धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेद्वार हर्क साम्पाङ निर्वाचित भएर आएपछि खानेपानी सुधारका लागि प्रयासहरु थालिएका छन् ।
नवनिर्वाचित मेयर समय समयमा आफै पम्पिङ साइडमा जाने, त्यहाको वस्तुस्थिति बुझ्ने, पानीको स्रोत जलाधार क्षेत्रमा जीर्ण रहेको खानेपानीको पाइप फेर्ने लगायतका गतिविधिलाई तिबता दिदै आउनुभएको छ । यसै क्रममा धरानको स्रोत मानिएको सर्दु जलाधार क्षेत्रमा जथाभावि फोहोर हुन थालेपछि त्यस क्षेत्रको सरसफाइसँगै नगरप्रहरी त्यस ठाउमा खटाइएको छ ।

धरान भेडेटार सडक खण्ड आपगाछी क्षेत्रमा खानेपानीको मुहानमा फोहोर हुने भएकोले सोमबारदेखि संयुक्त सुरक्षा टोली परिचालन गरी जलाधार क्षेत्रको संरक्षण थालिएको धरान नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताउनुभयो । उहाले आइतबार खानेपानी मुहान क्षेत्रमा फोहोर गरेको बताउदै सोमबारदेखि दैनिक २ सिफ्टमा तीन जना नगर प्रहरी र १ जना नेपाल प्रहरी रहने गरी ६ जनाको टोली परिचालन गरिएको बताउनुभयो ।
