धरान÷लकडाउनले थलिएको पर्यटन व्यावसाय विस्तारै चलाएमान हुन थालेको छ । प्रदेश १ को पर्यटकीय शहर धरानमा पछिल्लो समयमा पर्यटन क्षेत्रमा लगानी समेत बढ्दै गएको छ । सुनसरीको धरान उपमहानगरपालिकाले वडा नम्बर २० को विभिन्न क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेसंगै पर्यटन व्यावसायिहरुले लगानी बढाउन थालेका हुन् ।
धरान उपमहानगरपालिकाले धरान–२० विष्णुपादुका क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेसँगै पर्यटन व्यावसायीहरुले लगानी बढाउन थालेका छन् । करिब १० करोडको लगानीमा धरानको सेछ एड्भेन्चरले विष्णुपादुकाको कालिमाटीमा एड्भेन्चर पार्क निर्माण गर्न लागेको हो । २ विगाहा क्षेत्रफलमा निर्माणा हुन लागेको पार्कमा साहसिक खेल जिपलाइन, स्काई साइक्लिङ, हेङगीङ ब्रिजसहित रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ । नेपालको पर्यटन क्षेत्रमा एड्भेन्चर पार्क पहिलो पटक सुरुवात गर्न लागिएको सेछ एडभेञ्चर प्रा.लि.का सञ्चालक बासुदेव बराल बताउनुहुन्छ ।
धरानको जिरोपोइन्टदेखी करिब साढे ४ किलोमिटरको ग्रामीण सडक छिचोलेर मालिमाटी गाउँ पुग्न सकिन्छ । यस क्षेत्रमा चिण्डे डाँडा क्षेत्रबाट प्याराग्लाइडिङ समेत सञ्चालनमा छ । विष्णुपादुका क्षेत्रलाई पर्यटकीय हब बनाउनको लागि सरकारी स्तरबाट ठुलो लगानी हुन सकेको छैन । पर्यटन व्यावसायलाई धरासायी हुनबाट जोगाउन यतिबेला निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको पर्यटन व्यवसायी एलिना मगरको भनाई छ ।
उपमहानगरले विष्णुपादुका क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेसँगै विस्तारै लगानी भित्रिदै गएको स्थानीय सरकारले समेत स्वीकारेको छ । वडामा पर्यटन क्षेत्रलाई विस्तार गर्न ग्रामिण सडक चुनौती रुपमा रहेको धरान २० का वडाध्यक्ष मणिराम राई बताउनुहुन्छ ।
प्रदेश १ कै प्रमुख पर्यकीय क्षेत्रको रुपमा रहेका धरानमा सरकारी क्षेत्रवाट कुनै पहल नभएपनि निजि क्षेत्रले भने यस क्षेत्रको लगानीमा चासो देखाएको छ । निजी क्षेत्रको लगानीसंगै पर्यटन व्यावसाय चलाएमान हुन थालेको छ ।
