प्राज्ञ एवम साहित्यकार तुलसी भट्टराई मनिराज जोशी साहित्य पुरस्कारबाट पुरस्कृत हुँदै

धरान । प्रदेश नं. १ को झापा दमक निवासी बरिष्ठ साहित्यकार एवम् लेखक डा. तुलसी भट्टराई एक लाख राशीको मनिराज जोशी साहित्य पुरस्कारबाट पुरस्कृत हुनु हुने भएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा अथक योगदान पु¥याउनु भएका नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइराला र कृष्णप्रसाद भट्टराईसँग निकट रही काम गर्नुभएका डा. भट्टराई उक्त पुरस्कारबाट पुरस्कृत हुने चौथो व्यक्ति हुनुुहुन्छ ।


कैलालीका बरिष्ठ साहित्यकार स्व. मनिराज जोशीको नाममा स्थापित उक्त पुरस्काबाट हालसम्म पूर्व प्रधानमन्त्री एवम् कथाकार लोकेन्द्रबहादुर चन्द, स्व. माधवप्रसाद घिमिरे र विराटनगरका बरिष्ठ साहित्यकार दधिराज सुवेदी पुरस्कृत भइसक्नु भएको छ । वि.सं. २०७३ सालमा उक्त पुरस्कार स्थापना गरिएको थियो । नेपाली साहित्य तथा सँस्कृति प्रतिष्ठान गोदावारी कैलालीले हरेक बर्ष प्रदान गर्ने उक्त पुरस्कार यस भन्दा अगाडि नै प्रदान गर्नुपर्ने भएपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड संक्रमणका कारण केही ढिलो भएको प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले आइतबार धरान साप्ताहिकलाई जानकारी दिनुभयो । डा. भट्टराईलाइ प्रदान गरिन लागिएको उक्त पुरस्कार २०७७ कै भएको पनि उहाँले बताउनुभयो ।
नेपाली साहित्य क्षेत्रमा चार दशक भन्दा लामो समयदेखि समर्पित डा. तुलसी भट्टराईका कविता कथा, उपन्यास, समालोचना,संस्मरण गरी झण्डै डेढ दर्जन कृतिहरु प्रकाशित भएका छन् । उहाँ साझा प्रकाशन, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष समेत रही काम गर्नुभएको थियो । यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव नेपाली लेखक संघका पूर्व अध्यक्षसमेत रहनु भएका भट्टराइले पछिल्ला केही दशकदेखि काठमाण्डौलाई कर्मक्षेत्र बनाउँदै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया