सुनसरी उद्योग वाणिज्य संघका द्विपक्षीय भिडन्त हुने

धरान । भोलि सोमबार हुने सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका तीन जना प्रत्यासी मध्ये द्विपक्षीय भिडन्त हुने मतदाता उद्योगी व्यवसायीहरुले अनुमान गरेका छन् ।
आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी बन्नु भएका पूर्व अध्यक्ष पवनकुमार अग्रवाल, संघका वर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ र विजय श्रेष्ठमध्ये पवनकुमार अग्रवाल र शिवराज श्रेष्ठबीचमै प्रतिष्पर्धा हुने देखिएको छ । अध्यक्षका सशक्त प्रत्यासीद्वय शिवराज श्रेष्ठ र पवनकुमार अग्रवालले आफू निर्वाचित भएमा उद्योगी व्यवसायीको हितमा गर्नुपर्ने कार्यको फेहरिस्त सार्वजनिक गर्नुभएको छ । अग्रवालले अबको निर्वाचनमा परिणाम– सुनसरी उद्योग वाणिज्य संघमा सुद्धीकरण अभियानको नारा अगाडि सार्नुभएको छ । उहाँले संघको संस्थागत विकासका लागि उद्योगी व्यवसायीहरुको पेशागत सुरक्षा र विकास, सुनसरीका औद्योगिक र व्यवसायिक क्षेत्रहरुको समग्र विकास जस्ता कुराहरु पनि अगाडि सानुभएको छ ।


उता अध्यक्षका अर्का प्रत्यासी शिवराज श्रेष्ठले उद्योगी व्यवसायीहरुका लागि सुनसरी उद्योग वाणिज्य संघ भित्रै कानुनी परामर्श सेवा, कृषकहरुका लागि कृषि विकास केन्द्र, लेखा परीक्षण परामर्श सेवा केन्द्र, व्यवसायिक परामर्श सेवा केन्द्रहरु खोलेर उद्योगी व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता मतदाताहरु समक्ष गरिसक्नु भएको छ । उता अध्यक्षका अर्का प्रत्यासी विजय श्रेष्ठले मतदाता उद्योगीहरुलाई आश्वस्त पार्ने किसिमको कुनै योजना सार्वजनिक गर्न सक्नु भएको छैन । एकजना पूर्व अध्यक्षले भने पाँचजना पूर्व अध्यक्षको समर्थन आफूलाई रहेको भनेर प्रचार गर्नुबाहेक विजय श्रेष्ठले अरु कुनै योजना ल्याउन नसकेको बताए । उनले आक्रोस समेत पोखे मेरो समेत तस्विर राखेर प्रचार गरिँदैछ यसमा मेरो आपत्ति छ । यसैगरी शिवराज श्रेष्ठले सुनसरी उद्योग वाणिज्य संघसँग आवद्ध व्यवसायीहरुका लागि व्यवसायिक सूचना केन्द्र बनाउने, धरानबाहिर रहनु भएका व्यवसायीहरुलाई नगरपालिका मातहत रहेका उद्योग वाणिज्य संघसँग समन्वय गरेर सेवा प्रदान गर्ने, प्रविधिको अधिकतम प्रयोग गर्ने, करको दायरा फराकिलो बनाएर कर बृद्धि रोक्ने, उद्योग वाणिज्य संघको परिषरमा प्रदर्शनी स्थलको व्यवस्था गर्ने कुरालाई सशक्त ढंगले अगाडि सार्नुभएको छ भने अध्यक्षका अर्का प्रत्यासी पवन अग्रवालले सुद्धीकरण अभियानको बलमा संघको गुमेको शाख फर्काउने कुरामा जोड दिनुभएको छ ।
अध्यक्षका प्रत्यासी अग्रवालले संघलार्ई विधान र विधिसम्मत सञ्चालन गर्ने, संघमा हुने अनियमितता अन्त्य गर्ने, निर्वाचित पदाधिकारी र सदस्यहरु बीच कार्य विभाजनको आधारमा सहकार्य स्थापित गर्ने, संघबाट प्रदान गर्ने सेवालाई सहज बनाउने, संघलाई प्रदेशकै नमूना उद्योग वाणिज्य संघ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अर्का एक पूर्व अध्यक्षले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने प्रतिष्पर्धा पवनकुमार अग्रवाल र शिवराज श्रेष्ठबीचमै हुने देखियो । उनले भने दुवैले आफ्ना स्पष्ट भिजन पस्केका छन् ।

तपाईको प्रतिक्रिया