धरान । सरकारमै रहेर निर्वाचन अचारसंहिताको उल्लंघन गरेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार भएका कार्की विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिएको उजुरीमा सञ्चारमन्त्री कार्कीलाई प्रहरी प्रशासनको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारी साधन प्रयोग गरिएको लगायतका आरोप लगाइएको छ । आइतबार जसपाका नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्कीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी दर्ता गराउनुभएको हो । उहाँले भन्नुभयो, सरकारमा बसेर सरकारी सेवा सुविधासहित मन्त्रालयका कर्मचारीलाई चुनावी प्रचारसारमा सामेल गराएको हामीले पाएका छौं, त्यसकै विरुद्धमा उजुरी दिएका हौ ।’ उहाँले कार्कीले स्थानीय तहका जनप्रतिनिधि, सञ्चार मन्त्रालय र अर्थ मन्त्रालय मातहतका कर्मचारीसमेतलाई चुनावी प्रचारप्रसारमा सामेल गराएकोले उजुरी दिएको बताउनुभएको छ । उहाले भन्नुभयोँ ‘सरकारमा रहेको फाइदा उहाँले भरपुर लिनुभएको छ, उहाँले प्रहरी प्रशासुनको दुरुपयोग गर्नुभएको छ, आचारसंहिता उल्लंघनमा रोक लगाउनु पर्नेमा उल्टै प्रहरी प्रशासनले उहाँलाई सहयोग गरेको छ, सत्तामा बसेको फाइदा उहाँले भरपुर लिनु भएको छ ।’ मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्की र स्थानीय निकायका प्रमुखहरूले आचारसंहिता उल्लंघन गरेको उजुरी प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले विस्तृत रुपमा अध्ययन गर्न र अनुसन्धान गर्न बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ हामी यस बारेमा अध्ययन गर्छौ र आचारसंहिता उल्लंघन गरेको पाइीएमा कारबाही प्रक्रियामा अगाडि बढ्छौ ।’
