फक्तालुङ (ताप्लेजुङ) । मध्य तमोर जलविद्युत आयोजनाको ३ हजार ३ सय ७० मिटर लामो शुरुङमार्गको असार ३१ गते शुक्रबार ब्रेक थ्रु भएको छ ।
वि.सं. २०७६ साल चैत्रदेखि आयोजनाको प्रमुख प्रवद्र्धक संस्था सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रा.लि.ले १२ अर्ब लगानीको ७३ मेघावाट क्षमता भएको मध्य तमोर जलविद्युत आयोजनाको काम शुरु गरेको थियो । ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका वडा नं. १ मा बन्दै गरेको आयोजनाका प्रमुख मणिराज पोख्रेलले दिनुभएको जानकारी अनुसार सुरुङ मार्गमा ब्रेक थ्रु भएपछि आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको मान्नुपर्छ । उहाँले भन्नुभयो सुरुङ मार्ग निर्माणमा संलग्न चिनियाँ कम्पनी चच्याङ फास्ट हाइड्रोले आयोजनाको ड्याम बन्ने स्थान मित्लुङ र पावरहाउस राखिने थुम्बा दुवैतिरबाट एकसात सुरुङ खनेको थियो । असार ३१ गते शुक्रबार १० ः ३० बजे दुवैतिरबाट खनिएको सुरुङ बीचमा जोडिएको थियो ।

आयोजना प्रमुख इन्जिनियर पोख्रेलले भन्नुभयो सुरुङ मार्गको कुल लम्बाई ३ हजार ३ सय ७० मिटर रहेको छ । यसैगरी चौडाई साढे चार मिटर र उचाई ६ मिटर रहेको छ । आयोजनाको काम शुरु हुनासाथ विश्वव्यापी माहारीको रुपमा फैलिएको कोरोनाका कारण काममा केही ढिलाई भयो । सुरुङ मार्गमा सक्रिय चिनियाँ ठेकेदार कम्पनीका प्राविधिकहरु फर्किएर गएका थिए । केही मत्थर भएपछि उनीहरु पुनः आए । हाल मध्य तमोर जलविद्युत आयोजनामा २१ जना चिनियाँ प्राविधिकसहित अन्य केही कामदार रहेको पोख्रेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो आयोजनाको प्रमुख कन्ट्याक्टर चिनियाँ चच्याङ कम्पनी नै हो । आयोजनाको मुख्य बाँध बनाउने, सुरुङ खन्ने काम चच्याङ फास्ट हाइड्रोले नै गरिरहेको छ । यसका अलावा अर्को चाइनिज कम्पनी एस्ट्रो मेकानिकल पिडब्लु पिडब्लुले टर्वाइनको काम गरिरहेको छ । आयोजनामा नेपाली कन्ट्याक्टरहरु समेत रहेका छन् । गेट लगाउने लगायतका काम नेपालको माछापुच्छ«े कम्पनी, कस्मिक कम्पनीले तार तान्ने काम गरिरहेको छ ।
आयोजना प्रमुख पोख्रेलले भन्नुभयो सुरुङ मार्ग निर्माणको काम सम्पन्न भएपछि आयोजना ८० प्रतिशत पूरा भएको मान्नुपर्छ । आयोजनाको हेडवक्र्सको काम पनि ८० प्रतिशत नै पूरा भएको
छ । ताप्लेजुङ जिल्लाकै हाल सम्मको सबैभन्दा ठूलो जल विद्युत आयोजना मध्य तमोरमा ७५ प्रतिशत लगानी विभिन्न बैंकहरुको रहेको छ भने २५ प्रतिशत पूँजी आयोजनाको रहेको छ । आयोजनाका प्रमुख पोख्रेलले भन्नुभयो अरु कामहरु पनि धमाधम भइरहेको छ । सन् २०२३ देखि उत्पादन थाल्ने लक्ष्य रहेको पनि उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो मित्लुङको माथिल्लो क्षेत्रमा ५० मिटर लम्बाई र ११ मिटर उचाइको बाँध बनाई साइड इन्टेकमार्फत पानी फाल्ने क्षेत्रमा पठाइन्छ । जहाँ एक सय मिटर लम्बाई र १३ मिटर चौडाईका तीनवटा भूमिगत च्याम्बर रहने छन् । जसले बालुवा थिग्राउने, थिग्राएको बालुवा र लेदो तमोरमा फाल्ने छ । पोख्रेलका अनुसार मिक्वा खोलाको खोक्लिङमा विद्युत गृहमा जडित १८.२५ मेघावाट क्षमताको चारवटा टर्वाइन मार्फत जेनेरेटिङ युनिटमार्फत उत्पादन गरिने छ । उत्पादित विद्युत ढुंगे साँघुस्थित केन्द्रीय प्रशारण लाइनमा जोडिने छ । ढुंगेसाँघु पावर हाउसबाट ९ किमी टाढा रहेको छ ।
