‘मसँग पहिला साढे चार विगाहा जग्गा थियो अहिले साढे चार कट्ठा छ’

धनबहादुर कटुवाल । नेपाली काँग्रेस प्रतिबन्धित अवस्थादेखि नै पार्टीप्रति निरन्तर समर्पित व्यक्तित्व हुन् धनबहादुर कटुवाल । बीपीको आदर्शबाट प्रभावित कटुवाल नेपाली काँग्रेसप्रति आफ्नै खुशीले काम गर्न थाल्नु भएको हो । वि.सं. २०३४ सालमा उहाँले साविकको पञ्चकन्या गाविसमा जनपक्षीय उमेद्वार भएर निर्वाचन नै लड्नु भयो । आफू चौध बर्षदेखि नै नेपाली काँग्रेस भएर हिडेको सुनाउनु हुने कटुवाल आज ६५ बर्ष पुग्दा पनि पार्टीको आदर्शबाट विचलित हुनु भएको छैन ।


प्रतिबन्धित अवस्थामा रामबहादुर बस्नेतको घरमा भएको पहिलो गोप्य मिटिङमा कटुवाल सहभागी हुनु भएको थियो । त्यसबेला उहाँलाई पूर्व पार्टी सभापति हरिनाथ वास्तोलाले लिएर जानु भएको थियो । त्यसपछिको दोस्रो मिटिङ विजयकुमार गज्छदार, हरिनाथ वास्तोलाको, वीरेन्द्र कार्कीको, हरिनगराका भेषबहादुर नेपालीको घरमा भएको मिटिङमा उपस्थिति हुनु भएको थियो । उहाँ बारम्बार गणेशमान श्रेष्ठ, हरिनाथ वास्तोलाको निरन्तर सम्पर्कमा रहिरहनु भयो । उहाँको पार्टीप्रतिको आस्था र निरन्तर सक्रियताले हरेक गतिविधिमा उहाँलाई तत्कालीन नेतृत्वले सहभागी गराउँदै गयो । पाँचकन्या गाविसमा कृष्ण गौतम, कृष्णप्रसाद आचार्य पनि नेपाली काँग्रेसका समर्थक भएपनि तत्कालीन प्रशासन, प्रहरीको डरले बाहिर निस्कनु हुन्थेन तर पार्टीको गतिविधिको जानकारी कटुवालबाटै लिनु हुन्थ्यो ।
हालसम्म उहाँले पदीय लोलुपता देखाउनु भएन । वि.सं. २०४३ सालमा नेपाली काँग्रेसले निर्वाचनलाई उपयोग गर्ने रणनीति लिएपछि कटुवाल पाँचकन्या गाविसको प्रधानपञ्चको जनपक्षीय उमेद्वार भएर लड्नुभयो । पञ्च इतरका मानिसलाई त्यसबेला प्रहरी, प्रशासन, सिडियो, अञ्चलाधीशले विजयी हुनै दिँदैनन् थिए । त्यसबेला उहाँले ९८६ मत ल्याउनु भयो भने उहाँका प्रतिद्वन्द्वी पदमबहादुर कार्कीले ६३० मत ल्याए । तर उहाँलाई हराएको घोषणा गरियो । प्रजातन्त्र आइसकेपछि उहाँ लामो समय क्षेत्रीय सदस्य भएर काम गर्नुभयो । त्यसबेला पाँचकन्या गाविस वापन्थीहरुको अखडा नै थियो । जसको कारण पार्टीले उहाँलाई पाँचकन्या गाविसको अध्यक्ष बनायो । प्रजातन्त्र आएपछि हरिनाथ वास्तोलाले पार्टी कार्यालय उद्घाटन गरिदिनुभयो र उहाँले निरन्तर अध्यक्ष भएर काम गर्नुभयो । अरुले पाँचकन्यामा सक्दैन भनेर उहाँलाई उक्त जिम्मेवारी दिइयो । पछि धरान उपमहानगरपालिकामा गाविस मर्च भएपछि उहाँ क्षेत्रीय उपसभापति बन्नुभयो । क्षेत्रमा पनि ‘क’ र ‘ख’ मा विभाजन भएपछि उहाँ ‘क’ को संयोजक भएर संगठनलाई निरन्तता दिँदै आउनु भएको छ । आफैले अफिस खोलेर सञ्चालन गरिरहनु भएको छ ।
नेतृत्वदेखि जिल्ला क्षेत्र हुँदै स्थानीय कार्याकर्ता बीचमा इमान्दार कार्यकर्ताको परिचय बनाउनु भएका कुशल संगठनकर्ता र लामो इतिहास समेत बोक्नु भएका धनबहादुर कटुवालले आगामी चौधौ महाधिवेशन अन्तर्गत हुने सुनसरी क्षेत्र नं. १ को ‘क’बाट सभापतिमा उमेद्वारी घोषणा गरिसक्नु भएको छ । यस पटक हामीले इमान्दार, कुशल संगठनकर्ता कटुवालसँग उहाँको उमेद्वारी किन र के का लागि भनेर वार्ता गरेका छौं । प्रस्तुत छन् कटुवालसँग गरिएका वार्ताका सारसंक्षेप :–

तपाईले सुनसरी क्षेत्र नं. १ को ‘क’ बाट आगामी चौधौ महाधिवेशन अन्तर्गत हुन गइरहेको निर्वाचनमा सभापतिको लगि उमेद्वारी घोषणा गर्नुभएको छ । के छ त तपाईका आगामी योजना ?
–खास कुरा गर्दा मैले पार्टीमा आफनो जीवन नै समर्पित गरिसकेको छु । म अहिले ६५ बर्षको भएँ । मेरो इच्छा र आकांक्षाकै कुरा गर्दा मेरो दुई वटा इच्छा आकांक्षा छन् । पहिलो कुरा त प्रतिबन्धित अवस्थादेखि नै काम गरेँ । जुन बेला पटक पटक पार्टीको गतिविधिमा सहभागिता जनाउँदा प्रहरीले गिराÏतार गर्ने, थुन्ने, कुट्ने, घरमा बस्नै नदिने अवस्था गुजारेर आएको हुँ । पार्टीमा अब हिजो जसरी मतभेद थिएन अब पनि त्यही अवस्था बनाउन सकुँ भन्ने हो ।
धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा पाँचकन्या गाविसबाट अत्यन्तै राम्रो मत ल्याउन सकौं, आगामी दिनमा पनि यस्तै अवस्थाको सिर्जना गर्न सकौं भन्ने छ । पार्टी एकता हुनुपर्छ, एक हुनुपर्छ भन्ने मेरो मान्यता छ । स–साना कुरामा हामी विभाजित हुनुहुँदैन ।
तपाईको मुख्य उद्देश्य के हो सभापतिमा उमेद्वारी दिनुको ?
–चौधौँ महाधिवशेनमा मैले सभापतिको उमेद्वारी सुनसरी क्षेत्र नं. १ को ‘क’ बाट घोषणा गरेको छु । मेरो काइट एरिया पनि पुगेको छ । पार्र्टीमा हिजो आएर आज उमेद्वार घोषणा गरेको होइन । पाँचकन्याले आजसम्म कुनै महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य पनि खोजेन । खोज्दा मैले पाउनुपर्ने हो तर पदको लालचा भएन । अहिले मैले देखाएको इच्छा आकांक्षा सभापतिमा छ । यो पद मेरो पाउँदार पनि हो । मैले यहाँ बसेर धेरै दुःख गरेको छु । पार्टीमा के के गर्नुपर्छ, संगठन कसरी विस्तार गर्नुपर्छ, कार्यकर्तालाई कसरी पार्टी हितमा परिचालन गर्नुपर्छ, कार्यकताको भावना के छ, उनीहरुलाई आवश्यक पर्दा कसरी सहयोग गर्नपर्छ भन्ने मलाई अनुभव भइसकेको छ । ‘क’ को सभापतिमा उठेर जितेर ओगट्ने काम मात्र गर्दिनँ । म नेपाली काँग्रेसको भातृ संगठनहरु नेविसंघ, तरुण दल, महिला संघ लगायत पार्टीका अन्य भातृ संगठनहरुलाई कसरी परिचालन गर्नुपर्छ र उनीहरुलाई कस्तो सहयोग गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेको छु ।
त्यसो भए तपाईको उमेद्वारी पक्का हो ?
–हो । मैले घोषणा नै गरिसकेको छु । मैले जितसकेपछि संगठन गर्न सबै पक्षलाई समेटेर सामुहिक नेतृत्वको अवधारणा ल्याउँछु । कुनै पनि काम गर्दा सबैसँग सल्लाह लिन्छु, अग्रज नेताहरुलाई कसरी व्यवस्थापन गर्नुपर्छ त्यो पनि गर्छु ।
संगठन सुदृढीकरणमाचाहिँ ठोस योजना के छ ?
–सबैभन्दा ठूलो कुरा मैले अहिलेसम्म काम गर्दै आएको छु । संगठन कसरी गर्नुपर्छ भन्ने कुरा मैले राम्ररी बुझेको छु । मैले कहिल्यै पद लिएर त्यसै बसिनँ । पाँचकन्या गाविसको ९ वटा वडा हो । तीनवटा वडा तल छ र ६ वटा वडा माथि छ । जुन अत्यन्तै विकट पनि छ । यहाँका प्रत्येक घरका मानिसलाई म चिन्छु । प्रतिबन्धित अवस्थादेखि काम गर्दै आएकोले सबैले मलाई पनि अत्यन्तै माया गर्नुहुन्छ । संगठनलाई कसरी जोगाउनुपर्छ, संगठन गर्दा के गर्नुपर्छ सर्वसाधाणलाई के गर्नुपर्छ, व्यक्तिको काम कसरी गर्नुपर्छ, कार्यकर्तालाई अप्ठेरो प¥यो भने रात विहान भन्नु हुँदैन भन्ने कुरा मलाई राम्ररी थाहा छ । साधन स्रोत सबै वडामा पुग्दैन । माथि भेडेटारदेखि तलसम्म वडा डुल्दा तीन दिनमा घर आइपुगिन्छ भन्ने अनुभव मलाई छ । धरानको बजारमा बसेर साधन स्रोत उपयोग गरी एउटा कोठामा मिटिङ गरे जस्तो हुँदैन गाउँमा । त्यस कारण संगठन गर्न घरमा बसेर पद ओगटेर हुँदैन । प्रत्येकको घर–घरमा पुग्नुपर्छ ।
अहिले एउटा ट्रेन छ घरभित्र बसेर संगठन गर्ने । पद ओगट्ने तर संगठनचाहिँ घरभित्र बसेर गर्ने प्रवृत्तिलाई तपाई के भन्नुहुन्छ ?
–यो जसले, जुन मान्छेले, नेताले घरभित्र बसेर संगठन गर्छु, यसैगरी म अगाडि बढछनु भन्ने सोच्छ त्यसले पार्टीलाई आघात पारेको छ । यस्ता झुठो कुराको पछि नलाग्न म आम यस क्षेत्रका कार्यकर्ता नेताहरुलाई आग्रह गर्दछु । अब यसरी पार्टी अगाडि बढ्दैन ।
वास्तवमा तिनलाई पार्टीको कस्तो खालका कार्यकर्ताको रुपमा इङ्गित गर्नुहुन्छ ?
–त्यस्ता व्यक्ति पार्टीको कार्यकर्ता नै होइनन् । पार्टीको संगठन गर्छु, पार्टी जोगाउँछु भन्नेहरु पार्टीका इमान्दार कार्यकर्ता नै होइनन् । ती अवसरवादी हुन् । नेताहरुसँग फोटो खिचेर फेसबुकमा हालेर कोही नेता हुँदैन र तिनले पार्टीको हित पनि गर्दैनन् । उनीहरुको उद्देश्य एउटै मात्र हुन्छ पदीय आडमा पार्टीभित्र व्यापार गरेर घर व्यवहार गर्ने । यो प्रवृत्ति यहाँ देखिएको छ । यस्तो प्रवृत्तिलाई अब आम कार्यकर्ताले परास्त गर्नैपर्छ ।
एकथरी मान्छे पार्टीमा यस्ता पनि छन् जसले पार्टीको पद भँजाएर जीविकोपार्जन पनि गरेका छन्, त्यस्तालाई के भन्नुहुन्छ ?
–ती पार्र्टीका भाइरस हुन् । मैले पार्टीमा लागेर पानमारी जस्तो गाउँमा बसेर मेरो परिवार, मेरो छोराछेरी, नाता गोता कसैलाई पनि जागिर खुवाएको छुइनँ । कही नेताहरुलाई यसो गरिदेउ भनेर नितान्त व्यक्तिगत कुरा लिएर नेताहरुलाई भन्न पनि गएको छुइनँ । मसँग पहिला साढे चार विगाहा जग्गा थियो अहिले साढे चार कट्ठा छ । सबै पार्टीको कामकै लागि सिध्याएँ । मैले पार्टीका नाममा कही कतै गएर एक पैसा उठाउने काम पनि गरेको छैन । कुनैपनि नेताहरुसँग दुई रुपैयाँ पनि मागिनँ ।
अब पनि म माग्दिनँ । जो साथीहरुले पार्टीको नाममा व्याापर गरेका छन् त्यो दुर्भाग्यपूर्ण कुरा हो । पार्टीमा लाग्दा पार्टीलाई फाइदा हुने काम गर्नुपर्छ । पार्टीमा लागेपछि धन सम्पत्ति पनि दिनुपर्छ, समय पनि दिनुपर्छ, इमान्दार पनि हुनुपर्र्छ, त्याग र योगदान गर्न सक्ने हुनुपर्छ । नत्र तिनले पार्र्टीबाट पलायन हुनुपर्छ र आउने १४ औं महाधिवेशनले त्यस्ता मान्छेलाई आम कार्यकर्ताले पाँखा लगाउने छन् ।
त्यस्तो मान्छेको अहिले पार्टीमा हालीमुहाली छ । त्यस्तै मान्छे फेरि पनि पार्टीको नेतृत्वमा आउन लालायित देखिन्छन् । त्यस्तालाई तपाई के भन्नुहुन्छ ?
–मैले अहिले सुनसरीको प्रदेश नं. १ को ‘क’ मा सभापतिको उमेद्वारी घोषणा गरेको छु । साथीहरु भन्नुहुन्छ तँ किन भोट भाग्दै हिँड्दैनस, किन प्रचार प्रसार गदैनस् भन्छन् । यो नितान्त पार्टीको आन्तरिक निर्वाचन हो । यसमा माइक लगाएर ढ्वाङ्ग फुक्दै हिँड्नुपर्ने अवस्था हुँदैन । मैले प्रतिबन्धित अवस्थादेखि इमान्दारितापूर्वक काम गरेको सबैले देखेका छन् । मैले गाउँमा बसेर कसरी संगठन गर्दै आएँ त्यो सबैले देखेका छन् । मलाई सबै साथीहरुले चिन्नु भएको छ । धनबहादुरले पार्टीमा लागेर सबै सम्पत्ति पनि सिध्यायो, यो पुरानो मान्छे हो भने सबैले बुझ्नु भएको छ । मलाइ विशवास छ मलाई त्यही आधारमा भोट दिन्छन् र दिनुहुन्छ । अर्को कुरा यहाँ एकथरि छन जो हामी नै सबै हौ, हामीले भनेपछि नमान्ने कुरा नै हुँदैन भन्ने हैकमवादी सोचबाट जो नेतृत्व हत्याउन लालायित छन् त्यो तिनको दिवास्वप्न हो । अब कार्यकर्ताहरुले बुझिसकेका छन् ।
तपाईले उमेदवारी घोषणा गर्दा सुनसरी क्षेत्र नं. १ ‘क’ का कार्यकर्ताको मनस्थिति कस्तो पाउनु भएको छ ?
–यस क्षेत्रमा आम कार्यकर्ता अत्यन्तै उत्साहित हुनुभएको छ । मैले आफैले ‘क’को अफिस खोलेको छु । अफिसमै गएर पनि साथीहरुलाई मलाइ नै भोट दिनुुस् सम्म भनेको छुइनँ । उहाँहरुले आफैले प्रचार गर्न थालिसक्नु भएको छ । उहाँहरुकै आग्रहमा मैले उमेद्वारी घोषणा गरेको हुँ । सबैले तपाई पुरानो मान्छे हुनुहुन्छ, तपाई त्यो ठाउमा पुग्नैपर्छ भन्नुहुन्छ । सार्थीहरु आफँै सोध्नुहुन्छ तपाई ‘क’ को सभापतिमा उठ्ने सुने मैले के गर्नुपर्छ त्यसमा चिन्ता नलिन आग्रह गर्नुहुन्छ ।
अबको संगठन कस्तो हुनुपर्छ भन्ने लाग्छ ? हिजो एउटा औपचारिकतामात्र निभाउने, आफूमात्र अगाडि बढ्नुपर्छ भन्ने प्रवृत्ति थियो हैन ?
–अब नेपाली काँग्रेस मासवेसिक पार्टी हो मात्र भनेर हुँर्दैन । अब क्याटर्स वेस हुनुपर्छ । संगठन भनेको कस्तो कुरा हो भने पार्टीको जीवन्तता हो । संगठन गर्नका लागि जबसम्म इमान्दार भइँदैन तवसम्म सम्भव हुँदैन । अहिले दश जना कार्यकर्ता लिएर मन्त्री वा माननीयकोमा पुग्दा १० जनाले सामुहिक भेट वार्ता गर्न पाउनुपर्छ । अहिले त्यो प्रवृत्ति छैन आफूमात्र सुटुक्क छिर्ने र अरुलाई बाहिर पर्खन लगाउँछन् । यसो हुँदा ती दश जना निराश हुन्छन् । दश जनाले नै भेट्दा मन्त्री, माननीयले पनि चिन्छन् । अर्को कुरा ती दश जनाले पनि चिन्छन् । भोलिका दिनमा ती दश जना आफ्नो कुरा आफै गएर कुरा गर्न पनि सक्छन् ।
तर त्यो प्रवृत्ति छ छैन नि हैन ?
–छैन । त्यसैले पार्टीको संगठन कमजोर भएको हो । दश जनाले पहुँच नबनाउन् म मात्र अगाडि बढौ भन्ने छ । तर मैले ‘क’ मा जितेपछि आगामी दिनमा सबैलाई नेता, मन्त्री, सांसदहरुसँगको पहुँचमा पु–याउछु । संगठनको लागि पछुवा मान्छे अगाडि बढ्नैपर्छ । ती दश जना कार्यकर्ताले भन्ने छन् धनबहादुले मलाई लिएर गएको थियो । बाहिर राखेन भन्ने एक प्रकारको प्रभाव पर्छ । त्यसपछि उसले अरु दश जना तान्छ । मेरो योजना छ । हिजो पनि मैले त्यसै गरेँ भोलि पनि त्यसै गर्छु । पहुँचमा नपुगेका साथीहरुलाई पहुँचमा पु¥याउनेछु । यसका लागि पार्टी अफिसमै खाट राखेर सुत्छु । सबै साथीहरुसँग सल्लाह गरेर आगाडी संगठन बढाउछु । आवश्यक परे दुई चार बोरा चामल लगेर राख्छु । पाँच बर्षमा पार्टीको संगठनलाई उचाइमा पु–याउछु । ‘क’ लाई नमूना बनाउछु ।
यस क्षेत्रका आम कार्यकर्तालाई के भन्न चाहनुहुुन्छ ?
–यस क्षेत्रका तमाम साथीहरुलाई मैले सुनसरी क्षेत्र नं. १ को ‘क’बाट सभापतिको उमेद्वारी घोषणा गरेको छु । मेरो व्यवहार, म पार्टीमा लागेको विगतदेखिको कुरा, धनबहादुर एउटा खुल्ला मान्छे हो भन्ने सबै साथीहरुलाई थाहा छ । सबै साथीहरुलाई मेरो आग्रह छ यस पटक मलाई संगठन सुदृढ गर्ने मौका दिन आग्रह समेत गर्दछु ।

तपाईको प्रतिक्रिया