अप्राकृतिक गठबन्धन गरी सत्तामोहमा रमेका नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला आफ्नै कार्यकर्ताबाट बहिष्कृत हुँदै गएका छन् ।
सत्ता गठबन्धनका नाममा कलंकित पृष्ठभूमि भएका कम्युनिस्टहरुसँग स्थानीय निर्वाचनमा भागबण्डा गरेपछि कार्यकर्तामा छाएको नैराश्यता मेटिन नपाउँदै आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा समेत गठबन्धन जारी राख्ने देउवाको निर्णयप्रति मुलुकभरिका नेपाली काँग्रेसका आम कार्यकर्ताहरुले पछिल्लो पटक घोर आपत्ति जनाएका छन् । आफ्नालाई पर धकेलेर परायसँग गठजोड गरेपछि
सरकार र पार्टीमा पूर्ण असफल देउवाले आफ्नै कार्यकर्तामाथि चलाएको अनुशासनको डण्डा, भातृ तथा शुभेच्छुक संघ संगठन तहस नहस बनाएको भन्दै नेपाली काँग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले केहीदिनदेखि छुट्टै भेलाको आयोजना गर्दै आउनु भएको छ । सोमबार काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन सानेपा पुगेका देउवालाई आफ्नै कार्यकर्ताले अवरोध गर्दै नारा जुलुस समेत गरेका थिए । प्रहरी प्रशासनको सहयोगमा उनी वैठक स्थल प्रवेश गरेका थिए । सो अवसरमा प्रभावशाली नेता शेखर कोइरालाले आम कार्यकर्ताको नेतृत्वप्रतिको असन्तुष्टिलाई लिखित रुपमा प्रस्तुत गर्नुभएको थियो ।

कोइरालाले प्रस्तुत गर्नुभएको ११ बुँदे असन्तुष्टिमा तालमेलका नाममा स्थानीय स्तरमा महिला सहभागितालाई खुम्च्याउने काम भएको, केन्द्रले हस्तक्षेप गरेको, निर्वाचनका सम्बन्धमा पार्टीभित्र शुक्ष्म ढंगले समीक्षा र मूल्यांकन हुनुपर्ने, काँग्रेसका हज्जारौ कार्यकर्ता गठबन्धनप्रति सकारात्मक बन्न नसकेको, १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्वमात्र चयन भएको पार्टीलाई सवल बनाउने काम नभएको, पार्टी विधिसम्मत चल्नुप¥यो, आफूलाई मत नहालेकाहरुमाथि न्याय हुने सँस्कृतिको विकास हुनुप¥यो, पार्टी संगठनको मेरुदण्ड भातृ तथा शुभेच्छुक संगठन लामो समयदेखि निष्प्रभावि बनाइएको, सभापति एक पक्षीय ढंगले निर्णयमा पुग्ने गरेको, सत्ता तालमेलका दलहरु काँग्रेसतिरै फर्किएर आरोप लगाइरहँदा नेतृत्व लाचार बनेको, केपी ओलीको सरकारले राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान र सम्पत्ति सुद्धीकरण विभाग हालसम्म आफ्नै मातहतमा राखेर अधिनायकवादतर्फ उन्मुख भएको, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर संविधानलाई मिच्ने काम अघिल्लो सरकारले गर्दा विरोध गर्ने हामीले आज त्यसलाई निरन्तता दिनु दुःखद् भएको, महंगीले जनताको दैनिक जीवनस्तर कष्टकर बन्दै गएपनि प्रधानमन्त्री लाचार बनेको जस्ता आरोप कोइरालाले आफ्नो लिखित वक्तव्यमा लगाउनु भएको छ ।
