इटहरीमा वम विस्फोटमा दुई घाइते : ताप्लेजुङमा विस्फोट गराउने दुई प्रक्राउ

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. २ मा सोमबार राति वम विस्फोट हुँदा २ जना सर्वसाधारण घाइते भएका छन् । इहरीको जनजागृत टोलमा रातको साढे १० बजे बम विस्फोट भएको थियो । विस्फोटमा परी २२ बर्षीय रविन थापा र २३ बर्षिय शेरजंग गुरुङ्ग घाइते भएका थिए । उनीहरु दुवैको केही समय देखि वहालमा बस्दै आएका थिए । हाल थापाको विराटनगर र गुरुङ्गको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । वम कसले र के प्रयोजनका लागि पड्काएको हो भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय सुनरीले जनाएको छ । विस्फोट भएको बम सुतली बम भएको प्रहरीले जनाएको छ ।


विस्फोट स्थलमा हिमालय  सुरक्षा परिषद् नेपालको पर्चा समेत फेला परेको छ । दुई हप्ता अगाडि परिषद्को केन्द्रीय समितिले सशस्त्र युद्धको घोषणा गरेको विज्ञप्ती प्रकाशित गरेको थियो । मुलुकमा व्याप्त भ्रष्टाचार, अराजकता, दण्डहीनता, वेथितिका विरुद्धमा भन्दै परिषद्ले सशस्त्र अन्दोलनको विकल्प नरहेको विज्ञप्तीमार्फत जनाएको थियो । प्रहरीले भने विस्फोटमा पर्नेमध्येकै एकले बम ल्याएको हुन सक्ने आशंका गरेको छ । स्थानीय निकायको आवाधिक निर्वाचन आउन अब ४४ दिन बाँकी रहेको छ । निर्वाचनलाई विथोल्ने उद्देश्यले पनि विस्फोटनको घट्ना शुरु गराएको हुनसक्ने जागृति टोलका स्थानीयहरु बताउँछन् ।
यसैबीच ताप्लेजुङ फुङ्लिङ नगरपालिका–३ मेदिवुङमा विष्फोटक पदार्थ (ह्याण्ड ग्रिनेड) सहित दुइजनालाई ताप्लेजुङ प्रहरीले नियन्त्रणमा लिएको छ । आईतबार दिउँसो बम (ह्याण्ड ग्रिनेड) देखाएर स्थानीयलाई धम्काउँदै हिँड्ने दुईजनालाई पक्राउ गरिएको प्रहरी निरिक्षक राकेश यादवले जानकारी दिनुभयो । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–३ का चन्द्र मादेन र मिक्वाखोला गाउँपालिका–४ का सञ्जय लिम्बू रहेका छन् ।
उनीहरुले सडक निर्माण गरिरहेका कामदार र ठेकेदारलाई बम पड्काएर उडाईदिने धम्की दिएको ठेकेदार प्रकाश लिम्बूले जानकारी दिए । पक्राउ परेका दुबैजना सोही निर्माण कम्पनीमा कार्यरत थिए । बम देखाएर धम्की दिएको ठेकेदारले जानकारी गराएपछि नेपाली सेनाका सेनानी उमेश श्रेष्ठ, ससस्त्र प्रहरीका प्रहरी उपरिक्षक रोशन बुढाथोकी र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरिक्षक राकेश यादवको टोली पुगेको थियो । बरामद गरिएको बम ह्याण्ड ग्रिनेड भएको र हाललाई खतरामुक्त रहेको प्रहरी निरिक्षक यादवले बताउनुभयो । सो बमलाई अदालतबाट स्विकृती लिएर डिस्पोज गरिएको उहाले जानकारी दिनुभयो । यस विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया