धरान । साहित्यकार एवम् लेखक हर्कमान तामाङ्गको कथा संग्रह ‘बु्रनोको देशमा’ विमोचन हुने भएको छ । एक दर्जन भन्दा बढी कथाहरु संग्रह रहेको बु्रनोको देशमा बरिष्ठ साहित्यकार तामाङ्गले रोजगारीको शिलशिलामा आफ्नो मुलुक छोडेर अन्य मुलुकमा जाँदा व्यहोर्नु परेको पीडालाई केन्द्र विन्दुमा राख्नु भएको छ ।

विगत एक दशक भन्दा लामो समयदेखि बेलाबारीमा अर्थात मोरङ्ग जिल्लाको बेलबारीलाई आफ्नो कर्मथलो बनाएर तामाङ्गले साहित्यिक साधना गर्दै आउनु भएको छ । खासगरी राजनैतिक विकृति, आर्थिक अभावबाट पिल्सिएका निम्न वर्गको लेखनलाई तामाङ्गले प्रतिनिधि घट्नाको रुपमा केन्द्रमा राखेर साहित्यिक सिर्जना गर्दै आउनु भएको छ । स्थानीय साहित्यिक कार्यक्रमहरुमा उहाँका चोटिला, व्याङ्यात्मक शब्द वाणले भरिएका कविताले स्रोताहरुको मन छुने गरेको छ । उहाँले नेपालमा मात्र नभएर भारतको आसाम, दाजीलिङ्ग, मणिपुर, सिक्किममा भएका नेपाली साहित्यिक कार्यक्रममा आफ्ना सिर्जनाहरु पस्किसक्नु भएको छ । साहित्यिक साधना गर्न ग्रामीण परिवेश रोज्नु भएका तामाङ्ग समाजसेवा, शिक्षा सेवा, साँस्कृति सेवामा समान रुपमा समर्पित रहँदै आउनु भएका छ । भाद्र २५ गते शनिवार बेलबारी साहित्य विकास समितिको आयोजनामा स्थानीय नेपाल आदिवासी जनजाति महासंघको सभाहल बेलबारीमा तामाङ्गको प्रतिष्ठित कथा संग्रह बु्रनोको देशमा लोकापर्ण हुने भएको हो ।
