एक बर्षभित्रमा तीन तहको निर्वाचन हुँदैछ । प्रजातन्त्रका लागि निर्वाचन मेरुदण्ड हो । जनताले दलको मूल्यांकन गर्ने पद्धति पनि हो । निर्वाचनमा विना प्रजातन्त्रको अस्तित्व रहँदैन । दलको लोकप्रियता मापन गर्ने कसी पनि हो निर्वाचन । आगामी वैसाख ३० गते मुलुकैभरि एकसाथ स्थानीय तहको निर्वचन हुँदैछ । निर्वाचन आयोगले आफ्नो सम्पूर्ण तयारीलाई तिब्र्रढंगले अगाडि बढाएको छ । निर्वाचन अधिकृत तोक्ने, मतपत्र छपाई गर्ने, सुरक्षा चुस्तताका लागि म्यादी प्रहरी नियुक्ति गर्ने, उमेद्वारले गर्ने खर्चको सीमा निर्धारण गर्ने ,आचारसंहिता लागू गर्ने, मतदाता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने आदि काम निर्वाचन आयोगले गर्दै आएको छ ।
स्थानीय निर्वाचनमा ७९ वटा दलले भाग लिने गरी निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । यी सबै दलहरु निर्वाचनमा नजालान् त्यो भिन्न कुरा हो । स्थानीय तहको निर्वाचनले त्यस पछिको संघीय र प्रदेश निर्वाचनमा कुन दलले वहुमत ल्याएर सरकार बनाउँछ भन्ने मोटामोटी रुपरेखा तयार गर्छ । त्यसैले अदालतको परमादेशबाट बनेको वर्तमान सत्ता गठबन्धन स्थानीय निर्वाचनबाट झस्किएको छ । नेपालको ऐतिहासिक पार्टी, बर्षौसम्म प्रजातन्त्र स्थापनाका लागि संघर्षको नेतृत्व गरेको नेपाली काँग्रेसले आफ्ना तमाम कार्यकर्ताहरुलाई निर्दलीय बनाउन खोज्दैछ । खासगरी नेपाली काँग्रेसको वर्तमान नेतृत्व पृष्ठभूमि विचार, आदर्श, मूल्य, मान्यता विपरीतका दलहरुसँग निर्वाचनको तालमेलमा लागेको छ ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाको तालमेल मोह रहस्यपूर्ण छ । यसले मुुकभरिका नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई निराश बनाउँदै लगेको छ । नेपाली काँग्रेसको उद्देश्य सत्ता प्राप्ति मात्र होइन । तर वर्तमान पार्टी सभापति सत्तामोहकै कारण विपरीत धु्रवमा रहेका माओवादी केन्द्र र देशको कुनै पनि नगर तथा गाउँमा दुई सय मतदातासम्म नभएका नेपाल कम्युनिस्ट पार्टी एससँग तालमेलका लागि आफ्नै नेता कार्यकर्ताको हुर्मत लिन थालेका छन् । आफ्नैलाई चिढ्याएर पराइसँग तालमेल गर्दा के त्यसबाट सकारातमक परिणाम आउँछ ? नेपालका ७७ वटै जिल्लाका जिल्ला सभापति, सातै प्रदेशका प्रदेश सभापति, केन्द्रीय पदाधिकारीहरु निर्वाचनमा काँग्रेस एक्लै जानुपर्छ भन्ने मान्यतामा रहेका छन् । गाउँ स्तर, पालिका स्तरमा स्वतन्त्र मतदाताहरु पनि काँग्रेसले एक्लै निर्वाचन लड्नुपर्ने मान्यतामा रहेका छन् ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई एउटा कुराको ज्ञान नभएकै मान्नुपर्छ प्रजातन्त्र प्रतिष्पर्धा हो तालमेल होइन भन्ने कुरा । उनलाई यो कुरा अलिकति पनि हेक्का भए आम कार्यकर्ताको भावनाको कदर गर्ने थिए । सत्तामा उक्लिन साथ दियो भन्दैमा माओवादी र एससँग तालमेल गर्नुको तुक रहँदैन । जीवनभरि कँग्रेस भएर बाँचेका प्रारम्भदेखि नै काँग्रेसको चुनाव चिन्हमा मतदान गर्दै आएकाहरु मतदान बहिष्कार गर्ने तयार हुन्छन् तर यतिबेला काँगेसको मूल नेतृत्व नै अरुलाई मतदान गर्ने वातावरण बनाउँदैछन् । यसलाई मूल नेतृत्व पार्टीप्रतिको गद्धारी मान्ने किन नमान्ने ? अझै समय घर्मिसकेको छैन । काँग्रेस एक्लै निर्वाचनमा जानुपर्छ आफ्नो ल्याकत अजमाउनुपर्छ । निर्वाचनमा जानु अगावै खुट्टा कमाउने हो भने त्यस्तो बेकामे नेतृत्वले मार्ग प्रसस्त गरेकै जाति ।
