धरान । नेपाल रेडक्रस सोसाइटी सुनसरीले आकस्मिक एक हप्ते रक्तदान कार्यक्रम शुरु गरेको छ ।
निर्वाचन भएका कारण विभिन्न राजनैतिक दल तथा सामाजिक सघसंस्थाहरु परोक्ष तथा अपरोक्षरुपमा निर्वाचनमा होमिदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगतको चरम अभाव भएको छ ।
नेपाल रेडसक्रस सोसाइटी सुनसरी धरानका शाखा अधिकृत किरण कार्कीका अनुसार प्रतिष्ठानको रक्त सञ्चार केन्द्रमा रगतको चरम अभाव भएपछि धरान शाखाले नेपाल रेडक्रस सोसाइटीका अन्य जिल्ला शाखाहरुसँग पनि रगतका लागि सहयोग मागेको छ । यसै क्रममा संखुवासभाको इसाई समाजबाट ४८ पिन्ट, दमक रक्त संञ्चार सेवाबाट ६० पिन्ट सहयोग प्राप्त भएको छ ।

यतिबेला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको अत्याधिक चाप बढेको छ । गर्मी सिजनसँगै प्रतिष्ठानमा विरामीको चाप बढ्नु स्वभाविक हो तर रगत अभावका कारण मुटुका रोगी, सुत्केरी महिला, नियमित डाइलासिस गर्नुपर्ने विरामी प्रभावित भएपछि नेपाल रेडक्रस सोसाइटीले आकस्मिक रक्तदान अधियान सञ्चालन गरेको हो । शाखा अधिकृत कार्कीले भन्नुभयो आकस्मिक रक्तदान अभियान सात दिनसम्म नियमित सञ्चालन गछौं । पहिलो दिन धरानको छाताचौकबाट शुरु अभियानबाट ३२ पिन्ट रगत संकलन भएको कार्कीले जानकारी दिनुभयो ।
