्धरान । प्रजातान्त्रिक समाजवादका प्रवद्र्धक, नेपाली काँग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४० औं स्मृति दिवस परिवर्तनशील समाज सुनसरीले भव्यताका साथ मनाएको छ । समाजकै अग्रसरतामा निर्माण गरिएको बीपी पार्कस्थित बीपीको प्रतिमामा माल्यार्पण गर्र्दै बीपीका वहुआयामिक व्यक्तित्वका सम्बन्धमा सहभागीहरुले चर्चा गरेका थिए ।
माक्र्सवादी दर्शनका व्याख्याता तथा नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादीका नेता हिमालधन राईले बीपीको राजनैतिक ओज र साहित्यका सम्बन्धमा चर्चा गर्नुभएको थियो ।
४० औं बीपी स्मृति दिवसमा आयोजकको आमन्त्रणलाई स्वीकार गरी भोजपुरबाट आउनु भएका राईले भन्नुभयो, बीपीका बारेमा चर्चा गर्दा दुई भिन्नाभिन्नै पाटाहरुलाई व्याख्या गर्नुपर्छ । बीपीले आफै भन्नुभएको थियो म साहित्यमा अराजक हुँ र राजनीतमा समाजवादी हुँ । राजनीति र साहित्यलाई सँगैसँगै अगाडि लिएर हिड्नु भएपनि दुवैको गन्ध एक अर्कामा कहिल्यै पाइएन राईले भन्नुभयो । माक्र्सवादी नेता राईले भन्नुभयो बीपीले कहिल्यै नेपालका कम्युनिस्टहरुसँग गठजोड गर्नुभएन । यदि उहाँले त्यसो गरिदिएको भए नेपालमा धेरै अगाडि प्रजातन्त्रको प्रार्दुभाव हुने थियो । राजाको असिमित शक्तिलाई खुम्च्याउन प्रजातन्त्र स्थापनाका लागि नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलालले संयुक्त आन्दोलनका लागि राख्नु भएको प्रस्ताव उहाँले स्वीकार्नु भएन । पछि कम्युनिस्ट र काँग्रेसकै संयुक्त आन्दोलनले नेपालमा प्रजातन्त्र स्थापना भएको राईले प्रष्ट्याउनु भयो । बीपीको साहित्यको चर्चा गर्दै सुम्निमाको प्रसंगमा उहाँले भन्नुभयो सुम्निमा र पारुहाङको औपन्यासिक पात्रलाई लिएर राई समुदायले विरोध गरेको पाइयो । त्यसरी विरोध गर्नु उचित होइन । आज हिन्दुदेवी, देवता, शिव,राम, सीता, लक्ष्मीको नाममा अनेकौ साहित्यिक पात्रहरु छन् । कसैले विरोध गरेका छैनन । आपत्ति जनाएका छैनन् । सुन्दरीजल जेलमा बस्दा स्व. देवानसिंह राईको प्रेरणाले बीपीले सुम्निमा उपन्यास तयार गर्नु भएको नेता राईले बताउनुभयो ।
नेपाली काँग्रेसका अग्रज नेता तथा परिवर्तनशील समाजका अध्यक्ष विश्वराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धरान उपमहानगरपालिकाका वडा नं. २० का वडाध्यक्ष पदम लिम्बु, वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, महाधिवेशन प्रतिनिधि श्यामा रेग्मी लगायतले पनि बीपीका विविध पक्षमाथि चर्चा गर्दै बीपीका आदर्शको अनुशरण गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

