दमक भ्यू टावरको १३ तला ढलान

दमक । चिनियाँ निर्माण कम्पनी जेडसिजीआइस्सी र ललितपुर महानगरपालिका वडा नं. १५ स्थित ओमसाईराम निर्माण कम्पनीको ज्वाइन्ट भेन्चरमा झापाको दमकमा बन्दै गरेको १८ तले दमक भ्यूटावरको १३ तला ढलान पूरा भएको छ ।


एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तीन बर्ष अगाडि उक्त भ्यूटावरको शिलान्यास गरेका थिए । कुल १ अर्ब ५६ करोड १४ लाख २९ हजार १ सय ६४ रुपैयाको लागतमा भ्यूटावर निर्माण सम्पन्न हुने भएको हो । दमक नगरपालिका वडा नं. ३ कृष्ण मन्दिर चौक उत्तर आँपगाछीमा भ्यूटावरको काम यतिबेला तिब्र रुपमा भइरहेको छ । भ्यूटावर निर्माण अनुगमन समितिका संयोजक सल्जर विडारीका अनुसार भ्यूटावरमा नेपाली मजदुरका अलवा चिनियाँ मजदुर, प्राविधिकहरुले पनि काम गरिरहेका छन् ।
एक सय मिटर उचाइको उक्त भ्यूटावर ७२ मिटर अर्थात १८ तला कंक्रिट ढलान र २८ मिटर स्टिलको रहने भएको छ । नेपालकै सबैभन्दा ठूलो दमक भ्यू टावरको काम अब एक बर्षभित्रमा सम्पन्न हुने संयोजक विडारीले बताउनुभयो । भ्यूटावर ५ विघा क्षेत्रफलमा फैलिएको छ । जसमा पार्किङ स्थल, फाउन्डेशन पार्क, वाल उद्यान, सोभेनियर दोकान, ओपन एयर थिएटर, बगैँचा रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया