इनरुवा ÷ सुनसरीको इनरुवामा कोभिड अस्पताल सञ्चालन गरिने भएको छ ।
जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि उपचारमा कठिनाइ नहोस् भन्ने अभिप्रायले २० वेडको कोभिड अस्पताल संचालनको तयारी थालिएको हो । स्वास्थ्य कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले संयुक्त रुपमा कोभिड अस्पताल संचालनमा ल्याउने गरी तयारी अघि बढाएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए । उनले भने–‘सदरमुकाममै एउटा पनि कोभिड अस्पताल छैन, जोखिम न्यूनिकरण गर्न र उपचारमा सहज होस् भनेर असप्ताल सञ्चालनमा ल्याउन लागेका हौ ।’
स्वास्थ्य कार्यालय सुनसरीमा बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले इनरुवा अस्पतालको आकष्मिक कक्षलाई कोभिड अस्पतालका रुपमा संचालनमा ल्याउने निर्णय गरेको हो । बैठकमा सहभागी इनरुवा नगरपालिकाका प्रमुख मेहताले कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्थानीय स्तरमै उपचारको बन्दोवस्ती मिलाउन कोभिड अस्पताल संचालनमा ल्याउन लागिएको बताए । उनले भने(‘कोभिड भएका विरामीलाई अस्पताल सञ्चालन नहुदा कि धरान पु¥याउनुपर्ने कि त विराटनगर नै लानुपर्ने बाध्यतात्मक अवस्था थियो, यसले केही सहज बनाउछ भन्ने हामीलाई लागेको छ ।’
मेहता सहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाका साथै व्यवस्थापन समितिका पदाधिकारी र स्वास्थ्य कार्यालयको टोलीले कोभिड अस्पताल संचालनको लागि इनरुवा अस्पतालको संरचना निरीक्षण समेत गरेको थियो ।
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार आवश्यक उपकरण र स्रोत साधन जुटाएर तीन दिन भित्र कोभिड अस्पताल संचालनमा ल्याइने बताए । प्रसाईले संचालनमा ल्याउन लागिएको २० बेडको अस्पताल सुविधा सम्पन्न रहने बताए । उनले अस्पतालको अन्य सेवा प्रभावित नहुने गरी कोभिड अस्पताल संचालनको तयारीमा जुटेको जानकारी दिए ।
