धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्यका लागि सोमबार भएको निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष तथा सदस्यहरुबाटै डरलाग्दो अन्तरघात भएको छ ।
आठ सदस्यीय कार्यपालिका सदस्यको निर्वाचनमा पाँच जना निर्वाचित सदस्यबाट र तीनजना राजनैतिक दल निकट दलित, अल्पसंख्यकबाट निर्वाचित हुने व्यवस्था रहेको छ । वैसाख ३० गते भएको धरान उपमहानगरपालिकाको निर्वाचनमा मेयर, उपमेयर सहित १०२ जना सदस्य निर्वाचित भएकोेमा एमाले एक्लैको ५६ सदस्य रहेका छन् । गठबन्धनतर्फ नेपाली काँग्रसेको ३७, उपप्रमुखसहित माओवादी केन्द्रको ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक मत रहेको छ ।

निर्वाचन कार्यालय धरानले दिएको जानकारी अनुसार १०२ मत खसेकोमा आठै जना एमालेबाट निर्वाचित भएका छन् । जसमा एमालेकी देवीमाया विश्वकर्माले ५६, रविन गुरुङले ५५, विनिता बजनार्यले ५६, सावित्री परियार दर्जीले ५८, सिर्जना नेपालले ५४ मत ल्याई विजयी भएका थिए । यसैगरी दलित अल्पसंख्यकतर्फ एमालेका दिनेश गजमेरले ५२, अनुप देवानले ५१, प्रकाश भाटीले ५३ मत प्राप्त गरी विजयी भएका थिए । उता नेपाली काँग्रेसकी रहिसा कसजुले ४५, रीता सुन्दासले ४५, सुशिला कुमारी श्रेष्ठले ४६, शोभा विश्वकर्माले ४५, माओवादीकी शेषकुमारी घलेले ४७ मत प्राप्त गर्नुभएको थियो । दलित अल्पसंख्यकतर्फ नेपाली काँग्रेसका सर्वजित राई ४८, सन्तोष विक ४६ र प्रेमकुमार राईले ५० मत प्राप्त गर्नुभएको थियो ।
मत परिणामलाई लिएर यतिबेला एमालेभित्र खैलाबैला मच्चिएको छ । एमाले नगर कमिटीका एक सदस्यले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने एमालेकोे ५६ मत सबै सदस्यलाई आएन । यसमा स्थानीय नेतृत्व र कार्यकर्ता सजग हुनैपर्छ । यो एमाले भित्रको दश बुँदेवालाको करामत त हैन भन्ने सवालमा उनले कुनै प्रतिक्रिया जनाएनन् । एमालेभित्र यो बहसको विषय पक्कै हुन्छ, छानविन हुन्छ । उनले भने एमालेका सदस्यहरुको मत अन्य दललाई नजाओस भन्ने हेतुले जेष्ठ १४ गते ५६ जना सदस्यहरुलाई धनकुटाको हिलेमा पु¥याई दुई दिने प्रशिक्षणसमेत दिइएको थियो । तर पनि मत परिणामले आशंका गर्ने प्रसस्त ठाउँ दिएको छ, उनले भने ।
