नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाँडले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका धकधइमा रहेको राम नरेश यादव आदर्श माध्यामिक विद्यालयको नवनिर्मित भवनको शनिवार एक विशेष समारोहबीच संयुक्त समुद्घाटन गर्नुभएको छ ।

भारत नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोग २ करोड ९ लाख रुपैयाको लागतमा उक्त विद्यालय भवन निर्माण सम्पन्न भएको हो । जिल्ला समन्वय समिति रुपन्देहीले उक्त परियोजना कार्यान्वयनमा ल्याएको हो । भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुलाई नेपालमा निरन्तरता दिँदै आएको छ । यो विद्यालय भवन परियोजना पनि अन्य परियोजना सरह भारत स्वतन्त्र भएको ७५ बर्षको उत्सव मनाउन भारत सरकारले अगाडि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यस बर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येकै एक हो ।
भारत सरकारले सन् २००३ यता नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अगाडि बढाएको छ । त्यस्ता परियोजनाहरुमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, कनेक्टीभिटी र अन्य सार्वजनिक सुविधाका क्षेत्रहरु रहेका छन् । भारत सरकारले नेपालका सातवटै प्रदेशमा ४७५ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । त्यस्ता परियोजनाहरुमध्ये रुपन्देही जिल्लामा मात्र १२ वटा रहेका छन् भने लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् । भारत र नेपाल बीचमा वहुआयामिक एवम् वहुपक्षीय विकास साझेदारी रहेको छ । जसले दुई देशबीचका जनतालाई निकट ल्याउने काम गरेको छ । यस्ता परियोजनाको कार्यान्वयनले नेपालमा सामाजिक आर्थिक पूर्वाधार थप मजबुत बनाउन तथा सामुदायिक स्तरमा व्यक्तिको विकासमा योगदान पु¥याउन भारत सरकारले निरन्तर पु¥याउदै आएको सहयोगलाई प्रतिबिम्बित समेत गर्दछ ।
