धरान/निर्णय गर्ने तर कार्यान्वयन गर्न नसक्ने सरकारका कारण सुनसरी सदरमुकाम इनरुवाको मालपोत कार्यालयको दुईदिनदेखि ठप्प सम्पूर्ण काम हिजो मंगलबारदेखि सञ्चालनमा आएको छ ।
सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयको सेवा केन्द्र उत्तरी क्षेत्रका जनताको लागि समेत सहज बनाउने भन्दै सरकारले यी दुवै कार्यालयको सेवा केन्द्र धरानमा राख्ने असोज ३० गते निर्णय
गरेको थियो । तर सदरमुकाम इनरुवाका स्थानीय बासिन्दा, राजनैतिक दल, उद्योग, व्यवसायी, मजदुर, विद्यार्थीहरुको आन्दोलनका कारण सोमबार प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको कार्यकक्षमा बसेको सर्वपक्षीय वैठकले हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।
भ्रष्ट, कमिशन खोरका रुपमा चिनिएका जिल्ला मालपोत कार्यालय सुनसरीका पूर्व कार्यालय प्रमुख तथा सेवा केन्द्रका कथित एवम् स्वघोषित प्रमुख श्रवणकुमार पोख्रेललाई विभागीय कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीले सिफारिस गरिसक्नुभएको छ । विभागीय कारबाहीका सम्न्धमा जिल्ला प्रशासन कार्यालय सुनसरी स्रोतले भन्यो प्रशासनको स्विकृति नलिई नापी र मालपोत कार्यालयको बोर्ड धरान उपमहानगरपालकामा झुण्डयाएको, फेस बुक मार्फत धराने जनतालाई भ्रामक समाचार सम्प्रेषष गरेको, प्रशासनको स्विकृति बिना पुराना काजगका ठेलीहरु धरान पुर्याइएको र आफू कार्यालय प्रमुख हुा भन्दै धरानमा बसेकाले आचरण विपरीत कार्य गरेकोले विभागीय कारबाहीका लाग सिफारिस गर्नु परेको हो । प्रमुख जिल्ला अधिकारी पन्थकै निर्देशनमा गत विहीबार धरान उपमहानगरपालिकामा झुण्ड्याइएको बोर्ड हटाइसकिएको छ ।
मालपोत कार्यालय र नापी कार्यालयको सेवा केन्द्र धरान लैजाने सवालमा विवाद चर्कदै गएपछि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय बैठकले धरानमा सेवा केन्द्र कहिलेदेखि सञ्चालन हुने भन्ने सवालमा कुनै निर्णय गर्न सकेन । धरानबाट गएका स्थानीय राजनैतिक दलका नेता तथा कार्यकर्ता र सदरमुकाम बचाउ संघर्ष समिति तथा प्रमुख जिल्ला अधिकारीका बीचमा छलफल भएको थियो । आन्दोलनमा उत्रिएका संघर्ष समितिका पदाधिकारीले इनरुवामा यातायात व्यवस्था कार्यालयको सेवा केन्द्र, आन्तरिक राजस्व कार्यालयको सेवा केन्द्र, ट्राफिक प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय इनरुवामा राख्नुपर्ने र इनरुवा सदरमुकाम भन्दा ४५ किमी दक्षिणमा रहेको अमडुवा, घुस्की, रामगञ्जमासमेत सेवा केन्द्र विस्तार गर्नुपर्ने माग राखेका थिए । सरकारले यसमा निर्णय नगरुन्ज्याल कुनै पनि हालतमा धरानमा नापी र मालपोत कार्यालयको सेवा केन्द्र लैजान नदिने अडान लिएका थिए । उनीहरुले सेवा केन्द्रले धरान उपमहानगरपालिकाभित्र मात्र आफ्नो सेवा दिने हाासपोसा, इटहरीका सम्पूर्ण काम सदरमुकाम इनरुवाबाटै हुनुपर्ने अडान समेत लिएका थिए । अन्तत: यही विषयमा सर्वपक्षीय भेलाले सहमति जुटाएको थियो भने प्रमुख जिल्ला अधिकारी पन्थले इनरुवाबासीले माग गरेको कुरा केन्द्रमा लेखेर पठाउने र त्यसभन्दा यता सरकारले निर्णय नगरुन्ज्याल धरानबाट नापी र मालपोतको सेवा केन्द्र नराखिने, इनरुवामा जारी संघर्ष फिर्ता लिने सहमति भएको थियो ।
सदरमुकाम बचाउ संघर्ष समितिका सयोजक एवम् नेपाल सद्भावना पार्टीका केन्द्रीय प्रवक्ता सन्तोष यादवले सोमबार सर्वदलीय वैठकमा भएको सहमति कार्यान्वयन नहुन्ज्याल आन्दोलन स्थगित गरेको बताउनुभयो । समितिले एक कोणसभाको आयोजना गरी आन्दोलन फिर्ता लिएको घोषणा गरे तापनि फरक ढंगले आन्दोलन जारी राख्ने पनि प्रष्ट पार्नुभयो । सो अवसरमा मधेशी जनअधिकार फोरम नेपालका नेता एसएन मेहता, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य रामचन्द्र मेहता लगायतले हाललाई आन्दोलनको स्वरुप मात्र फेरिएको बताउनुभएको थियो ।
