धरान÷मित्रराष्ट्र भारतले आफ्नो ७२ औं गणतन्त्र दिवस यसपटक विगतको तुलनामा पृथक ढंगले मनाएको छ ।
सन् १९५९ मा देशमा गणातान्त्रिक संविधान जारी भएपछि राष्ट्रिय पर्वको रुपमा २६ जनवरी मनाउँदै आएको भारतले यसपटक स्वदेशमा मात्र नभएर विदेशमा रहेका आफ्ना कुटनीतिक नियोगहरुमा समेत सामान्य ढंगले सम्पन्न गरेको छ ।
गणतन्त्र दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित साह लगायतका मन्त्री, सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री डा. एस.जयशंकरसँगै सबै प्रदेशका मुख्य मन्त्रीहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गणतन्त्र दिवसका अवसरमा नेशनल वार मेमोरियल पुगेर भावपूर्ण रुपमा शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । त्यसबेला उहाँसँग रक्षामन्त्री राजनाथ सिंह, स्थल, जल र वायुसेनाका प्रमुखहरु समेत साथै रहनुभएको थियो । भारतमा गणतन्त्र दिवस भन्दा पहिला शहीदहरुको स्मरण गर्दै नेशनल वार मेमोरियल पुगेर श्रद्धाञ्ली दिने परम्परा रहँदै आएको छ । शहीदहरुप्रति श्रद्धाञ्जली दिनु भन्दा अगाडि उहाँले एक ट्विट गर्नुभएको थियो । देशबासीका नाममा गरिएको ट्विटमा उहाँले गणतन्त्र दिवको अबसरमा सम्पूर्ण देशबासीमा धेरै धेरै शुभकामना व्यक्त गर्नुभएको थियो ।

यहाँ स्मरणीय कुरा के छ भने यस पटकको अर्थात ७२ औं गणतन्त्र दिवसका अवसरमा बेलायतका प्रधानमन्त्री वोरिस जोनसन प्रमुख अतिथिका रुपमा आउने कार्यक्रम तय भएको थियो । भारतले गणतन्त्र दिवसका अवसरमा अन्य देशका सरकार प्रमुख अर्थात प्रधानमन्त्री तथा राष्ट्रपतिलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेर प्रमुख अतिथि बनाउँदै आएको छ । दुई देशका सरकार प्रमुखबीच भएको वार्ताबाट जोनसन आउने निश्चित भएपनि बेलायतमा पछिल्लो पटक देखिएको कोरोना भाइरसको कडा खालको नयाँ रुपका कारण अन्त्यमा जोनसनको भ्रमण स्थगित भएको थियो । आफ्नो भ्रमण स्थगित भएपनि बेलायतका प्रधानमन्त्री वोरिस जोनसनले भारतलाई गणतन्त्र दिवसको शुभकामना दिन भने चुक्नु भएन । उहाँले भारतको ७२ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै भारत आफ्नो हृदयको नाजिक रहेको छ । यस अवसरमा भारत, भारतीय जनताको समृद्धिको कामना गर्दछु, जोनसनले आफ्नो शुभकामनामा भन्नुभएको छ ।
कोरोना भाइरस प्रकोपकै कारण यस पटक नेपालस्थित रहेको भारतीय कुटनीतिक नियोगहरुले समेत कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित राखेका थिए । भारतीय राजदुतवास काठमाण्डौले आफ्ना कर्मचारी, सीमित आमन्त्रित पाहुनाका बीचमा कार्यक्रम सम्पन्न गरेको थियो । यता भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानले समेत आफ्नो कम्पाउन्डभित्र कर्मचारीहरुमाझ शुभकामना आदानप्रदान, राष्ट्रिय झण्डाको झण्डोत्तोलन र वीर शहीदहरुको स्मारकमा श्रद्धाञ्जली दिएर ७२ औं गणतन्त्र दिवस मनाएको थियो । विगतका बर्षहरुमा पेन्सन वितरण कार्यालय धरानले स्थानीय बुद्धिजीवि, समाजसेवी, सञ्चारकर्मी, उद्योगी, व्यवसायी, विविध पेशा व्यवसाय गर्दै धरान तथा आसपासमा बसोबास गर्दै आएका भारतीय नागरिक, भारतीय भूतपूर्व सैनिकहरुको उपस्थितिमा हर्षोल्लासपूर्वक गणतन्त्र दिवस मनाउँदै आएको थियो ।
