धरान । भारत सरकारको अनुदान सहयोगमा डोटी र कपिलवस्तु जिल्लामा दुई वटा विद्यालय भवन र छात्रावास निर्माण भएको छ । आषाढ २६ गते भारतीय राजदूतावासले एक विज्ञप्ती प्रकाशित गरी निर्माण सम्पन्न गरिएका भवन र छात्रवासको उद्घाटन गरिएको जनाएको छ ।

काठमण्डौस्थित भारतीय राजदुतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति डोटीका सभापति लक्ष्मणबहादुर सिंहले संयुक्त रुपमा डोटीको जोरायल गाउँपालिका वडा नं. ४ कुण्डीकोटमा रहेको घण्टेश्वर मावि र छात्रावास भवनको उद्घाटन गर्नुभएको थियो । शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोगमा ९६.९ लाखको लागतमा उक्त विद्यालय भवन र छात्रवास निर्माण भएको हो । ६५० जना भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालय डोटी जिल्लाकै प्रतिष्ठित विद्यालय हो । नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाइका लागि उपयुक्त वातावरण सिर्जना भएको जारी विज्ञप्तीमा जनाइएको छ । सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अगाडि बढाएकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टीभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातवटै प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये डोटी जिल्लामा तीनवटा सहित सुदुरपश्चिम प्रदेशमा ३४ वटा परियोजना सम्पन्न भएका छन् ।
यसैगरी कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकास्थित श्री माध्यमिक विद्यालय भवनको आषाढ २४ गते उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उक्त निर्मित विद्यालय भवनको उद्घाटन गर्नुभएको थियो । कपिलवस्तु जिल्ला क्षेत्र नं. २ का सांसद वृजेशकुमार गुप्ता, कपिलवस्तु जिल्ला समन्वय समितिका सभापति बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका प्रमुख केशव श्रेष्ठको समेत उद्घाटनका अवसरमा उपस्थिति रहेको थियो ।
भारत नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ३ करोड ४० लाखको लागतमा विद्यालय भवन निर्माण भएको हो । दुवै विद्यालय भवनको निर्माण भारत स्वतन्त्र भएको ७५ औ उत्सव मनाउन भारत सरकारले अगाडि सारेको आजादीको अमृत महोत्सव अन्तर्गत नै रहेको छ ।
