धरान । वैसाख ३० गते हुने सुनसरीका १२ वटा स्थानीय निकायको निर्वाचनमा सत्ता गठबन्धन दलबीच तालमेल हुने भएपछि नेपाली काँग्रेस सुनसरीका कार्यकर्ताहरुमा व्यापक असन्तुष्टि छाएको छ ।
पाँच बर्ष अगाडि भएको स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसले सुनसरीका ६ वटा पालिकामध्ये ३ र ६ गाउँपालिकामध्ये पाँचमा आफ्नो वर्चश्व कायम गरेको थियो । तर गठबन्धनका नाममा आफूहरुले वर्चस्व जमाएका स्थानीय निकायहरुमा दाबी छोड्नपर्ने अवस्था आउन लागेपछि काँग्रेसका कार्यकर्ताहरु रुष्ट मात्र बनेका छैनन् नेतृत्वप्रति आक्रोसित समेत भएका छन् ।
स्थानीय निकायको निर्वाचन आउन अब ३७ दिन मात्र बाँकी छ । विस्तारै निर्वाचनको सरगर्मी बढन थालेको छ । सत्ता गठबन्धन दलले मात्र होइन एमाले र पछिल्लो पटक जन उभार देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राजेन्द्र लिंगदेन) का कार्यकर्ताहरुले पनि आफनो दाबी प्रस्तुत गर्न थालेका छन् । सुनसरीका अधिकांश स्थानीय निकायहरुमा वर्तमान नेतृत्वले नै पुन ः दोहोरिने चाहना व्यक्त गरेका छन् । सुनसरीमा यसपटक पनि वितगमा जस्तै नेपाली काँग्रेस र एमाले मुख्य प्रतिष्पर्धीका रुपमा देखिएका छन् ।






सुनसरीमा धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, इनरुवा नगरपालिका, दुहवी नगरपालिका, बराहक्षेत्र नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगरा गाउँपालिका, कोशी गाउँपालिका र भोक्राहा नरिसिंह गाउँपालिका रहेका छन् । धरान उपमहानगरपालिकामा किशोर राई, उमेश थापा, सुजेन्द्र तामाङ र २०७६ को उपनिर्वाचनबाट नेतृत्वमा आएका तिलक राईले प्रमुखको दाबी गरिरहेका छन् । धरानमा २० वटै वडामा वडाध्यक्षको आकांक्षीहरु समेत बढेका छन । पाँच बर्षको अवधिमा नेपाली काँग्रेसले धरानमा मजबुत संगठन बनाएकोले पनि वडाध्यक्षका आकांक्षीहरु बढेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङ्गले बताउनुभयो । हिजो मंगलबार २२ गतेसम्म वडाध्यक्ष र सदस्यको आकाांक्षीहरुको नाम बुझाउन पत्राचार गरिसकेको र सम्भवत आज २३ गते बुधबार सम्ममा नगर समितिमा सबै नाम आउलान् । त्यसपछि प्राप्त भएका नामहरु नगरले प्रदेश समिति र प्रदेश समितिले क्षेत्रीय समितिलाई उपलब्ध गराएपछि वडाका उमेद्वारहरुको टुंगो लाग्छ क्षेत्रीय सभापति तामाङ्गले भन्नुभयो ।
क्षेत्रीय सभापति तामाङ्गले थप्नुभयो गठबन्धनका कारण पनि ढिलो भइरहेको छ । कतिपय वडाले नाम पठाइसकेपछि साथीहरु व्याक हुन नमान्नु होला कि भनेर सहमतिको प्रयास गरेर पठाउन भनेका छौं । धरानमा गठबन्धनको सम्भावना कत्तिको छ भन्ने सवालमा उहाँले भन्नुभयो त्यो यहाँ पनि छ । केन्द्रले मेयर छोड उपमेयर लिइ भन्यो भने तपाईहरु के गर्नुहुन्छ भन्ने सवालमा तामाङ्गले भन्नुभयो केन्द्रले त्यसो भन्दैन होला । गठबन्धनको बैठकमा पनि मेयर काँग्रेसलाई, उपमेर माओवादीलाई भन्ने सहमति भएको छ । स्थानीय स्तरमै त्यस्तो समझदारी बनेको छ । वडाहरुको हकमा छलफल भइरहेको छ । यसभन्दा अगाडि धरानमा माओवादीले एउटा मात्र वडा जितेको थियो । विगतमा जितेको वडा आफूसँग राखेर अन्य वडामा सेयरिङ्ग गर्ने कुरा भएको छ । गठबन्धनले नेपाली काँग्रेसलाई घाटा हुँदैन भन्ने सवालमा क्षेत्रीय सभापति तामाङ्ग भन्नुभयो यहाँ देशको आवश्यकताले गठबन्धन हुन लागेको होइन नेताहरुको इन्ट्रेशले भइरहेको छ । हामीले जनतासँग जाँदा राष्ट्रिय आवश्यकता हो भन्नैप¥यो ।
उता धरान उपमहानगरपालिकामा एमालेबाट संघीय सांसद जयकुमार राई, वर्तमान उपमेयर मञ्जु भण्डारी, नारायण सुवेदी, प्रकाश राई, स्वतन्त्र उमेद्वार हर्क साम्पाङ्गको नाम समेत चर्चामा रहेको छ ।
इटहरी उपमहानगरपालिकामा एउटा समूहले ठकेदार एवम् व्यवसायी भीम पौड्याललाई टिकट दिलाउन बोकेर हिडेका थिए । तर निर्वाचत आयोगकको आचारसंहिताले ठेक्कापट्टामा संलग्न व्यक्ति उमेद्वार बन्न नपाउने निर्णय गरेपछि पौड्यालको सम्भावना टरेको छ । इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट हालसम्म सशक्त देखिनु भएका नगर सभापति हेमकर्ण पौड्यालको सम्भावना बढेर गएको
छ । पौड्यालले उमेद्वारी पाएमा अत्याधिक वहुमतले जित्ने विपक्षीहरुको आंकलन छ । त्यसैले पौड्याललाई रोक्न विपक्षीहरु नै यतिबेला कँग्रेसका कमजोर उमेद्वारको नाम चर्चामा ल्याउन उद्धत देखिएका
छन् । एमालेबाट वर्तमान मेयर द्वारिका लाल चौधरी नै दोहोरिने मनसायमा हुनुहुन्छ । उता इनरुवा नगरपालिमा नेपाली काँग्रेसका जिल्ला सभापति केदार भण्डारीको सम्भवना अन्यको भन्दा प्रवल देखिएको छ । यद्यपि वर्तमान मेयर राजन मेहता, सञ्जय श्रेष्ठ, योगेन्द्रप्रसाद मेहता, एमालेबाट मनोज मेहता, पोष्टकुमर नेपाल, इन्द्र पोख्रेल, रामप्रसाद मेहता, जसपाबाट दिलिपचन्द साह देखिएका छन् भने माओवादीबाट र अन्य दलबाट कसैले हालम्म दाबी गरेका छैनन् ।
उता बराहक्षेत्र नगरपालिकामा एमालेबाट वर्तमान मेयर निलम खनाल, काँग्रेसबाट बाबुराम विस्ट, कालुराम चौधरी, दिपेशजंग बस्नेत, रमेश कार्की लगायत देखिएका छन् । रामधुनी नगरपालिकाका वर्तमान मेयर जयप्रकाश चौधरी, सुदिप अधिकारी, बद्रीनारायण चौधरी, सगेन चौधरी नेपाली काँग्रेसबाट मेयरका आकांक्षी देखिएका छन् । दुहवी नगरपालिकामा वर्तमान मेयर वेदनारायण चौधरीले दोहोरिने इच्छा देखाउनु भएको छ । काँग्रेसकै कुमार थापा, प्रदीप चौधरीको नाम समेत चर्चामा रहेको छ भने अन्य दलबाट हालसम्म कसैको नाम चर्चामा रहेको छैन ।
