संखुवासभा । नेपालको उत्तरी छिमेकी चीनको स्वासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको किमाथांका–जोगबनी सडकको ट्रयाक खोल्न अब ११ किमीमात्र बाँकी रहकेोको छ ।
भारत र चीन जोड्ने सबैभन्दा कम दूरीको सामरिक दृष्टिले समेत अत्यन्तै महत्वपूर्ण मनिएको संखुवासभा जिल्लाको सदरमुकम खाँदबारीबाट किमाथांका सम्मको दूरी १६२ किमी रहेको छ । यो सडकको ट्रयाक खोल्ने काम सन २०११ देखि नै शुरु भए पनि विगतका बर्षहरुमा कामले सोचे अनुसारको गति लिन विविध कारणले सकेको थिएन । हाल भने सडकको ट्रयाक खोल्ने कामले गति लिएको
उत्तर–दक्षिण (कोशी) सडक आयोजना कार्यालयले जनाएको छ ।

नेपाल भारत सीमानाका मोरङको जोगबनीबाट किमाथांकासम्मको दूरी ३९३ किमी मात्र रहेको छ । सडकको ट्रयाक खोल्न बाँकी रहेको च्याम्ताङ घोङगोप्पा सडक खण्डको ११ किमी ट्रयाक खुलेपछि किमाथांका सडक सञ्जालले जोडिने छ । उत्तर–दक्षिण (कोशी) सडक आयोजनाका इन्जिनियर दिपेश रजकका अनुसार यो सडक खण्डमा असाध्यै कडा चट्टाने भीर रहेको छ । अन्यत्रबाट सडक वाइपास गरेर लैजाने अवस्था पनि छैन । उहाँले भन्नुभयो हाल सडकको काम विभिन्न प्याकेजमा अगाडि बढाएका छौं । सडकको तीन खण्डमध्ये पहिलो खण्ड किमाथांकाबाट नेपालतर्फको सडक चीनबाट स्काभेटर, डोजर इन्धन, चिनियाँ प्राविधिक, चिनियाँ मजदुरको सहयोगमा १४ किमी सडकको ट्रयाक ५ बर्ष अगाडि नै खुलेको हो । घोङगोप्पामा आएर काम अगाडि बढ्न सकेन । काम त्यही रोकियो । इन्जिनियर रजक भन्नुहुन्छ हालसम्म यो सडकमा ४ अर्ब रुपैयाँ खर्च भइसकेको छ । भोटखोला गाउँपालिका अन्तर्गत रहेको च्याम्ताङ्ग–घोङगोप्पा सडकको एक बर्ष अगाडि ट्रयाक खोल्न १४ किमी बाँकी थियो । तीन बर्ष अगाडि यो सडकको ट्रयाक खाल्ने काम नेपाल सरकारले मन्त्री परिषद्बाटै निर्णय गरेर नेपाली सेनालाई दिएइको थियो । तर विश्वव्यापी कोरोना कहर र अर्कोतर्फ विस्फोटक पदार्थको जोहो गर्नुपर्ने चुनाँैति नेपाली सेनालाई थियो । तर एक बर्ष यता नेपाली सेनाले ब्लास्टिङ गर्दै ट्रयाक खोल्ने कामलाई गति दिएको छ । नेपाली सेनाले १४ किमी मध्ये तीन किमी सडकको ट्रयाक खोलिसकेको इन्जिनियर रजकले बताउनुभयो । संखुवासभाको सदरमुकाम खाँदबारीबाट अगाडि १३७ किमी सडकको ट्रयाक खुलिसकेको छ । हाल १३४ किमी सडकमा सवारी साधनहरु चल्न थालेका छन् । ट्रयाक खुलेसँगै सडकको स्तरोन्नति गर्ने, नाला बनाउने, ग्राभेलिङ्ग गर्ने र कालोपत्रे गर्ने काम समेत एकैसाथ अगाडि बढेको इन्जिनियर रजकले बताउनुभयो । खाँदबारीबाट नुम सम्मको २९ किमी सडक कालोपत्रेको प्रक्रिया अगाडि बढेको छ । नुमबाट अगाडि १० किमी कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइएको छ । यो सडक चीनको बीआरआई अन्तर्गत बन्न लागेको हो ।
