धरान÷दोस्रो चरणको कोरोना संक्रमणको वृद्धिसँगै यस पटकको होली पर्व विकृतिरहित हुन सकेन । होली पर्वको महत्वलाई बुझ्ने र सोही अनुरुप मनाउने संस्कारको विकास हुन नसक्दा विगतका बर्षहरुमा झै यसपटक पनि उच्श्रृखलताले नै स्थान पायो ।
पारदर्शी पहिरन, अनुहारमा पेन्टिङ, हो–हलाका बीचमा धरानमा होली पर्व मनाएको छ । यद्यपी प्रशासनको कडा उर्दी र विगतका सम्मावित दुर्घटनालाई मध्यनजर गरी प्रहरी परिचालन भएकोले पनि यसपटकको होली धरानका केही शान्त देखिन्थ्यो ।
होली पर्वलाई नेपाली र भारतीयहरुले प्रत्येक बर्षका फागुन शुक्ल पूर्णिमाका दिन मनाइने हिन्दुहको प्रमुख चाड मध्येको एक प्रमुख चाड हो । हिन्दु धर्मसँस्कृति तथा शास्त्रका अनुसार यस पर्वको ठूलो महत्व दर्शाइएको छ । यो र्पको महत्व त्रेता युगसँग जोडिएको छ । त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रहलादसँगको प्रसंगलाई यो चाडसँग जोडिएर हेर्ने गरिन्छ । हिरण्य कायपुका पुत्र प्रहलादलाई आफ्नै बहिनी (प्रहलादकी फूपू) होलीकाले आगोमा भस्म गर्न लाग्दा आफै आगोमा जलेर भस्म भएकी थिइन् र विष्णुभक्त प्रहलादलाई केही नभएकोले त्यसै दिनको सम्झनामा होली पर्व मनाउन शुरु भएको मानिन्छ । होली पर्वले वसन्त ऋतु आगमनको समेत संकेत गर्छ । वास्तवमा होली रंगहरुको पर्व हो । यस दिन आफन्त, परिवारजन, इस्टमित्र, साथीहरुले एक अर्कालाई विभिन्न रंग हानेर रंगिन बनाउँछन ।
होली खेल्नु भन्दा अघिल्लो दिन होलिकाको दहन गरिन्छ र भोलिपल्ट पानीमा रंग घोलेर एक अर्कामा फाल्ने चलन छ । वास्तवमा होलीले मानिसबीचमा वा एक आपसमा भएको कटुता समाप्त पार्ने, एक अर्कामा अद्वितीय सम्बन्ध स्थापित गर्ने यसको प्रमुख उद्देश्य हो । तर अहिले उच्श्रृखलता प्रदर्शन गर्ने, अपाच्य हाउभाउ प्रदर्शन गर्ने, असान्दर्भिक गीत बजाएर वातावरण बिगार्ने संस्कारको विकास हुँदै गएको छ ।
