धरानको धार्मिक पर्यटकीय क्षेत्रमा फोहोरको डंगुर

धरान । धरानलाई सफा र सुन्दर सहरको रुपमा चिनाउने उद्देश्यले केही समय अगाडि धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ राईले धरानको मुुटु मानिएको भानुचौकमा फोहोर टिप्दै सर्वसाधारणलाई फोहार नफाल्न आग्रह गर्दै हिडें । फोहोर फाल्नेलाई जरिवाना सम्म गर्ने उनले सर्वसाधारणलाई बताए । सरसफाई कार्यक्रममा मेयर साम्पाङसँगै विगतमा उनको अभियानलाई सघाउने सहयोगी तथा नगर प्रहरीले समेत साथ दिए । तर एक हप्ता भन्दा बढी समयदेखि धार्मिक पर्यटकीय क्षेत्र विजयपुरको फोहोर व्यवस्थापन हुन सकेको छैन ।


धरान १४ विजयपुरलाई प्रदेश नं. १ कै धार्मिक पर्यटक क्षेत्र बनाउने धरान उपमहानगरपालिकाको गुरु योजना छ । ०७४ सालमा भएको पहिलो स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रनिधिहरुले धार्मिक पर्यटकीय क्षेत्र बनाउन कार्यपालिकाको वैठकबाट निर्णय गराएका थिए । निर्णय गराए पनि त्यहाको फोहोर व्यवस्थापनमा उपमहानगरपाकिालले खासै ध्यान दिन सकेको छैन । झन पछिल्लो समय एक हप्ता भन्दा बढी समयदेखि त्यहाका मन्दिर तथा आसपासका फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले वेवास्ता गर्दा विजयपुरको सुन्दरताप्रति नै प्रश्न उठ्न थालेको छ ।स्थानीय कर्णबहादुर राईले धरान १४ मा सफा गर्ने र फोहोर व्यवस्थापन गर्ने कर्मचारी नआएको पनि एक हप्ता भन्दा बढी भएको बताउनुभयो ।विजयपुरमा प्रत्येक शुक्रबार फोहोर बोक्ने गाडी जाने गरेको स्थानीयले बताएका छन् । धार्मिक पर्यटकीय क्षेत्र भएकोले दैनिक सर्वसाधारण त्यहा रहेको मन्दिरमा दर्शन पुग्ने गरेका छन् । बाहिरबाट आएका सर्वसाधारणलाई पनि धरान सफा छ भनेर डंका पिट्नु फोहोर व्यवस्थापन नहँुदा लाजमर्दो भएको स्थानीय तिलक गुरुङ बताउनुहुन्छ । उहाले छेउमै थुप्रिएको फोहोर देखाउँदै करिब १५ दिनदेखि बोरामा फालेर राखेका फोहोर फाल्न समेत नगरपालिका नआएको बताउनुभयो ।
धरानको गौरव मानिएको विजयपुरमा देश तथा विदेशबाट दैनिक सैयौ भक्तजनहरु यहा रहेका मन्दिरमा दर्शनका लागि आउने गरेका छन् । विजयपुरमा रहेको दन्तकाली, पिण्डेश्वर तथा बुढासुब्बा मन्दिरमा धेरै भक्तजन दर्शनका लागि आउने गरेका छन् भने यदाकदा पञ्चकन्या मन्दिर र पाथीभरा मन्दिरमा समेत भक्तजनहरु पुग्ने गरेका छन् । तर धरान २ सिंहदेवी चौकदेखि उकालो सिढी चढेदेखि नै फोहोरको डंगुर देख्न सकिन्छ । मन्दिर तथा आसपास फोहोर उठाउन नआउदा सबैलाई असजिलो भएको दन्तकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनाल बताउनुहुन्छ । नगरलाई सफा र स्वच्छ बनाउने अभियानको एउटा पाटो फोहोर व्यवस्थापन पनि हो । निर्वाचित भएर आएसंगे मेयर हर्क साम्पाूङले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्नु भएको छ ।

 

तपाईको प्रतिक्रिया