जोर लात्ती बजारेछन् जादवले
उपिन्दर जादव भन्या उपिन्दर जादव नै हुन् । मधेशमा भइस चराएर नेता भा’का त्यस्ता जादवसँग गोरखातिरका लिखुरे फुकिढल बाउरामले सिंगौरी खेल्न खोज्दा विचरा वल्लोघाट न पल्लो तिरका भा’छन् । सिँगौरी नै खेल्नुपर्दा आफू सरहकासँग पो खेल्नुपर्छ त । अर्काले उचालेको भरमा बोकेको भरमा बडेमानका ज्यान भएकासँग खुबै सिँगौरी खेल्न गाँथे पछारिएसी’ झसँग भा’ होलान् । हुन तिखौरे बाउराम कही छिर्दा नि टिक्ने होइनन् । लिखुरेलाई ज्यादा भाउन्न छुट्छ भन्छन् हो कि क्या हो ? जुन थालमा खायो त्यही थालमा विस्ट्याउन थालेसी अस्तिका दिन जादवले जोरलात्ती बजाएछन् । बाउराम नि उस्तै हुन् चुप लागेर बस्दा भैहाल्थ्यो । किन बढी छुल्याहा हुनु ? कसैले शरण नदिँदा तिनै जादवले ढोलक बजाएर जसपामा भिœयाएका थिए । वैगुनी मान्छे, गुन ग¥यो कि आफूलाई तीसमार खाँ सम्झिहाल्छन् । अब हिसिलाको छेवैमा बसेर कन्पारोमा हात राखेर विलौना गर्नुबाहेक तीसँग केही रहेन ।

केटो इलममा लागिहालेछ
हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात भनेर हाम्रा बाजेहरुले त्यसै भन्या हैन रा’न् । अब हेरम न देउवा आरजु पुत्र जययवीर देउवा बेलैमा इलममा लागिहालेछन् । अरुका छोराछोरी भा’ यति लगनशील भएर मगिरए नि काम गर्दैनन् थिए । खान्तेपिन्ते गरेर हल्लेर हिँड्थे । तर देउवा पुत्रले बेलैमा व्यवसाय थालनी गरिहालेछन् । अर्थोक व्यापार ग¥या भए त अलि इज्जत रहन्थ्यो । विचराले करोडौको प्याडको व्यापार पो शुरु गरेछन् । हुन त काम भन्ने कुरा सानो ठूलो हुँदैन । व्यवसाय गरेसी पैसोचाहिँ आउनुप¥यो । तिनले पनि त्यही ग¥या हुन् । बाबु आमा दाहिना भएसी’ व्यापार गर्न झनै सजिलो । अरुका छोराछोरीको त कर्मै फुटेको । अरुले त खाँडी पुगेर नि खाली फर्कनु प¥या छ । जे होस् केटाले खप्पराँ लिएर आएकै रै’छ ।
कचौरामा तेल बोकेर जाइन्न
हिजोआज वाल्वाटारे श्यालबहादुर अलि ज्यादा नै मालिस चाहिन थालेछ । उनी सबैसँग मालिसकै आशा गर्दा रा’न् । हुन त मालिस चाहियो पनि होला । उमेरले चारकोरी भ्याउन लाग्या छ । यो उमेरमा अरुले मालिस गरिदिउन, यसो हातगोडा थिचथाच पार्दिउन् भन्ने आशा सबैले गर्छन् । विचारलाई हैरानी छ । श्रीमतिलाई भनम् भने कहिले दिल्लीतिर दौडिएकी छन्, कहिले कता दौडिएकी छन् । विचरी पद र पैसाका लागि विहानदेखि बेलु्कैसम्म दौडधूपमा हुन्छिन् । स्यालबहादुरलाई मालिस गर्ने फुर्सद तिन्लाई मरिगए हुन्न । छोरोलाई भनौ भर्खर भर्खर व्यापारमा लाग्या छ भन्ने कुरा पनि भएन । कार्जेकर्ताले मालिस गर्दिन्छन् कि भन्ने आशा ग¥या थे तर अस्तिका दिन एकजना उपल्लो स्तरका कार्जेर्ताले कचौरमा तेल बोकेर जाइन्न भनेर ओठे जवाफ लगाएछन् । मालिस गर्नेहरु नभएसी’ हिजोआज विचरा खिन्न भएर ¥याली चुहाएर बस्न थाल्या छन् ।
थापा काजीको रोइलो
राप्रपा छाडेर काँग्रेसमा पोइल आएका सुनिल थापाको हिजोआज निक्कै रोइलो मच्चिएको छ । राप्रपा छँदा पार्टीको सम्मानजनक पदमा बसेका मन्तरी समेत भएका थापा यतिबेला डुकुलन्ठ्याक भा’छन् । अस्तिका दिन तिन्ले थुतुो खोलेरै भने काँग्रेसमा आएर नकाम गरिएछ । न कुनै विजम्मेवारी पाइयो, न मान सम्मान नै पाइयो । आफूसँगै त्यत्रा साथीहरु लिएर काँग्रेसमा भित्रियौ अहिले डुकु बन्नु प¥या छ । विचराले आफ्नै बाउको नाक छिनालेर काँग्रेस भाँथे । अहिले बल्ल थापा काजीको घैँटोमा घाम लागेछ । यसो दुई चार खोका खर्च गरेर केन्द्रीय सदस्यमा निर्वाचित त भए तर क्यार्नु त्यो भालुको कन्पट । विचराले काँग्रेस नबुझिकनै प्रवेश ग¥या रै’छन् । असली बात त बल्ल तिनको खप्पराँ घुसदैरैछ । विचरा ठूलो भाग खान आँथे धोती न टोपी भएछन् ।
जोक्करै भए लामिछाने
हुँदाखाँदाको पत्रकारिता छोडेर अमुक विदेशी नियोगबाट सञ्चालित रवि लामिछाने अस्तिका दिन धरान आए गए । विचरा आफूलाई तीसमार खाँ सम्झन्थे तर धरानमा विचरालाई कसैले हरी झण्डी सम्म देखाइ दिएनन् । आफैसँग काठमाण्डौबाट ल्याइएका दुई चार जना युटुवेहरु लामिछानेका अगाडि पछाडि अस्वभाविक ढंगले फ¥याकफुरुक गरेको दृश्य वडो रोचक थियो । एकताका रविन्द्र मिश्रलाई पनि सनक चढेर नेता वनी टोपले । अहिले त दृश्यबाटै गायव भएछन् लामिछानेको पनि त्यही नियति त हो । वडा टाँठबाँठसँग धरान आ’थे । मामाके घोडी मेरे हिही भनेझै अर्काको अर्थ व्यवस्थामा दौडदैमा नेता भइने सोच्या रा’न् विचाराले । धरानेहरुले वाल नदिएसी’ स्खलित भएर कुले ठोकेछन् ।
चारो फाल्देर हिडेछन्
भोजपुरेहरुले लघारेका अनि सुनसरी आएर बडे पल्टिएका पर्यटक नेता आच्या ज्ञावका सुनसरीमा अस्तिका दिन आएर चारो फाल्देर हिडेछन् । चारो फाल्न ज्ञावका पोख्त छन् । कसैलाई नगदै, कसैलाई उधारोको कारोबार गरेछन् । जीवनमा कहिल्यै भोजपुरबाट निर्वाचत जित्ने औकात नभएका ज्ञावकाले सुनसरीका केही झल्लुमारहरुलाई आफ्नो इसारामा राम्रैसँग नचाएका छन् । झल्लुमारहरुको आफ्नै्र नाभीमा सुगन्धित विनायो छ भन्ने कुरा थाहा छैन । हुन त राजनीति भन्या चतुर, चपरचण्डालहरुले खेल्ने खेल न हो । ज्ञावका सुनसरीमा त्यही खेल खेल्दैछन् । झल्लुमारहरुले खै कुरा बुझ्या ?
देखिने र सुनिने भएन रे
गणेशमानसिंहका गठ्ठे पुत्र प्रकाशमान सिंहले अस्तिका दिन गज्जबकै गफ गरेछन् । सरकारले देखिने र सुनिने पनि काम गर्न सकेन रे । त्यो कुरा गठ्ठे सिंहले नेप्लिज लाँग्रेसको केन्द्रीय वैठकमा देउवातिर मुख फर्काएर गरेछन् । काजी त्यसै टेन्सिनमा त्यसमाथि सिँहले त्यसो भनेपछि तिन्को पारो नतातिनै कुरै भएन । गठ्ठे सिंहलाई सरकारको काम देखिने र सुनिने चाहियो रे । देखिने र सुनिने नगर्दा त पर्तिपक्षेले सातो खाइस्क्या छन् । त्यसमाथि देखिने र सुनिने ग¥यो भने त वाल्वाटारेकाजीको के हालत होला ? बरु घण्टाघर गठ्ठे काजीलाई एउटा सुझाउ दिन्छ अब चुनाउमा जाँदा काजीको फोटो प्रिन्ट भएको भेष्ट लगाएर जाने । आखिरी त्यतै त्वम् शरणम् भैसकेपछि घण्टाको चिन्ता ? कि कसो हौ ?
अन्तेमा
नेपाललाई श्रीलंका हुनबाट जोगाउन भ्रष्टाचार निर्मुल गर्नुपर्छ रे । यो गज्जबको सुत्र काँग्रेसका नेता शेखर दा’ले पत्ता लगाका रे । वित्थामा यस्तो अचुक सुत्र पत्ता लगाएको । सत्तामा बस्नेहरुले
कसरी श्रीलंका बनाउन सकिन्छ भनेर दिनरात त्यत्रो मेहनत
गरिरा’छन् । उनीहरुको मेहनतको उच्च मूल्यांकन गरेर सम्मान पो गर्नुपर्छ त । परमादेशबाटै शुरु भएको श्रीलका पथको महान अभियानका अभियन्ताहरुलाई नयाँ सुत्रको कति ठेस पु¥याएको होला ? कति चोट पु¥याएको होला । शेखर दा’ले अलिकति विचार गर्नुपर्दैन ? सुत्र पत्ता लगाएकोमा मानहानी लाग्ला है, होस पु¥याम् ।
