यो बर्षको राष्ट्रिय कविता महोत्सवमा राईको ‘देशको नक्सा’ प्रथम

धरान÷गत असार १० गते सम्पन्न यो बर्षको राष्ट्रिय कविता महोत्सवमा भोजपुरको दुर्गम गाउँमा जन्मिएकी कविता राईको ‘देशको नक्सा’ कविता प्रथम भएको छ ।
नाम जस्तै उनको कविताले देशको नक्साका बारेमा धेरै कुराहरु अगाडि ल्याएको थियो । ग्रामीण परिवेश र मुलुकका जल्दाबल्दा विषयमाथि चोटिलो प्रहार गर्न खप्पीस राईको कविताको सन्देश राष्ट्रिय हितबाट ओतप्रोत थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानले यस प्रकारको राष्ट्रिय कविता महोत्सव हरेक बर्ष आयोजना गर्दै आएको छ । यस पटक आयोजित महोत्सवमा धादिङ्गकी अमृता स्मृति द्वितीय, बर्दियाकी निरञ्जनकुमारी चन्द, ताप्लेजुङ्गकी सविता बराल र नुवाकेटका प्रकाश शिलवालका कविताहरु उत्कृष्ट ठहरिएका थिए । स्मृतिको डढेलोपछि पनि बसन्त आउँछ, द्वितीय भएको थियो भने निरञ्जनकुमारीको युगीन प्रतिध्वनी, बरालको म आएँ अब र शिलवालको बोधिसत्वको खोप तृतीय भएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुनलेलाई ३०÷३० हजार र सम्मानपत्र प्रदान गरिएको थियो । महोत्सवमा मुलुकभरिका ७ सय ६४ जना कवि तथा कवियत्रीहरुले सहभागिता जनाएका थिए भने अन्तिम प्रतियोगीका रुपमा ४१ जना छनौट हुन सफल भएका थिए । महोत्सवम नेपाल बाहिरका आठ देशका कवि तथा कवयित्रीहरुको समेत सहभागागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया