भारतको कोलकत्तामा चतुर्थ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

धरान । पश्चिम बंगालको राजधानी भारतको कोलकत्तामा चतुर्थ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । भाद्र २५ र २६ गते गरी दुई दिनसम्म चलेको उक्त सम्मेलनमा दुवै देशका मुर्धन्य साहित्यकारहरुको सहभागिता रहेको थियो । दुवै देशका सहभागीहरुले नेपाली साहित्य र भारतीय साहित्यका बारेमा चर्चामात्र गरेनन् एक अर्का देशको स्रष्टाहरुसँग तुलना समेत गरेका थिए ।


दोस्रो दिनको कार्यक्रममा सहभागी भारतको पूर्वोत्तर राज्य सिक्किम विश्व विद्यालयकी डिन प्रा.डा. कविता लामाले नेपाली भाषा र साहित्यका सम्बन्धमा आफ्नो धारणा राख्नु भएको थियो । उहाँले भन्नुभयो, संसारका जुनसुकै कुनामा बस्ने नेपालीहरुको सम्बन्ध जोड्ने माध्यम नै भाषा हो । उहाँले भारतको दार्जीलिङ्गको प्रसंग कोट्याउदै एक्काइसको दशकसम्म नेपाली साहित्यको उद्गम स्थल थियो । पारसमणि प्रधान, इन्द्रबहादुर राई लगायतका दर्जनौ स्रस्टाहरुले नेपाली साहित्यमा अतुलनीय योगदान दिनुभयो । तर आज दार्जिलिङ्गले साहित्यबाट पहिचान गुमाए जस्तो भएको छ ।
कार्यक्रमको दोस्रो दिनको बन्द सत्रमा दुवै देशका साहित्यकारहरुले नेपाली भाषा, विश्व साहित्य, नारीबाद, साहित्यिक समानता आदिका बारेमा दर्जन भन्दा बढी अवधारणाहरु प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका अवधारणापत्र माथि स्रष्टाहरुले व्यापक बहस गरेका थिए । यतिमात्र होइन कोलकत्ताको कला मन्दिरमा सम्पन्न उक्त कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, बंगाली, अंग्रेजी भाषामा नेपाल र भारतका कविहरुले कविता बाचन गरेका थिए । । कोलकत्ताको दिनबन्धु कलेजका प्राध्यापक सत्यप्रकाश तिवारीले नेपालका मुर्धन्य कवि युद्धप्रसाद मिश्रसँग भारतका नागार्जुनको तुलना गर्नु भएको थियो । मिश्र र नागार्जुन समकालीन कवि थिए । सो अवसरमा भारतकी डा. रेणुका सोलु, आशा, उपाध्यक्ष, जरिना जरिन, अभिताव चक्रवर्ती, अमित मुखर्जी, रवि रोदन, दार्जिलिङ्गका विमर्श गुरुङ, असामकी निरु पराजुली, मणिपुरका भवानी पराजुली, पञ्जाबका बिलोभ शर्मा र नेपालका अषेश मल्ल, दिव्य गिरी, रामप्रसाद ज्ञवाली लगायतले आफ्नो रचना सुनाएका थिए ।

तपाईको प्रतिक्रिया