कांग्रेसको १४ औं महाधिवेशन पदकै लागि हानाथाप

नेपालको सबैभन्दा पुरानो राजनैतिक दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै स्थानीय तहदेखि केन्द्रसम्म आकांक्षीहरुको दौडधूप शुरु भएको छ । तर आकांक्षीहरुको अनुहार बारम्बार नेतृत्वको कुनै न कुनै तहमा रहेकाहरु मात्र देखिएको छ ।
के नेपाली काँग्रेसमा ऊर्जावान, सुसिक्षित, इमान्दार,राष्ट्रिय भावले ओतप्रोत भएकाहरुको खडेरी लागेको हो ? किन नेतृत्वमा पुरानै अनुहार बारम्बार दोहोरिने चेष्टा गर्दैछन् र तिनैलाई लगभग ६० को हाराहारीको उमेर भएका कथित युवाहरुले सघाइरहेका छन् ?
वर्तमान अवस्थाको नेपाली काँग्रेको केन्द्रीय नेतृत्वको मेजर पदमा आशिनहरु नै यतिबेला मुख्य नेतृत्वको दाबीमा लागेका छन् । पटक पटक पार्टीको नेतृत्व तहमा गएका शेरबहादुर देउवा, रामचन्द्र पौड्याल, प्रकाशमानसिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला लगायतहरुले अब पनि नेतृत्वमा दोहोरिने आकांक्षा राख्नु विडम्बना हो । उनीहरुले नै नेतृत्वमा दाबी गर्नु, युवा नेतृत्वलाई अगाडि आउन नदिनु वा आउन सक्ने अवस्थाको सिर्जना नगर्नु पार्टी अद्योगतिको संकेत हो ।
विश्वका अन्य प्रजातान्त्रिक मुलुकको उदाहरण हेर्दापनि काँग्रेसका वर्तमान नेृत्वलाई हिनताबोध र ग्लानी लाग्नुपर्ने हो । भारतकै उदाहरण लिँदा पनि पर्याप्त हुन्छ । भारतको सत्तासीन भारतीय जनता पार्टीको अध्यक्षमा जेपी नड्डालाई नेतृत्व सुम्पिएको छ । अन्य पुराना र प्रभावबाली नेताहरुलाई मुलुक सञ्चालनको जिम्मा दिइएको छ । पार्टी नेतृत्व र मुलुक सञ्चालनको नेतृत्व बेग्लाबेग्लै व्यक्तिले सम्हाल्दा जिम्मोवारीको बोध हुन्छ । तर हामीकहाँ ठीक उल्टो छ । अर्काको सहराले हिड्नुपर्ने अवस्थामा हुँदासम्म न पार्टीको नेतृत्वबाट पृथक रहने न सत्ताको नेतृत्वबाट पृथक रहने उनीहरुमा सोच देखिन्छ ।
शेरबहादुर देउवा लगायत माथि उल्लेखित नामधारीहरुले अब नेतृवबाट पृथक रहने सोच बनाउनैपर्छ । नेतृत्वमा नरहँदा आफू शक्तिहीन भइने, नेतृत्वमा नरहँदा भोलिका दिनमा सरकारको नेतृत्व गर्न दाबा नपुग्ने मानसिकताले यिनीहरु ग्रसित छन । एउटै नेतृत्व बारम्बार पार्टी तथा सरकारमा दोहोरिँदा त्यसले विकृति जन्माउँछ, नयाँलाई हतोत्सासाहित बनाउँछ । बारम्बार प्रधानमन्त्री भइसकेका र पार्टीको नेतृत्वमा समेत पुगिसकेका शेरबहादुर देउवाले अब अभिभावकीय भूमिका निभाउनुपर्ने समय आएन र ? पार्टीको उपसभापति, सभामुख, मन्त्री भइसकेको रामचन्द्र पौड्याल पुन ः नेतृत्वमा आउने चाहना राख्नु उचित हो ? उनले अभिभावकीय भूमिका कहिले निर्वाह गर्ने ? पार्टीको महामन्त्री र पटक पटक मन्त्री भइसकेको प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौलाले अब नयाँ नेतृत्व आउने वातावरण बनाउनु पर्दैन ? हुन त नेपालमा इमान्दारिताको राजनीति नै रहेन । स्व. गिरिजाप्रसाद कोइरालाले आर्यघाटमा पुग्दा समेत पार्टी सभापतिको पद सँगै लिएर गएका थिए । अहिलेका नेतृत्वका अकाांक्षीहरुले गिरिजाप्रसाद कोइरालाकै पदचापलाई पछ्याएको देखिन्छ । आजीवन नेतृत्वमा बस्नुपर्छ भन्ने यिनको मानसिकताले आज नेपाली काँग्रेस स्वलित बन्दै गएको छ । न संगठन सुदृढ छ, न ऊर्जा छ । जबसम्म मजबुत संगठन र ऊर्जावान नेतृत्व राजनैतिक दलमा देखिदैन त्यसको अद्योगति भएको मान्नुपर्छ । समयमै चेत खुलेको राम्रो ।

तपाईको प्रतिक्रिया