काठमाण्डौ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले कार्तिक १७ गते आयोजित एक विशेष समारोहबीच निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको तर्फबाट उपलब्ध गराइएका ८० वटा सवारी साधन उपहार स्वरुप प्रदान गर्नुभयो ।

भारत सरकारले नेपाल सरकारले अनुरोध गरे बमोजिम कार्तिक १५ गते २ सय वटा सवारी साधन निर्वाचन सम्बन्धी विविध प्रयोजनका लागि प्रदान गरिएकैमध्ये ८० वटा सवारी साधन निर्वाचन आयोगलाई राजदूत श्रीवास्तवले प्रदान गर्नुभएको हो । उपलब्ध गराइएका सवारी साधनले निर्वाचन आयोगलाई आसन्न मंसिर ४ गतेको निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुग्ने विश्वास राजदूत श्रीवास्तवको थियो । विगतका बर्षहरुमा पनि नेपाल सरकारको अनुरोधमा भारत सरकारले निर्वाचन आयोगको प्रयोजनका लागि सवारी साधनहरु उपलब्ध गराउँदै आएको छ । निर्वाचन प्रयोजनकै लागि मात्र भारत सरकारले निर्वाचन आयोगलाई हालसम्म २१४ वटा सवारी साधनहरु उपहार स्वरुप प्रदान गरिसकेको छ । नेपाल र भारतबीच सदियौ पुरानो र जनता जनताबीचको गहिरो सम्बन्ध रहेको भारत नेपाल बीच वहुपक्षीय एवम् वहुआयामिक साझेदारी रहँदै आएको छ । यी सवारी साधनको हस्तान्तरणले भारत र नेपालबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।
