धरान । स्वास्थ्यको पहुच स्थानीय स्तरसम्म पुगोस् भन्ने उद्देश्यले पछिल्लो समय स्थानीय सरकारले वडा वडामा आधारभूत स्वास्थ केन्द्रहरु सञ्चालनमा ल्याएको छ ।
सञ्चालानमा ल्याइएका यस्ता आधारभूति स्वास्थ्य केन्द्रहरुको भौतिक संरचना निर्माणमा समेत स्थानीय सरकार लागिपरेको छ ।
यसै क्रममा धरान उपमहानगरपालिका वडा नंं. १४ मा समेत आधारभूत स्वास्थ्य केन्द्रको निर्माण सम्पन्न भई उद्घाटन समेत भइसकेको छ । धरान १४ पिण्डेश्वर मन्दिर परिषरमा निर्माण सम्पन्न भएको सो भवनको उद्घाटन धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले गर्नुभएको हो ।

प्रदेश सरकारको २८ लाखको सहयोगमा निर्माण भएको तीनकोठाको एकतले भवनमा वडाबासीको स्वास्थ्यमा सहज उपचार होस् भन्ने उद्देश्यले भवन निर्माण गरेर उपचार समेत शुरु गरिसकेको १४ नंं वडा समितिका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । उहाले भवन निर्माण नहुदा नै पनि सञ्चालन गरिएको केन्द्रले क्षयरोगीका विरामीलई डट्स कार्यक्रम सञ्चालन गरिएको बताउदै यसलाई निरन्तता दिने बताउनुभयो धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले धरानका सबै वडामा आधारभूति स्वास्थ्य केन्द्र रहने र सबैको आफ्नै भवन रहने उपमहानगरपालिकाको योजनामै रहेको बताउनुभयो । उहाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सहकार्य गरेर केन्द्रमार्फत स्वास्थ्य शिविर राख्नुपर्नेमा जोड दिनुभयो ।
यस्ता आधारभूत स्वास्थ्य केन्द्रलाई धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले हेर्ने गर्दछ । सो अवसरमा स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले केन्द्रबाट उपचारसँगै ४५ प्रकारका औषधिहरु सर्वसाधारणले निःशुल्क पाउने बताउनुभयो ।
आधारभूत स्वास्थ्य केन्द्रका अनुसार धरान १४ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भएपछि क्षयरोगीहरुलाई सबैभन्दा ठूलो राहत मिलेको छ । केन्द्रका अनुसार क्षयरोगीलाई विगतदेखि नै आधारभूत केन्द्रबाट नै औषधि उपलब्ध गराउने गरिएको जनाएको छ । मुलुकमा संघीयता लागू भएपछि वडाबाट नै धेरै काम हुन थालेको छ । पछिल्लो समय स्वास्थ्यको पहुच स्थानीय स्तरबाट सर्वसाधारणसम्म पु¥याउन वडाबाट सञ्चालित आधारभूत स्वास्थ्यकेन्द्रको भवन निर्माणमा उपमहनगरपालिकाले जोड दिन थालेको छ ।
