भारत–चीन जोड्ने किमाथांका–रानी विराटनगर सडकको ट्रयाक खुल्न अब १०.५ किमी बाँकी संखुवासभाको खाँदबारीबाट किमाथांकासम्मको १६२ किमी मध्ये १५१.५ किमी ट्रयाक खुल्यो

धरान । भारत र चीनको स्वाशासित क्षेत्रसँग जोडिएको नेपालको उत्तरी सीमा नाका किमाथांकासम्मको सडकको ट्रयाक खुल्न अब १०.५ किमीमात्र बाँकी रहेको छ ।
कोशी राजमार्ग अन्तर्गतको खाँदबारी किमाथांका १६२ किमी मध्ये १०.५ किमी सडकको ट्रयाक खुलेपछि दुई देश जोड्ने यो सडक सबैभन्दा कम दूरीको हुने भएको छ । हाल सडकको ट्रयाक खुलिसकेको स्थानमा सडक स्तरोन्नति गर्ने, नाला बनाउने, वाल लगाउने काम भइरहेको उत्तर दक्षिण (कोशी) सडक आयोजनाले जनाएको छ ।


सामरिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मनिएको यो सडकको च्याम्ताङ्गदेखि घोङ्गगोप्पासम्म १०.५ किमीमात्र ट्रयाक खुल्न बाँकी रहेको आयोजनाका सविन घिमिरेले बताएका छन् । यस भन्दा अगाडि उक्त स्थानमा १४ किमी सडकको ट्रयाक खुल्न बाँकी थियो । हाल धमाधम काम हुन थालेपछि तोकिएकै समयमा ट्रयाक खुल्ने घिमिरेको कथन छ ।
च्याम्ताङ्गदेखि घोङ्गगोप्पाबीचमा अत्यन्तै कडा चट्टाने भीर भएकोले सडकको ट्रयाक खोल्ने काम सहज भने छैन । उक्त स्थानमा ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाको विकास निर्माण गणलाई दिइएको छ । विगतमा नेपाली सेनालाई जिम्मा दिए पनि विविध कारणले सडकको ट्रयाक खोल्ने काम अगाडि बढ्न सकेन । यसको प्रमुख कारण विश्वव्यापी रुपमा फैलिएको कोरोना सक्रमण रहेको थियो । स्थानीय सञ्चारकर्मी संगम विस्टका अनसार हाल ट्रयाक खोल्ने काम नेपाली सेनाले निरन्तर गरिरहेको छ । नेपाली सेनाले काम थालेपछि कोरोना संक्रमणका कारण एकजना जवानको मृत्यु भएको र अन्य जवानहरु समेत संक्रमित भएपछि काम रोकिएको थियो । पछिल्लो पटक संक्रमणको दर घट्दै गएपछि ट्रयाक खोल्ने कामले गति लिएको हो । नेपाली सेनाको विकास निर्माण गणले उक्त सडकको ट्रयाक खोलने काम गत बर्ष फागुन १४ गतेदेखि थालेको थियो ।
नेपाली सेनाले ट्रयाक खोल्नका लागि आवश्यक विस्फोटक पदार्थको भण्डारण गरेपछि मात्र काम अगाडि बढााइएको हो । नेपाली सेनालाई उक्त सडकको ट्रयाक खोल्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७६ भदौ २२ गते मन्त्रिपरिषद्ले निर्णय गरेर जिम्मा दिएको थियो । सोही निर्णय अनुसार हाल नेपाली सेनाले काम अगाडि बढाइरहेको छ । सरकारले खाँदबारी किमाथांका सडकलाई लाइफलाइनको रुपमा लिएको छ । यतिबेला खाँदबारीबाट बरुण दोभानसम्म सवारी साधनहरु चल्न थालेका छन् । खाँबारीबाट वरुण दोभानसम्मको दूरी ८० किमी रहेको छ । खाँदबारीबाट नुम बजारसम्मको ३९ किमी सडकको स्तरोन्नतिको काम सम्पन्न भएपछि हाल उक्त सडकको कालोपत्रे गर्ने काम शुरु भएको छ । उक्त सडक हेर्दै आएको उत्तर दक्षिण सडक आयोजना तुम्लिङटारका अुनसार ३९ किमी उक्त सडक कालोपत्रे गर्नका लागि तीन खण्डमा ठेक्का लगाइएको छ । नुम बजारबाट अगाडि १० किमी स्तरोन्नति गरिएको सडको समेत कालो पत्रे गर्नका लागि ठेक्का लगाइएको छ । सडक आयोजना तुम्लिङटारका अनुसार दोभान नयाँ बस्तीदेखि च्याम्ताङ्गसम्मको ८१ किमी सडकको स्तरोन्नतिको काम समेत धमाधम भइरहेको छ ।
वि.सं. २०६५ । ०६६ देखि शुरु भएको यो आयोजनाको काम आगामी ८०÷८१ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएता पनि कामले गति लिन नसक्दा अझ केही समय थप्नुपर्ने देखिएको स्थानीयहरु बताउँछन् । दोभान नयाँबस्तीदेखि वरुण दोभानसम्मको २७ किमी सडकको ग्राभेलिङ्गको काम सम्पन्न भएको छ । खाँदबारीदेखि च्याम्ताङ्गसम्मको ५४ किमी सडकमा विगत तीन बर्षदेखि ट्याक्टरहरु सञ्चालन हुँदै आएका छन् । उक्त सडक खण्डको हटिया हुङ्गगुङ्ग क्षेत्रको करिब ५ किमी सडकको ट्रयाक खुलेपनि कंक्रिट क्षेत्र भएकोले यातायात सञ्चालनमा कठिनाई देखिएको आयोजनाले जनाएको छ । यहाँ स्मरणीय कुरा के छ भने उत्तरी सीमा नाका किमाथांकादेखि घोङ्गगोप्पासम्मको ट्रयाक चिनिया सहयोग, प्राविधिक, उपकरणबाट केही बर्ष अगाडि खुलिसकेको छ । उक्त सडकको लम्बाई १४ किमी रहेको छ ।

तपाईको प्रतिक्रिया