घण्टाघरबाट हेर्दा

चुत्था नोकरको थुतुनो ट्याप्प
झेमालको नेता सुर्जे थापा पनि कहिलेकाँही त गतिलै दनक हान्छन् । न आइमाइको थोपडा न लोग्ने मान्छेको थोपडा ठ्याक्कै हिसिला यमीको थोपडा परेका सूर्जेको थुतुनो चल्न थालेसी चन्द्रेको बाबु इन्द्रे आए नि कसैले रोक्न सक्दैन । अतिका दिन तिन्ले बार्गेनिङ्गवादी आच्या पूर्व माउवादी पार्टीका अध्येक्षे, विराले पार्टी माने एमालेबाट गर्भाधान भएका सांसद चोर चार गरेर बनाको एकीकृत समाजवादी पार्टीका पुतली जुँगे अध्येक्षे माकुनेले यो हप्ता कम्ता बबाल मच्चाएनन् । स्थानीय निर्वाचनमा नेपाली काँग्रेससँग मागेर बासी भात खाएका र ज्यान धानेकाहरु प्रदेश र संघको निर्वाचनमा बासी भात नपाएला कि भनेर वाल्वाटारे तोत्यांग्रे काजीलाई तर्साउन भेमालेले पर्धानमन्तरीको अफर दियो भनेर सामाजिक सञ्जालमा मादल बजाएर ठुनुक ठुनुक नाचे । बोलचाल सम्म नभएकालाई पर्धानमन्तरीको अफर दियो भन्ने कुरा जगले पत्याउने कुरा पनि भएन । टुप्लुक्क सुर्जे थापा झुल्किए र ती दुवैको थुतुनो काँसको थाल बजेझै बजाइदिए । झेलमालेले देउवाका चुत्था नोकरलाई पर्धान
मन्तरीको अफरै नगरेको प्रष्ट्याइदिए । जे होस् काँग्रेससँग मागेर बासी भात खाने जुक्तिचाहिँ यिन्का खप्पराँ गज्ज्बले फुर्न थाल्या छ ।


जुन थालामा खायो…
काँग्रेसको कन्दनी अँठ्याएर स्थानीय निर्वाचनमा वैतरणी पार गरेका माकुने र प्रचण्डाउ यतिखेर काँगेसतिरै फर्किएर ड्याउ गरेर डकार्न थाल्या छन् । बोक्न सक्ने र आश गरे भन्दा धेरै पाएपछि अमत्याई लागिहाल्छ । मेरे बिल्ली मेरेको म्याउ भनेझै अस्तिका दिन विराले पार्टीका अध्यक्ष माकुनेले भन्या काँग्रेसले धेरै घमण्ड गरे भष्म पारिदिन्छौं रे । त्यही काँग्रेसको बासी भात खाएर हुर्केको तिन्लाई हेक्कै भएन छ । हुन त जुन थालमा खायो त्यही थालमा आँची गर्ने माकुनेको आदतै हो । हुन त माकुने विचराको के दोष ? दोष त बासीभात दिएर प्राण जोगाइदिने वाल्वाटारे मुखिया वा को हो त । कि कसो हौ ?
टाउकोमा लौरोले हाने रे
बंशवादमा आधारित भएर उमेद्वार उठाउँदा जनताले टाउकमामा हान्या हुन् रे । रामचन्द्रे बाजेले भन्या । बाजेले धन्न यतिचाहिँ बुझेछन् । तिन्ले पनि आफू ठाममा हुँदा छोरालाई मालदार ठाममै हुलेको थिए । साला सालीको पनि बन्दोबस्त राम्रै गर्दिए । अब अहिले विचरा डुकु भा‘छ । अस्तिका दिन त तिन्ले भन्या अब पर्धानमन्तरी हने पालो मेरो
हो । कहिले राष्ट्रपति हुन्छु भन्छन् । विचरालाई कसैले पत्याइदिए पो ? उही आफैले आफैलाई पर्धानमन्तरी राष्ट्रपति घोषणा गरेको त हो । हुन त विचरा बुढा अभागी नै रै’छन् । जति उफ्रेनि भ्यागुता कान्ला मुनिको कान्ला मुनि भनेझैँ । पर्यासचाहिँ गरिरहन्छन् तर केही लछारपाटो लाग्ला जस्तो छैन ।
डाम्नीहरुले बर्बादै पारे
धरानमा साह«ै उल्का र उत्पात हुन थाल्या छ । धरानको खानेपानीको मुहान फुस्रे मास्तिर पुग्दा एकपटक सबैेले बलियोसँग नाक अँठ्याउनु पथ्र्यो, मुख ¥याप्प्प पारेर थुन्नुपथ्र्यो । तर पनि कुना कन्दाराबाट हावा छिर्दा ह्वास्सै आउँथ्यो । त्यस्तो उद्युमपुरी गन्हाउने चिज यस भन्दा अगाडिका मेयर, उपमेयरले पत्तो लगाउनै सकेनन् । तर स्वतन्त्रबाट नगरपालिकाको मेयरमा हर्क साम्पाङले जितेपछि त्यस्तो उद्युमपुरी गन्धको स्रोत पत्ता लगाएरै छाडे । धन्य छन साम्पाङ । अस्तिका दिन खानेपानकिो मुहान सफा गर्न गएकाहरुले मुहानबाट डाम्नीहरुले विषेश परिस्थितिमा लगाउने प्याड, ब्रा लगायत दुई बोरा संकलन भएछ । संकलन गर्दा संकलकहरुको नाक पड्किनबाट बालबाल बचेको थियो । संकलकहरुका मुख दोब्रिएर घरी दायाँ घरी बायाँ पुग्थ्यो । हैट डाम्नीहरुले धरानका पानी उपभोक्ताहरुलाई बर्बादै पा¥या रै’छन् ।
पन्तका हत्यारा वाल्वारा“ छन् रे
थांग्रेसका नेता शेखर दा’ले अस्तिका दिन कसैले पत्तो लगाउन नसक्ने कुरा पत्ता लगाइदिएका छन् । खुफिया, प्रहरी, प्रशासनले यतिका बर्षदेखि पत्ता लगाउन नसकेर हैरान भएका थिए । जेहोस दा’ले उनीहरुलाई आसान गर्दैका छन् । अब हेरम न कञ्चनपुरकी निर्मला पन्तको हत्यारा खोज्न प्रहरीले सानो पापड बेल्नु परेको थिएन । जनताको विरोधलाई थामथाम थुमथुम पार्न कहिले मगज बिग्रेकालाई हत्यारा हो भनेर पुलिसले अँठ्याउथ्यो कहिले मागी हिड्नेलाई अँठ्याएर हत्यारा प्रमानित गर्न खोज्थ्यो । असली हत्यारा लुकेको बसेको ठाम उनीहरुले पत्तो लगाउनै सक्या थिएनन् । असली हत्यारा वाल्वाटारमा बसेको सुइँको शेखर दा’ले पत्ता लगाइदिएछन् । मान्नैपर्छ दा’लाई ।
कागलाई बेल पाक्यो….
कागलाई बेल पाक्यो हर्ष न विमस्मात । न कागले बेलको गुँदी निकालेर खान सक्छ न अरुलाई बाँड्न सक्छ । नेपाली राजनीतिमा कुहेर दंगदंगती गन्काएका राप्रपा नेपालका स्वघोषित अध्येक्षे कमलाउले अस्तिका दिन भन्या अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्छ रे । प्रत्यक्षे गरे नि अप्रत्यक्षे गरे नि तिन्ले के पाउदा हुन् । वडा सदस्ये समेत जित्ने हैसियत नभएकाले प्रत्यक्षे प्रर्धानमन्तरी निर्वाचनको कुरा गरेर किन जग हँसाएका होलान् ?
जोइ बढारिएपछि अब पोइको..
नेपालको राजनीति पनि बडो विचित्रको छ । उलट फेर र चत्मकार भइरहन्छ । भर्खरै काठमाण्डौ महानगरपालिकामा महान गणेशमानका गठ्ठे पुत्र प्रकाशमानकी जोई नरामोसँग बढारिएकी छन् । बालेन्द्रले टाउकोमा टुटुल्को उठने गरी बजाएपछि भान्साबाट फाइँफुइँ गर्दै मेयर हुन कस्सिएकी थिइन् । फेरि भान्सातिरै छिरिछन् । जोई बढारिएपछि अब बढारिने पालो पोइको पक्का भएको छ । काठमाण्डौ क्षेत्र नं. १ बाट पुकार बम जस्ता युवाले स्वतन्त्र उमेद्वारी दिने घोषणा गरिसक्या छन् । कोभिडको बेला दैनिक खुल्ला मञ्चमा ५÷७ सयलाई निःशुल्क खाना खुवाउने, अकुपाई वाल्वाटार, इनफ इज इनफबाट जनताको मन जित्दै आएका बम उठ्ने भएपछि सिंह पनि जोइसँगै भान्सामा थन्किने पक्का भएको छ ।
अन्तेमा
हाम्रो समाजमा सुकुल गुण्डाहरुको फूर्तिफार्ती बढेको देख्दा घण्टाघरलाई हिजोआज उदेक लाग्न थाल्या छ । घरमा बेलुका उभिंएको बासीभात भुटेर खान लजाउने, भुटेको बासीभात खाँदा इज्जतै
नरहने भन्ठान्नेहरु रेष्टुराँमा गएर त्यी भुटीभातलाई फ्राइ राइस इटिङ भन्दै फेसबुकमा पोष्ट्याउछन् । भुटेको बासीभात खाएको टिकटक बनाउँछन् । गाँडमे न लत्ते चल कलकत्ते भन्या यही हो । भुटेको बासीभात रेष्टुराँमा खाँदा फ्राइ
राइस हुने घरमा खाँदा बासी भात हुने ? डाम्नाहरुको स्वाङ्ग र ढर्रा पनि सानो छैन, कि कसो हौ ?

तपाईको प्रतिक्रिया