आयोगको ध्वास
निर्वाचन आयोग हिजोआज छेपाराले रंग फेरेझैँ फेर्न माहिर भएको छ । कहिले आचारसंहिता उल्लंघन गर्नेलाई छाड्दिन भनेर गुर्रर्र गर्छ । स्वतन्त्र मतदाताको अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाउँदै सामाजिक सञ्जालमा दलका नेताहरुका विरुद्धमा जथाभावि नलेख्न उर्दी जारी गर्छ । सत्तामा भएका दलका नेताको विरुद्धमा आचारसंहिताको कामै देख्दैन । दलविहीन, स्वतन्त्रहरुको पाता कस्छ । हैन यो निर्वाचन आायोग पनि कस्तो हो हँ ? खै के खै के पिलित्त भनेझैँ । यतिबेला निर्वाचन आयोगको कानुन दैवले जानुन जस्तो भएको छ । यतिबेला देशैभरि ठूला दलका नेता भनाउँदाहरुलाई दोहो¥याउनु हुँदैन नोट भोट, इनफ इज इनफ भनेर सामाजिक सञ्जालमा लाखौले मत जाहेर गरेका छन् । यसले आफूलाई ठूलो नेता हुँ भनेर पल्टनेहरुको हनहनी टाउँको दुखाएको छ । जीवनभरि मेहनत नगरी खाने बानी परेकाहरु यसपटक रछ्यानमा पुग्ने भएपछि तिन्को टाउको दुख्या हो । नेताले भोट माग्न पाउने जनताले दिन्न भन्न किन नपाउने ? वात करता है ।
पाप लाग्छ रे

लाज सरम पचाएर काँग्रेसको बुइँ चढेर मंसिर चार गते वैतरणी तर्न खोज्या माउवादीका मुखिया प्रचण्डाउ चितौनबाट दौडिएर गोरखा पुग्या त धेरैलाई थाहै छ । गोरखाका जनताले नि लघार्ने सुइँको पाएपछि कहिले डाको छोडेर रुन पुग्छन्, कहिले गठबन्धनलाई भोट नदिए पाप लाग्छ भनेर फलाक्छन् । हिजोको दिनमा गर्भिणी गाई मार्ने, सत्र हजार दाजुभाई मार्ने, ३० हजारलाई उठीबास लगाउने, मन्दिरको मूर्ति फुटाउने, पूजारीको टुप्पी काट्ने्, पूजारीको घाँटी सेर्ने बहादुरले पाप धर्मको कुरा गर्दा सुहाउँदैन बाबै । अझ गोरखा फुजेलका अधिकारी परिवारको विल्लीवाठ बनाएको, पृथ्वीनारायण शाहको शालिक फोडेको बहादुर मान्छेले पाप र धर्मको कुरा कसरी गर्न सक्या होलान् ?
लखेट्न थाले
पाँच दलीय सत्ता गठबन्धनका उमेद्वारहरुलाई यसपटक जनताले भ्याकुरो खेदाएझै खेदाउन शुरु गरेछन् । सत्ताको चास्नीमा डुबेर दंगदंती गन्हाएकाहरु निर्लज्ज भएर फेरि गामघरतिर भोट माग्न गएपछि जनताले लाठो लिएर लघार्न थाल्या छन् । विचराहरुलाई यस पटक कम्ता आपत प¥या छैन । पाँच बर्षसम्म चास्नीमा डुबेर मडिया मारेकाहरु यतिबेला रनभुल्लमा प¥या छन् । गाम जाम जनताले लखेट्छन् नजाम भने मंसिर ४ गते पछि बुगो हुने त्रास । अस्तिका दिन सिन्धुपाल्चोकको ककनीबाट पाँच दलीय सत्ता गठबन्धनका मतियारलाई पिछवारामा भाटे कार्वाही गर्दै लखेटेसी
मुलुकभरिका पाँच दलीय गठबन्धनका जोकरहरुको दिमागमा ढ्यांग्रो बज्या छ ।
अनर्गल प्रचार भयो रे
नेपालमा आचायाराम गयाराम नेता भनेर ब्राण्ड बनेका बाउराम बाजेले अस्तिका दिन साह«ै चित्त दुखाएछन् । आफू विरुद्ध अनर्गल प्रचार भयो रे । आफू विरुद्ध फोहोर ओकलियो रे। हैन हौ त्यो बाउराम बाजेले कहिलेचाहिँ सफा ओकेलेका छन् र ? तिन्ले जहिल्यै फोहोर ओकल्ने गरेका छन् । कहिले पृथ्वीनारायण भन्ने पात्र नै यो मुलुकमा थिएनन् भन्ने, कहिले वाल्वाटारको जग्गा प्लटिङ गरेर विक्री गर्ने । हैट † अहिले तिन्को फोटो टाँसेर कसैले मत माग्यो रे । सुन्दा पनि कन्सिरीका रौं त्यसै त्यसै जिरिङ्ग भएर आएँछ । आफै चुनाउ जित्ने हुती नभएर कहीबाट उमेद्वार नभएको मान्छेको फोटो टाँसेर भोट माग्ने पक्कै खुंखार हरिलठ्ठक हुनुपर्छ ।
हसाउनु हसाए बा
नेप्लिज लाँग्रेसले अस्तिका दिन घोषणापत्र सार्वजनिक गरेछ । ठिस योजनाविद्लाई लेखाइएको घोषनापत्र पाँच दलीय गठबन्धनका मुखियाले सानेपामा वडा तामझाम गरेर देखाएछन् । घोषणापत्र आफैमा उदेकलाग्दो छ । लिपुलेक, कालापानी, सुस्ता, हुम्लाको सीमा विवाद कुटनैतिक पहलबाट समाधान गर्ने रे । पाँच बर्षमा १२ लाखलाई रो्जगारी दिने रे । सात प्रतिशतको आर्थिक बृद्धि गर्ने रे । तीन बर्ष सम्मका र ७३ बर्ष माथिकाको निःशुल्क उपचार गर्ने रे । हैट मुखिया बाले चुनाउको मुखैमा हँसाउनु हँसाए । पाँच पाँच पटक पर्धानमन्तरी हुँदा आफ्नै गाउँ हेरिनसक्नु छ अनि ठूला ठूला कुरा छाट्ने ? अब मंसिर ४ गते पछि जनताले स–सम्मान बिदा गर्ने बुझेसी’ बुढाले एक पटक तीरचाहिँ हान्न खोज्या हुन् । तर यसपटक काम लाग्ने छाँट छैन ।
फ्रि भिसा फ्रि ढेउवा
आफ्नै घरमा आगो लगाई खरानी घसेर हिड्या ललिता निवास बेचबिखनका प्रमुख माकुन्याउले यसपटकचाहिँ केही गर्लान् जस्तो छ । अस्तिका दिन रौतहटतिर गएर आफ्नो क्षेत्रका मतदाताहरुलाई ठोस काम गर्ने आश्वासन दिएछन् । रोजगारी नभएर त्यसै बसेका युवाहरुलाई माकुनेले चुनाव जितेपछि फ्रि भिसा, फ्रिमा टिकट माने फ्रि ढेउवा अर्थात सुक्को खर्च नगरी रोजगारीमा विदेश पठाइदिने बाचा गरेका छन्े । अरु पार्टीका नेताहरु त चुनावमा भोटमाग्न मात्र जान्छन् । केही दिन्छु भन्दैनन् । खाली माग्न मात्र जान्या छन् । तर माकुनेले त सित्तिमा त्यत्रो काम गर्दिन्छु भन्या छन् । जे होस् माकुने भन्या माकुने नै हुन् ।
मंसिर चार, वारपार
पञ्चायत भन्दा नि बढी समय शासन गरिसक्या बुढानिलकण्ठे काजी, बालकोटे कुमाई, भैसेंपाटे नाटककार, कोटेश्वरे बुँचे बाजे, सर्पनाथ, लुरे बाजेलाई आगामी मंसिर ४ गते जनताले स–सम्मान विदा गर्ने भएका छन् । यतिका बर्षसम्म लुटेर अलेल भएकालाई अपमान पनि त गर्नु भएन । सिधा औंलाले घ्यु आउँछ भने औंला बाँगो किन बनाउनु ? बत्तीस बर्ष सत्तामा बस्दा पनि केही लछारपाटो लगाउन नसक्नेलाई यस पटक बिदा गर्ने तयारीमा जनता देखिएपछि यिनीहरु छाती पिटीपिटी पसारो पर्न थालेका छन् । आर्यघाट जाँदासम्म सत्तामै बस्ने चाहना भएकाहरु गाउँ जानै नसक्ने् अवस्थामा पुग्या छन् । हैट यति साह«ो गति छोड्न कसरी सक्या होलान् । हुन त गति छाडेरै यी नेता भा’ हुन् । अरबौ कुम्ल्याएका हुन् ।
अन्तेमा
आस लागेको केटो जेठाजु परेछ भनेर त्यसै भन्या होइन । अब हेरम न त्यो ओखलढुगाको रामहरि खतिवडा भन्ने मान्छे गतिलै होला, कुलको इज्जत नफाल्ला भन्या त त्यो पनि उही ड्याङको मुला पो निस्कियो । अघिल्लो चुनाउमा ओखलढुगाले डाँडा कटाएका थिए । यसपटक त केटाले राम्रै गर्ला भन्या त व्यहोरा देखाइहाल्यो । माउवादी र काँग्रेस एउटै हो भनेर अस्तिका दिन एउटा चुनावी सभामा फलाक्लै थियो । के गर्नु बुद्धि बिग्रेसी । विनासकाले विपरीत बुद्धि भन्या यही हो । द्वन्द्व कालमा माउवादीले त्यस्तो विनास मच्चायो । काँग्रेस र माउवादी एउटै हौ भनेसी बातै खलास । अब जनताले खतिवडालाई किन भोट दिन्थे ?
