रुपमा देख्न सकिन्छ, राम्रो देखिन्छ ।’


यो ठाउँमा आउन पर्यटकीय नगरी भेडेटारबाट १३ किलोमिटर पूर्व तथा धनकुटाको डाँडा बजारबाट एक किलोमिटर माथि रहेको छ । तर डाँडा आसपास सुविधा सम्पन्न होटल नहुनु, सडक लगायतका पूर्वाधार नहुनु, खानेपानी अभावसँगै प्रचारप्रसारको अभावका कारण इलामको श्रीअन्तुको ठाउँ लिन नसकेको स्थानीयहरु बताउँछन् । यी विभिन्न कारणले पर्यटकको नजर ध्वाजे डाडासम्म पुग्न नसकेको स्थानीय बताउँछन् । स्थानीय लिलाराज लावतीले पर्यटनको प्रचुर सम्भावना बोकेको भए पनि ध्वाँजे डाडा पर्यटकको पर्खाइमा रहेको बताउँछन् । उनी भन्छन्–‘इलामको श्रीअन्तु र धनकुटाको ध्वाँजेडाँडाको प्रकृति उस्तै छ, इलाममा खुट्टा राख्ने ठाउँ नहुन्जेल पर्यटक पुग्छन, तर यहाँ आउँदैनन्, यसको प्रमुख कारण भनेकै पर्यटन सम्बन्धी काम गर्ने संस्था, स्थानीय, प्रदेश र संघीय सरकारको आँखा यस ठाउँमा पुग्न नसक्नु नै मुख्य रहेको छ ।’
स्थानीयहरुका अनुसार ध्वाँजे डाँडाबाट १६ वटा जिल्ला स्पष्ट रुपमा देख्न सकिन्छ । विभिन्न हिमश्रखंलाहरु स्पष्ट रुपमा देख्न सकिन्छ । साँगुरीगढी गाउँपालिका वडा नं. ५ का निलम लिम्बुले यो दृश्य हेर्न एक पटक आएकाहरु प्टक पटक आउने बताउँछन् । उनी भन्छन्–‘यहाँ पहिलो पटक आउने पर्यटक पुन ः दोहो¥याएर आउँछ, आसपासका जिल्लाका सर्वसाधाराहरु समेत सूर्योदय हेर्न इलाम पुग्छन, यसको मुख्य कारण प्रचारप्रसारको कमी हो, यसको प्रचारप्रसार गर्ने हो भने इलामको विकल्पको रुपमा ध्वाँजे डाडा हुनेमा पक्का छ ।’
यहाँ ध्वाँजे डाँडासहित लाप्चेटारमा रहेको अजंगको बरको रुख पर्यटकको लागि आकर्षकको केन्द्र विन्दु रहेको छ । यो बरको रुखलाई एसियाकै दोस्रो ठूलो रुखको रुपमा रहेको स्थानीय बताउँछन् । त्यस्तै ध्वजे डाँडाको छेउमै निर्माण भएको जैतुन पार्कले समेत पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ पर्यटक भित्र्याउन होमस्टे, सडक निर्माणको काम गरिरहेको साँगुरीगढी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष खड्ग लिम्बु बताउँछन् । उनी भन्छन्–‘यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने प्रचुर सम्भावना छ, यसैलाई मध्येनजर गरी सडक निर्माण, भौतिक पूर्वाधार निर्माण लगायतका कुरामा गाउँपालिकाले प्राथमिकतामा राखेको छ । यो डाँडा पर्यटकीय क्षेत्रको रुपमा मात्र नभई यहाँका जंगलमा लेकाली बनस्पति समेत पाइने गरेको स्थानीयहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया