धरान । वहुमुखी प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ति धरानमा मनाइएको छ । लक्ष्मी वाचनालयको आयोजनामा गत कार्तिक ७ गते सोमबार लक्ष्मी चौकस्थित देवकोटाको प्रतिमामा माल्र्यापर्णसँगै स्रष्टा सम्मान, नेपाली साहित्यमा देवकोटाको योगदान तथा चर्चा परिचर्चा, कविता वाचन र साँझमा द्विप प्रज्वलन गरी जन्म जयन्ति मनाइएको थियो ।
लक्ष्मी वाचनालयको सभाहलमा देवकोटाको व्यक्तित्व चर्चा गर्दै प्रा.डा. हरिप्रसाद दाहालले भन्नुभयो देवकोटा जात, जाति, वर्ण, धर्म, सम्प्रदाय भन्दा माथि उठेको व्यक्तित्व हुनुहुन्थ्यो । मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन भन्ने मुनामदनमा देवकोटाले उद्गार गरेको अभिव्यक्तिले यही कुरा प्रष्ट पार्छ । अब यो भन्दा बढेर अहिलेको हाम्रो समकालीन राजनीतिमा नेताहरुले बोल्ने कुनै ठूलो कुरा होला ? प्राक्टिकल्ली दुनियाँमा अहिले राजनीति त्यस्तो छ कि छैन, उहाँको प्रश्न थियो ।

उहाँले भन्नुभयो महाकवि देवकोटालाई राँची लगिएपछि उहाँले पागल कविता लेख्नुभयो । पागल कविता दर्शन, साहित्यले यति उत्कृष्ट छ त्यसले देवकोटाको अर्को अभ्युदय भएको छ । देवकोटाको प्रशंसा गर्ने भारतीय साहित्यकारमा पण्डिल राहुल सँस्कृत्याइन्ले भारतका तीन विशिष्ट साहित्यकारहरु, पन्त, प्रसाद, निराला बराबर देवकोटा एक्लै हुनुहुन्थ्यो भन्नुभएको छ । बुद्ध पछिको सबैभन्दा ठूलो मानव अवतार देवकोटा हुन समेत भन्नुभएको थियो । देवकोटाकै कारण नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढेको थियो । एफ्रो एसियाली लेखक संघको प्रतिनिधित्व गरेर उहाँ युरोप जानुभयो । उहाँले त्यहाँ दिएको अभिव्यक्ति विश्वप्रसिद्ध भएको थियो । उहाँका पागल, यात्री कविता हुन कि आर्यघाटमा अन्तिम अवस्थामा लेखेको ‘आखिरी श्रीकृष्ण रहेछन् एक, न भक्ति भो ज्ञान न विवेक अत्यन्तै मर्मस्पर्शी रहेको छ । श्रीकृष्णलाई धार्मिक पात्रको रुपमा मात्र व्याख्या गर्ने प्रवृत्ति रहेको छ । तर श्रीकृष्ण साहस, दृढता, न्याय, कर्मशिलताका प्रतीक हुन् । देवकोटाकै कारण लेखनाथ पौड्याललाई कवि शिरोमणि प्रदान गरिएको थियो, त्रिभुवन विश्व विद्यालय उहाँकै पहलमा निर्माण भएको थियो । देवकोटा नभएको भए नेपाली साहित्य अधूरो रहने थियो जसरी फ्रान्समा रुसो नभएको भए क्रान्ति नै हुने थिएन ।
सो अवसरमा तीन जना श्रष्टाहरु झापाकी भगवती ढुंगेल, इटहरीकी रीता ताम्राकार, धरानका रमेश केसीलाई सम्मान गरिएको थियो । वाचनालयका अध्यक्ष पुष्प ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अथिति प्रा.डा. टंक न्यौपाने, प्रा.डा गोपाल भण्डारी, समाजसेवी मिना पुलामीले पनि नेपाली साहित्यमा देवकोटाको योगदानका बारेमा चर्चा गर्नुभएको थियो भने सञ्चालन भवानी शंकर भट्टराईले गर्नुभएको थियो ।
