गोविन्द बस्नेत
सुख्खा मौसमको समयमा धरानका गृहणीहरु रातभरि सुत्दैनन् । उनीहरु नसुत्नुको कारण गर्मी भएर भने हैन घरमा प्रयोग पानीको जोहोको लागि उनीहरु
रातिभरि नसुतेका हुन् ।
सुख्खा मौसम लागेपछि धरानमा पानीको अभाव प्रत्येक बर्ष चुलिदै गएको छ । यसको प्रमुख कारण बर्षेनी बढेको जनसंख्या र धारा जडानको संख्यामा वृद्धि हुनु हो । अभावसंगै १० देखि १२ दिनमा बल्ल वल्ल आफ्नो धारामा पानी आउने पालो भएपनि धारामा पानी नचुहिदा बाटोबाटोमा पाइप खोलेर पानी थाप्नुपर्ने बाध्यताका कारण पानी कतिखेरि आउने र थाप्ने चिन्ता नै गृहणीको लागि टाउको दुखाई बन्दै गएको हो । एक ग्रागी पानीका लागि बाटामा समेत घण्टौ लाग्नुपर्ने समस्या भएकोले प्राय राति १२ बजेको समयपछि पानी आउने गरेकाले रातभरि उनीहरु सुत्न नपाएका हुन् । त्यतिमात्र तीन चार दिनमा एउटा टोलमा खानेपानी संस्थानले एक ट्यांकी पानी वितरण गर्ने गर्दछ, त्यो समयमा समेत उनीहरु लाइनमा लागेर बसेको दृश्य देख्दा जोकोहीलाई कहालाीलाग्दो लाग्न सक्छ ।
धरान १५ की टीकामाया चापागाईलाई सुख्खा मौसम नआएजस्तो लाग्छ । विगत चार पाचबर्षदेखि पानीकै कारण रातभरि सुत्न नपाएको र ढाडको बल्झिदै गएको चापागाईको भनाई छ ।
चापागाई मात्र धरानका आर्थिक कमजोरी भएका गृहणीहरुको हालत सबैको यस्तै रहेको छ । हुने खानेखानेले त पैसा तिरेर निजी ट्यांकी ल्याउने गरे पनि नहुनेका लागि धारामा आएको पानीको पखाई र संस्थानले ल्याउने गरेको ट्यांकी पर्खिनुको विकल्प केही छैन ।
यसको प्रमुख कारण सुख्खा मौसममा खानेपानी संस्थानले पानीको जोहो गर्न नसक्नु नै हो । दैनिक २ करोड लिटर पानी आवश्यक रहेको धरानमा सुख्खा मौसममा मुस्किलले १ करोड ३० लाख पानीको जोहोमात्र गर्न सक्ने संस्थानकै कर्मचारीको भनाई छ । धरानको पानीको स्रोत मानिएको सर्दु, खर्दु र तामाखाम जलाधार क्षेत्र सुख्खा मौसमसंगै पानीको स्रोत सुक्नु र तराहराको जंगलबाट बोरिङ्ग गरेर ल्याउने पानी समेत लोडसेडिङका कारण दैनिक दुई वटा ट्यांकरबाट १ लाख ५ हजार लिटर ट्यांकर दैनिक धरानबासीलाई बाड्नुपर्ने बाध्यता रहेको संस्थानकै वितरण शाखाले जानकारी दिएको छ ।
सस्थानको कर्मचारीहरुको यस भनाईप्रति सर्वसाधारणहरु रुष्ट देखिन्छन् । पाइप विस्तारसंगै वितरणमा समेत धाधली गरेका कारण पनि कही ठाउमा प्रसस्त पानी आउने र कही ठाउमा बढी पानी आउने गरेको सर्वसाधारणको भनाई छ । वैज्ञानिक ढंगले पानी वितरण गर्ने हो भने पानीको अभाव भएपनि यस्तो भयावह अवस्था नआउने उनीहरुको भनाई छ ।
यद्यपि संस्थानले हाल धरानमा ८३ प्रतिशत सर्वसाधारणलाई खानेपानी खुवाउदै आएको बताउदै आएको छ । सरकारले सहयोग गरेर १ करोड सहयोग गर्ने हो भने सुख्खा मौसममा समेत संस्थानले पानी खुवाउने बताउदै आए पनि पछिल्लो समयमा एसियाली विकास बैंकको ऋण सहयोगमा धरान उपमहानगरपालिकाले भूमिगत पानीको कामलाई निरन्तता दिए पनि त्यो समेत अहिलेसम्म विवादित रुपमै अगाडि बढिरहेको छ ।
