प्रधानमन्त्री देउवाको भारत भ्रमण द्विदेशको आपसी सम्बन्ध थप मजबुत

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ कार्यकालको पहिलो भारत भ्रमण सम्पन्न गरेका छन् । तीनदिने भारत भ्रमणमा अत्यन्तै व्यस्त कार्यतालिका रहेको थियो । देउवाको भारत भ्रम्रणले नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत बनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको आतिथ्यपूर्ण निमन्त्रणमा भएको प्रधानमन्त्री देउवाको भ्रमण र भेटघाटपश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ भारत र नेपालको सम्बन्ध अतुलनीय छ । हाम्रा नागरिकहरु बीचको सम्बन्ध जुन प्रकारको छ त्यो विश्वमा अन्यत्र कहीँ पनि पाउन सकिदँैन । हाम्रा सभ्यता, हाम्रा सँस्कृति सहयोग र सद्भाव आदानप्रदानको धागो प्राचीनकालदेखि नै जोडिएको छ । अनादीकालदेखि हामी एक अर्काका दुःख सुखमा साथी रहँदै आएका छौं । प्रधानमन्त्री मोदीका यी उदगारहरुले दुइ देशबीचको आपसी सम्बन्ध अटुट र मजबुत रहेको प्रष्ट पार्छ ।
बीच बीचमा नेपाल र भारतबीचको सम्बन्धमा खेल्नेहरुको पनि यहाँ कमी छैन । उग्र वाम भड्काउ र उग्र राष्ट्रवादको नारा लगाउनेहरुले दुई देशबीचको सम्बन्धमा भाँजो हाल्ने प्रयास हिजो पनि गरेका थिए आज पनि गरिरहेका छन् । कहिले उनीहरु चिनियाँ कार्ड प्रयोग गर्छन् त कहिले कुन कार्ड प्रयोग गर्छन् । हाल सरकारको गठबन्धनमै रहेकाहरुले यस्ता द्वैध चरित्र प्रदर्शन गरेको कसैबाट लुक्न सकेको छैन । एमसिसी अनुदान सम्झौता संसदबाट पास गराउँदा पनि तिनीहरुले द्वैध चरित्र देखाएकै हुन् । अमुक चिनियाँहरुको दबाबमा एमसिसी पास गर्न उनीहरुले त्यस्तो चरित्र देखाएको जगजाहेरै छ । अमुक चिनियाँहरुको दबाब झेल्न उनीहरुलाई निकै सकस परेको थियो । तर गठन्धनको नेतृत्व गरेको दलको अडानका कारण उनीहरुले कथित विश्लेषणात्मक टिप्पणीको आडमा त्यसलाई संसदबाट पास गरेका थिए ।
स्वभाविक रुपमा भारत नेपालको सबैभन्दा असल मित्र हो । मित्रताको धेरै कारणहरु छन् । यसमध्ये सबैभन्दा महत्वपूर्ण कारण भनेको धार्मिक सहिष्णुता र धार्मिक एकतालाई मान्नुपर्छ । दुवै देशका नागरिकहरुबीचको आपसी भाइचाराको सम्बन्ध, रिति थिति, रहनसहन, परम्पराजस्ता कारणले यो सम्बन्ध अनाधीकालदेखि कायम रहँदै आएको छ । भारतले नेपालको विकासमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नेपालका सडक सञ्जाल, विद्युत, सिँचाई, विद्यालय भवन, अस्पताल निर्माण, मेडिकल कलेज निर्माण, खानेपानी लगायतका पूर्वाधार निर्माणमा सहयोग पु¥याउँदै आएको छ । समग्रमा भन्नुपर्दा भारत नेपालको सबैभन्दा ठूलो दातृ निकाय हो ।
भर्खरै भएको प्रधानमन्त्री देउवाको भ्रमणको सन्दर्भलाई लिएर केही कथित राष्ट्रवादीहरुले अनर्गल दुस्प्रचार नगरेका भने होइनन् । प्रधानमन्त्री देउवा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी
(भाजपा) को मुख्यालयमा गएकोप्रति ती कथित राष्ट्रवादीहरुको कडा टिप्पणी थियो । देशको प्रधानमन्त्री एउटा दलको कार्यालय जानु निन्दनीय रहेको तिनको ठहर थियो । ती कथित राष्ट्रवादी चिनियाँ कम्युनिस्ट पार्टीसँग भर्चुअल संवाद गर्छन्, चिनिया कम्युनिस्ट पार्टीप्रति नतमस्तक हुन्छन् । तर भारतीय जनता पार्टीको कार्यालयमा प्रधानमन्त्री पुग्दा ती क्षुद्र वाण प्रयोग गर्छन् । ती कथित राष्ट्रवादीहरुको दिनचर्या यसैगरी वित्दै आएको छ । यस पटक भएको प्रधानन्त्री देउवाको भ्रमणले आपसी सद्भावको थप बछि भएको छ । भ्रमणकै क्रममा विद्युत, स्वास्थ्य केन्द्र, सीमा पार रेल सञ्चालनमा महत्वपूर्ण कामहरु भएका छन् ।

तपाईको प्रतिक्रिया