धरान÷नेपाली कँग्रेसका वौद्धिक व्यक्तित्व बद्रीनाथ श्रेष्ठको निधन भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सदैव अहम् भूमिका निर्वाह गर्दै आउनु भएका श्रेष्ठको असोज ३० गते शनिवार भारतको नयादिल्ली स्थित एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

वि.सं. २०१८ सालमा उच्च शिक्षा अध्ययनकालागि बनारस बस्नु हुँदा नेप्लिज स्टुडेन्ट एसोसिएसनमा आवद्ध भएर नेपाली काँग्रेस निकट हुनु भएका स्व. श्रेष्ठ २०२४ सालमा त्रिभुवन विश्व विद्यालयको विद्यार्थी संघको सह–सचिव हुनु भएको थियो । वि.सं. २०३० सालदेखि त्रिवी सेवा प्रवेश गर्नुभएका श्रेष्ठ त्रिभुवन विश्व विद्यालयका पूर्व परीक्षा नियन्त्रक, पर्वाञ्चल विश्व विद्यालय सेवा आयोगका पूर्व अध्यक्ष समेत भई कुशलतापूर्वक जिम्मेवारी वहन गर्नुभएको थियो ।
अष्ट्रेलियामा रहेकी छोरी भेट्न दुई महिना अगाडि अष्ट्रेलिया पुग्दा केही असहज भएपछि उहाँ फर्कनु भएको थियो । काठमाण्डौमा केही समय उपचार पश्चात थप उपचारका लागि उहाँ दिल्ली जानु भएको
थियो । पारिवारिक स्रोतका अनुसार उहाँको लिभर क्यान्सरका कारण निधन भएको हो । दिल्लीबाट बागडोगरा हुँदै सोमबार उहाँको शव धरान ल्याई खत्री धारामा अन्तिम दाहसंस्कार गरिएको थियो ।
