धरान । धरानमा विगतको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिकोे सपथग्रहण भन्दा ०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहणमा पृथक रौनकता देखिएको थियो ।
०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले सपथगहण गराउदा राजनीतिक दलको प्रतिनिधिबाट निर्वाचित भएर आएका मेयरले उपमेर तथा वडाध्यक्ष, वडासदस्यलाई सपथग्रहण गराएका थिए तर यसपटक भने उपमहानगरपालिकाको प्रमुखको पद नै स्वतन्त्र उमेद्वारले जितेका कारण स्वतन्त्र उमेद्वारबाट जितेर आएका मेयरले अन्यलाई सपथग्रहणमा बेग्लै रौनकता देखिएको हो ।
वैसाख ३० गते सम्पन्न निर्वाचनबाट स्वतन्त्रबाट निर्वाचित भएका हर्क साम्पाङले जिल्ला निर्वाचन अधिकृत एवम् सुनसरी जिल्ला अदालत १ नं. न्यायाधिश कैलाश सुवेदीले इनरुवामा सपथग्रहण गराए लगतै उहाले धरानमा नवनिर्वाचित उपमेयरसँगै वडाअध्यक्ष तथा वडासदस्यलाई सपथग्रहण
गराउनुभएको थियो ।
धरान १२ निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न सपथग्रहणमा शुरुमा मेयर साम्पाङले नेकपा माओवादी केन्द्रबाट उमेद्वार बन्दै निर्वाचित बनेका आइन्द्रा विक्रम बेघालाई सफथग्रहण गराउनुभएको थियो ।त्यसपछि मेयर साम्पाङले वडाबाट निर्वाचित वडाध्यक्ष तथा वडासदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।

यसपटक धरानका बुद्धिजीवि, सर्वसाधारणले विगतका दलका प्रतिनिधि भन्दा पनि उपमहानगरपालिकालाई विकृति, विसगति, भ्रष्टाचार शून्य बनाउने अभियान बोक्दै धरानको दीर्घकालीन खानेपानी समस्या समाधानको परिकल्पना बोकेर आएका साम्पाङप्रति विश्वास बढी लिएका छन् । यसैले हुनुपर्छ सपथग्रहण कार्यक्रममा साहित्यकार, बुद्धिजीवि, राजनीतिक विश्लेषक प्रा.डा. टंक न्यौपाने खानेपानी समस्या समाधनको मुख्य एजेन्डा लिएर आउनु भएका साम्पाङसँग धरानेहरुले ठूलो अपेक्षा लिएको बताउनुभएको थियो । उहाले निवाचित भएर गएपनि सबै धरानका विकासका लागि काम गर्ने भएकोले अब यो दल, त्यो दल भनेर कित्ताकाट गर्नुभन्दा पनि सबैले मिलेर काम गर्न सुझाव दिनुभयो ।
सपथग्रहण भएपनि मेयर साम्पाङले भोलि मंगलबारबाट मात्र महानगरपालिकाको कार्यभार सम्हाल्नु हुनुभएको थियो भने उपमेयर बेघाले भने सोमबारैबाट उपमहानगरपालिकाको कार्यभार सम्हाल्नुभएको छ ।
सपथग्रहण कार्यक्रमा निर्वाचन अधिकृतको कार्यालयका अधिकृत पुष्करराज नेपाल, निर्वाचन अधिकृत कार्यालयका कर्मचारी, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि लगायतको सहभागितामा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । धरानमा सम्पन्न निर्वाचनबाट पहिलो पटक स्वतन्त्र उमेद्वार हर्क साम्पाङ मेयरमा निर्वाचित हुनुभएको छ भने उपमेयरमा गठबन्धनका तर्फबाट उमेद्वार बन्नुभएको माआवादी केन्द्रका आइन्द्रविक्रम बेघा निर्वाचित हुनु भएको छ । यसैगरी २० वडा रहेको धरानमा १० वडा नेकपा एमालेले, ७ वडा नेपाली काँग्रेस, एक वडा स्वतन्त्र, एक वडा राप्रपा र एक वडा माओवादी केन्द्रले जित हात पारेको छ । दलका प्रतिनिधि र स्वतन्त्र उमेद्वारबीचको तालमेल गरेर धरानको विकासमा काम गर्न जनप्रतिनिधिहरुलाई चुनौति थपिएको छ ।
