धरान । नेपाली सेनालाई भारतीय सेनाद्वारा गत विहीबार टाटा एलपिटिए–१६२८ वर्कसप ट्रकहरु उपहार स्वरुप प्रदान गरिएको छ ।
भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तीका अनुसार नेपाली सेनाको मुख्यालय भद्रकाली टुँडिखेलस्थित आयोजित एक विशेष समारोहमा ती ट्रकहरु नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।

भारतीय राजदुतावास काठमाण्डौका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाका तर्फबाट ती वर्कशप ट्रकहरु नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई हस्तान्तरण गर्नुभएको थियो । कम्प्याक्ट मोवाइल वर्कसपको रुपमा काम गर्ने ती वर्कसप ट्रकहरुले नेपाली सेनाको सवारी साधनको सहज र निर्वाध कार्यक्षमता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
यहाँ स्मरणीय कुरा के छ भने नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको निमन्त्रणमा चारदिने भ्रमण कार्तिक तेस्रो साता गर्नुभएको थियो । सो अवसरमा उहाँले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारती सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेर फर्किएपछि ती ट्रकहरु उपहार स्वरुप नेपाली सेनालाई प्रदान गरिएको हो । भारत सरकारको रक्षा सहकार्य अन्तगर्त उपलब्ध गराइने त्यस्ता शैन्य समाग्रीले भारतीय सेना र नेपाली सेनाबीच रहेको गहिरो तथा मजबुत सम्बन्धलाई पुष्टि गर्दछ । यस प्रकारको शैन्य सम्बन्धले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने भारतीय राजदुतावासका रक्षा सहचरी शर्माले विश्वास व्यक्त गर्नुभयो । भारत सरकारका तर्फबाट भारतीय सेनाले नेपाली सेनालाई थप शसक्त एवम अत्याधुनिक बनाउन निरन्तर सहयोग गर्ने समेत विज्ञप्तीमा जनाइएको छ ।
