भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिकास्थित दिपक माध्यामिक विद्यालय भवनको श्रावण १५ गते आइतबार समुद्घाटन गरिएको छ । नेपालस्थित भारतीय
राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका सभापति शान्ति रमण वाग्लेले नवनिर्मित विद्यालय भवनको एक विशेष समारोहबीच संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । भारतीय राजदूताबास काठमाण्डौद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ भारत नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोग २ करोड १ लाख ९० हजारको लागतमा उक्त विद्यालय भवन निर्माण भएको हो । विद्यालय भवन निर्माणको यो परियोजना भारत स्वतन्त्र भएको ७५ बर्षको उत्सव मनाउन भारत सरकारले अगाडि सारेको ‘आजादीको अमृत महोत्सव’ अन्तर्गत यस बर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरुमध्यकै एक हो ।
जारी विज्ञप्तीमा अगाडि भनिएको छ सन् १९७५ मा प्राथमिक विद्यालयको रुपमा स्थापित दिपक माध्यामिक विद्यालय सन् २००० मा माध्यामिक विद्यालयको रुपमा स्तरोन्नति भएको थियो । उक्त विद्यालयमा हाल १८० जना भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् भने अध्ययनरत विद्यार्थीहरुमध्ये ६० प्रतिशत छात्रा रहेका छन् । भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको नयाँ संरचनाले पठनपाठनमा विद्यार्थीहरुलाई सहज वातवारण सिर्जना गर्ने विज्ञप्तीमा जनाइएको छ । सन् २००३ यता भारत
सरकारले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अगाडि बढाएकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातवटै प्रदेशमा ४७० वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । त्यसमध्ये तनहुँ जिल्लामा ६ वटा गरी गण्डकी प्रदेशमा ५७ वटा परियोजनाहरु रहेका छन् ।



