एकसाता यता मुलुकमा बाढी, पहिरोले ज्यान गुमाएकाहरु सैयौ पुगेका छन्,सैयौ बेपत्ता भएका छन्, अरबौ को सम्पत्ति नष्ट भएको छ र हजारौ सर्वसधारण घरवारविहीन भएका छन् ।
विपत्त बाजा बजाएर आउँदैन तर विपत्तलाई निम्त्याउन बाजा बजाउनेहरुका कारण प्राकृतिक प्रकोपबाट यत्तिका धनजनको क्षति भएको छ । प्राकृतिक स्रोत साधनको क्षणिक लाभका लागि दोहन गर्ने प्रवृत्तिकै कारण आजको विनास निम्तिएको हो ।
अझ सिंहदरबार गाउँ गाउँमा पुगेपछि मनलाग्दी ढंगले प्राकृतिक दोहानले पश्रय पाएको हो । आज सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, बाँके, बर्दिया, तनहुँ, दोलखा लगायका चार दर्जन भन्दा बढी जिल्ला तहसनहस भएको छ । सर्वसाधारणको हेर्दाहेर्दै अरबौको सम्पत्ति ध्वस्त भएको छ । एक साता अगाडि आफ्नै आलिशान भवनमा बसेकाहरु क्षणभरमै सडकमा आएका छन्, घरवारविहीन भएका छन्, सुकुम्बासी भएका छन् र अरुले राहत दिएको भरमा बाँच्न विवश भएका छन् ।
गणतन्त्र आएपछि नदीजन्य उत्खनन् र पहरा दोहन कहालीलाग्दो रुपमा देखिएको छ । शताब्दी पुरुष एवम् सँस्कृतिविद् सत्यमोहन जोशीका शब्द सापटी लिने हो भने गणतन्त्र आउनु भन्दा अगाडि लगातार दश दिन, पन्द्रदिनसम्म मुसलधारे बर्षा हुन्थ्यो । तर यस प्रकारको प्राृकृतिक विपत्ति कहिल्यै आएको थिएन । जोशीको आशय हो मनलाग्दी, विना रोकटोक प्रकृतिको दोहनले विपत्ति निम्त्याएको हो । आज तराई पहाड जहाँ कही डोजरे विकास तिब्र भएको छ । नागरिकले राज्यलाई तिरेको कर सिध्याउन विना आयोजना, विना इन्जिनियरङ, भौगोलिक अवस्थाका अध्ययन विना सडकका नाममा निर्वाध डोजर चलाइएका छन् । २०७२ सालको महाविनाशकारी भूकम्पले थिलथिलो बनाएका पहाड त्यसमाथि डोजरे विकासले थप थिलथिलो बनाइएको छ । यस्तो अवस्थामा दुई चार दिन परेको पानी चीरा परेका पहाडमा छिर्दा विनाश नभएर विकास हुने कुरै भएन ।
अर्कोतर्फ चुे आसपास तथा भित्री मधेश, पहाडका खोलानाला अराजक ढंगले उत्खनन् भइरहेका छन् । जताततै मापदण्ड विना क्रसर उद्योग सञ्चालन भएका छन् । राजनीतिक अवरणमा गुण्डागर्दी गरेर स्थनीय निकायका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यहरुले नदीजन्य उत्खनन् र डोजरे विकासलाई निरन्तता दिएका छन् । स्थानीय निकायका जनप्रतिनिधिहरु प्राकतिक संरक्षणमा भन्दा विनाशमा सहभागी भएका छन् । यसको स्थानीय तहबाट विरोध गर्दा उनीहरु विरोध गर्नेहरु माथि नै जाइ लाग्छन् । प्रहरी प्रशासनले उनीहरुकै कुरामा समर्थन गर्छन्, विरोध गर्ने निअपराध जनतामाथि नै आक्रमण गर्छन्,
धरपकड गर्छन, झुटा मुद्धा चलाउँछन् । आज स्थानीय निकायमा मात्र चुनाव जितेका कथित जनप्रतिनिधिहरुको प्राय ः प्रत्येकको स्वामित्वमा करोडौको डोजर, स्काभेटर रहेको छ । केन्द्र सरकारले उनीहरुको वास्तविक आयस्रोत खोज्ने औचित्य देखेको छैन । प्राकृतिक स्रोत साधनको व्यापार गरेर रातारात उनीहरु नव धनाढ्यको पंक्तिमा उत्रिएका छन् । यस्तो कहालीलाग्दो अवस्थामा प्राकृतिक विपत्ति नआउने कुरै भएन ।
