‘वनलाई बगैँचा बनाऔँ’ भन्ने अभियानले साथर्कता पाउँदै : चारकोशे जंगलमा हजारौ विरुवा रोपियो

धरान । सामुदायिक प्रकृति संरक्षण अभियान नेपालले दुई बर्ष अगाडि शुरु गरेको ‘वनलाई  बगैँचा बनाऔंँ’ भन्ने नाराले यतिबेला सार्थकता पाउँदै गएको छ । धरान तहराको बीचमा रहेको चारकोशे जंगलमा हालसम्म अभियानले हजारौ विभिन्न प्रजातिका फलफूलका विरुवा रोप्ने, विउ छर्ने काम गरिसकेको छ ।
हालै मात्र अभियानले आफ्नो छुट्टै बु्रसेल्स प्रकाशित गरी अभियानमा सरिक हुन अन्य सर्वसाधारणलाई पनि आवहान गरेको छ । मान्छे बाँच्नका लागि चाहिने अत्यन्तै आवश्यक वस्तु प्राण वायु अर्थात अक्सिजन भएको प्रकाशित ब्रुसेल्समा उल्लेख गरेको छ । बु्रसेल्समा भनिएको छ एक जना मान्छेका लागि प्रतिदिन १६ केजी ५ सय ग्राम अक्सिजन चाहिन्छ । त्यो अक्सिजन रुख विरुवाबाटमात्र प्राप्त गर्न सकिन्छ । एउटा वयस्क रुखले दैनिक ३ केजी अक्सिजन दिन्छ भन्ने वैज्ञानिक आधार छ । यो हिसाबले एकजना मान्छे बाँच्नका लागि ६ वटा वयस्क रुखको आवश्यकता पर्छ । प्रकृतिले मान्छेलाई दिएको अमूल्य उपहार हो अक्सिजन तर त्यसका लागि मान्छेले वन जंगल जोगाउनु पर्दछ । यदि प्राकृतिक अक्सिजन नपाउने हो भने मान्छेले अक्सिजन सिलिण्डर पिठ्युमा बोकेर हिँड्नुपर्ने हुन्छ । त्यो असम्भव कुरा हो । यही कुरा बुझेर विश्वमा प्रकृति संरक्षणमा ठूला ठूला योजनाहरु लागू भएका छन् । उत्तरपूर्वी ब्राजिलबाट फैलिएको अमेजिन बर्षा वन ५५ लाख वर्ग किलो मिटरमा फैलिएको छ । यो वनले विश्वलाई अक्सिजन उपलब्ध गराएको छ । नजिकैको कुरा गर्दा पनि झण्डै हाम्रो सुनसरी जिल्ला जत्तिको भूभाग ओगटेको आसामको काजीरङ्गमा नेशनल पार्कले हामीलाई पनि अक्सिजन उपलब्ध गराइरहेको छ । काजीरङ्गमा भन्दा ठूला वन नेपालका सगरमाथा राष्ट्रिय निकुञ्ज र मकालु वरुण राष्ट्रिय निकुञ्ज । यी दुवै निकुञ्ज हिमाली भेगमा रहेका छन् । हुन त आज भन्दा करिब डेढ सय बर्ष पहिले आवाल ब्रम्हाचारी षडानन्दले दिंग्लामा जगेडाको वन स्थापना गरेको पाइन्छ । भविष्य द्रष्टाहरुले पहिले नै बुझेका रहेछन् वन जंगलको महत्व ।


प्रकृतिले सृष्टि गरेका प्रत्येक प्राणी, हरेक प्राणीका लागि अक्सिजन महत्वपूर्ण छ । एक समय बंगलादेशले भ्यागुताको खुट्टा निर्यात ग¥यो । तर अको बर्ष त्यसको परिणाम के देखियो भने एक प्रकारको किराले खाद्यान्न बाली सखाप पारिदियो । यो एउटा उदाहरणमात्र हो । कुनैपनि प्राणी एक्लै पृथ्वीमा बाँच्न सक्दैन । त्यस कारण पृथ्वीमा जैविक सन्तुलन कायम राख्नुपर्दछ । जैविक विविधताको संरक्षण गर्नुपर्दछ । । प्राणीमध्येको चेतनशील प्राणी मान्छे हो तर आज मान्छेकै कारणले जैविक सन्तुलनमा असर परिरहेको छ । त्यसकारण मान्छेले जैविक सन्तुलनका लागि अग्रसर हुनुपर्दछ भन्ने ठहर गरी हामीले यो अभियान समूह खडा गरेका हौं । यो अभियानलाई समाजिक उत्तरदायित्व ठानेर सामुहिक रुपमा अगाडि बढाउनुपर्दछ भन्ने हाम्रो आग्रह छ ।
यो अभियानको पहिलो दृष्टिमा इटहरी र धरानबीचको चारकोशे जंगल परेको छ । यसको मूल कारण चारकोशे जंगलमा आज भोलि  चराचुरुङ्गी छैनन् । अन्य जीवजन्तुको अस्तित्व समेत लोप हुँदै गएको छ । यहाँ सम्मकि जंगलमा सर्वत्र पाइने बाँदर जंगलबाट सहर पस्दैछन् । या त अन्य कारणले मासिदै गएका छन् । प्रायःजसो जंगलमा मांसहारी र शाकाहारीको मासु खाएर मांसाहारी जीवित रहन्छन् । यो प्राकृतिक नियम हो । यसको सन्तुलन पनि प्रकृतिले नै मिलाएको हुन्छ । तर त्यो प्राकृतिक नियममाथि मान्छेले अतिक्रमण ग¥यो । जंगल विनास ग¥यो । चराचुरुङ्गीले खाने जंगलका फलफूलका रुखहरु काटिए, मासिए, चराचुरुङ्गीका आवासहरु उजाडिए । जंगली जनावरहरुका  चरनहरु मासिए, घाँसको अभाव भयो । अनि जंगली जनावर पंक्षीहरु हराउँदै गए । ती वन्यजन्तु मासिए । तिनको शिकार गरेर बाँच्ने मांसाहारी जीव पनि लोप हुन थाले । त्यसको असर आखिरीमा मान्छेले भोग्नुपर्ने हुन्छ । तर आम मान्छेले यो कुरा थाह पाएका हुँदैनन् । थाहाँ दिनु नै यो अभियानको मुख्य लक्ष्य हो ।
यसरी आहारको अभावमा लोप हुँदै गएका चारकोशे जंगलका चराचुरुङ्गी र जनावरहरुलाई पुनस्र्थापना गर्ने हेतुले यस अभियानले २०७८ असारदेखि जंगलमा विभिन्न जातका फलफूलका विउहरु छर्ने काम  प्रारम्भ गरेको हो । पहिलो पल्ट जामुन र आँपका विउहरु छर्नै काम भयो भने दोस्रो पटक आँप र कटहरका विउहरु छर्ने काम भयो । अबका दिनमा यस अभियालाई देशव्यापी रुपमा अगाडि बढाउनका लागि चेतनामूलक कार्यक्रममा साथसाथै वनमा बगैँचाको अवधारणा अनुरुप काम गरिनेछ । यस कार्यक्रम अन्तर्गत मूलत ः जंगलमा आँप, केरा, लिच्ची, जामुन, कटहर, अम्बा आदिका विरुवा रोपण गर्ने र विउ विजनहरु जंगलमा छरेर उमार्ने,  संरक्षण गरिने काम हुने छ । हामीले प्रारम्भ गरेको यो अभियानले तीन चार बर्षमा जंगलमा फलहरु फल्न थाल्नेछन् । चराचुरुङ्गीहरुको पुनरागमन हुनेछ र जैविक सन्तुलन कायम हुनेछ । जगलको आसपासमा बसोबास गर्ने महानुभावहरुसँग अझ विशेष अनुरोध के छ भने अहिले उजाडिँदै गएको जंगललाई हामी छोटो अवधिमा हराभरा, फलफलूललेयुक्त बगैँचाको तयार गर्न सक्छौं । यसका लागि तपाईहरुले खानु भएका आँप, लिची, कटहर, जामुन आदिका विउ हामीलाई उपलब्ध गराइदिनुहोस या जंगलतर्फ Ïयाकी दिनुहास् र यथाशक्य वनको संरक्षण  गर्नुहोस् । यस कार्यमा  राज्यका तीनै तहका सरकारहरुको महत्वपूर्ण भूमिका रहने भएकोले सरकारसँग पनि सहयोगको अपेक्षा गरेका छौं । जंगली पशुपंक्षीहरु जता खान पाइन्छ त्यतै जान्छन्, जहाँ सुरक्षा हुन्छ त्यतै जान्छन् । यो प्रकृतिको नियम हो । उनीहरु आफ्नो बासस्थान आफै बनाउँछन् । त्यसमा मान्छेको हस्तक्षेप स्वीकार्य हुँदैन त्यहाँ भइरहेको छ । मान्छेका कारण वन विनास भयो । वन विनासले पशुपंक्षीको खानेकुरा विनास भयो । वन विनासले पशुपंक्षी मासिए । पशुपंक्षी मासिनु भनेको जैविक सन्तुलन विग्रनु हो र मानव जातिमा संकट पैदा हुनु हो ।  भनिन्छ पन्छीको विस्टा अत्यन्तै राम्रो मल हो । एक डोको गाई भैसीको मल चाहिँने ठाउँमा कुखुराको विस्टा एक पाथी भए  पुग्छ । परेवाको एक माना भए पुग्छ र पन्छीको विस्टा एक मुठ्ठी भए पुग्ने भन्ने भनाई छ । यस कारण पनि जंगली पंक्षीको महत्व कति छ भन्ने प्रष्ट हुन्छ । यसै कारण हामी सबैसँग आग्रह गर्दछौं वनलाई बगैँचा बनाआँै, पशुपन्छीको सुरक्षा गरौं ।

तपाईको प्रतिक्रिया