राई विरुद्धको अविश्वासको प्रस्ताव टेबल हुदै

धरान÷प्रदेश नं. १ का मुख्यमन्त्री विरुद्ध नेकपाको माधव–प्रचण्ड समूहका वहुमत सदस्यले ल्याएको अविश्वासको प्रस्ताव माघ २५ गते बोलाइएको प्रदेशसभाको वैठकमा टेबुल हुने भएको छ ।
माघ ७ गते बोलाइएको हिउँदे अधिवेशन नेकपाभित्रको आन्तरिक कलहका कारण केही समय बसेर स्थगित भएको थियो । नेकपाका माधव–प्रचण्ड समूहका ३७ जना सांसदहरुले पौष १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । जसमध्ये उदयपुरका २ र झापाका ३ जना प्रदेशसभा सांसदले आफनो नाम फिर्ता लिएका थिए ।
कानूनी जटिलताको प्रश्न उठाउँदै सभामुख प्रदीप भण्डारीले प्रदेशसभाको हिउँदे अधिवेशन स्थगित गरेपछि अन्य दल र अविश्वासको प्रस्ताव दर्ता गराउने नेकपाका सांसदले अधिवेशन बोलाउन दबाब दिएपछि सभामुख भण्डारीले माघ २५ गते अधिवेशन बोलाउनु भएको छ । संसदमा अन्य विषयमा विजनेश नभएको अवस्थामा मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव प्रमुखताका साथ अगाडि बढ्ने भएको छ । आफ्ना विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १६ सांसदलाई मुख्यमन्त्रीकै निर्देशनमा निलम्बन गरिएको छ भने माधव प्रचण्ड समूहले समेत ओली समूहमा खुलेका ८ जना सांसदलाई निलम्बन गरिसकेको छ । आफूले निलम्बन गरेका सांसदलाई संसदमा प्रवेश गर्न नदिने मनस्थितिमा माधव–प्रचण्ड समूहले कार्वाही गरेका प्रमुख सचेतक बृद्धिकुमार राजभण्डारीले बताइसकेका छन् । माधव–प्रचण्ड समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हँटाइसकेको छ भने भीम आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको छ ।
सम्भावित झडपलाई मध्यनजर गरेर प्रदेशसभामा सांसदहरुले बस्ने कुर्सीलाई यतिबेला फलामको पाताले बेरेर वेल्डिङ्ग गरिएको छ । मुख्यमन्त्री शेरधन राईले अधिवेशन नबोलाउन सभामुख प्रदीप भण्डारीलाई चर्को दबाब दिदै आएको स्रोतले जानकारी दिएको छ । प्रक्रिया अनुसार अधिवेशन बोलाइएकोले अब स्थगित नहुने जवाफ भण्डारीले दिनुभएको थियो । हाल नेकपाका दुवै समूह बीचको सम्भावित झडपलाई मध्यनगर गरी मर्यादा पालकहरुको संख्या पनि बढाइएको एक सांसदले बताए ।

तपाईको प्रतिक्रिया