धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा डा. पशुपति चौधरी नियुक्त हुनुभएको छ ।
प्रतिष्ठानको हाडजोर्नी विभागमा कार्यरत डा. चौधरीलाई साउन ५ गते उपलकुलपति प्रा.डा बलभद्रप्रसाद दाशले प्रवक्तामा नियुक्त गर्नुभएको डेपुटी रजिष्टार अमित श्रीवास्तवले बताउनुभयो । यस भन्दा अगाडि प्रवक्ताको जिम्मेवारी डा. पारस पोख्रेलले निर्वाह गर्दै आउनु भएको थियो भने चौकरी सह प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । प्रवक्ता पोख्रेल लामो समयदेखि विदामा बस्नुभएपछि चौधरीलाई नियुक्त गरिएको श्रीवास्तवको कथन छ । यसैगरी सहायक प्रवक्तामा डा. नारायण भट्टराईलाई नियुक्त गरिएको छ ।
यसैबीच सोमबारदेखि प्रतिष्ठानले न्युरो सर्जरीसेवा शुरु गरेको छ । अब न्युरोसम्बन्धी विरामीले अन्यत्र भौतारिनु नपर्ने भएको छ । सामान्य रुपमा टाउकोमा चोटपटक लागेर आएका
विरामीहरुलाई समेत चिकित्सक अभावको कारण देखाउदै प्रतिष्ठानले अन्यत्र रिफर गर्दै आएको थियो । अन्तर्राष्ट्रिय स्तरको ननप्राक्टिसिङ्ग कलेज भए तापनि न्युरो सम्बन्धी चिकित्सकको अभावका कारण प्रतिष्ठानले आलोचना खेप्दै आएको थियो । अब भने प्रतिष्ठानले न्युरो सम्बन्धी आकस्मिक एवम् नियमित सम्पूर्ण सेवा उपलबध गराउने भएको हो । प्रतिष्ठानमा कार्यरत डा. गुणराज पौड्यालले तीनबर्षे न्युरो सम्बन्धी कोर्ष पूरा गरी फर्किएपछि प्रतिष्ठानले यो सेवालाई सञ्चलनमा ल्याएको हो ।
प्रतिष्ठानमा न्युरोसेवा शुरु भएपछि विरामीहरुले अन्यत्रको तुलनामा सर्वसुलभ सेवा पाउने अस्पताल निर्देशक प्रा.डा. अरविन्दाकुमार सिन्हाले बताउनुभयो । सामान्य चाट लागेर आएका न्यूरो सम्बन्धी विरामीलाई बाध्यताबस अन्यत्र अस्पतालमा रिफर गर्न बाध्य प्रतिष्ठानले अब भने हामी न्यूरो सम्बन्धी विरामीको यही उपचार गरिने सिन्हाको भनाई छ ।
