धरान÷स्वास्थ्य, शिक्षा र अनुसन्धानको क्षेत्रमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केही बर्ष अगाडिसम्म देशकै नमूना प्रतिष्ठान मानिन्थ्यो । एक समय प्रतिष्ठान उक्त तीनै क्षेत्रमा देशको प्रतिनिधित्व गर्न अब्बल मानिन्थ्यो ।
बीपी प्रतिष्ठानमा जागिर खानु, विशेषज्ञ चिकित्सक, स्वास्थ्य प्राविधिक र कर्मचारीहरुको निम्ति गौरवको कुरा मानिन्थ्यो । त्यतिमात्र नभएर तत्कालीन पूर्वाञ्चलका प्रत्येक घरमा विरामी हुने जो कोहीले एक पटक प्रतिष्ठानमा उपचार गराउन पाए आफनो रोग निर्मुल हुन्छ भन्ने विश्वास भाव जागृत भएको थियो । तर विगत केही बर्षदेखि प्रतिष्ठानको आन्तरिक अवस्था र प्रतिष्ठानप्रतिको जनधारणा ठीक उल्टो भएर गएको छ । प्रतिष्ठान बेइमान र भ्रष्टहरुको अखडाको रुपमा ‘आन्तरक रुपमा’ स्थापित हुँदैछ भने आम जनभावनामा वेथितिको नमूना बन्न थालेको प्रतिष्ठान सकेसम्म उपचार गर्न जानु नपरोस् भन्ने धारणा विकसित भएको पाइन्छ ।
अवसरवादी गिरोहको सक्रियता
प्रतिष्ठानमा खरिद, विद्यार्थी भर्ना लगायतमा कमाउ धन्दा चलाउने विभिन्न गिरोहहरु बर्षौदेखि सक्रिय छन । यी गिरोहहरुमा चिकित्सकदेखि कर्मचारीसम्मको माकुरी जालो फैलिएको छ । प्रतिष्ठानभित्र नेतृत्व स्थापित गर्ने, नेतृत्व परिवर्तन गर्ने र लाभका पदहरु हत्याउने कार्यमा यी गिरोहहरुको सदैव सक्रिय भूमिका र एक आपसमा लडाइ हुने गरेको छ । बेला बेलामा प्रतिष्ठानमा हुने धर्ना, आन्दोलन, विभिन्न समूहहरु बीचको विवाद र पदाधिकारीहरुको बेमेलमा यिनै जालो बुन्ने भ्रष्ट माकुराहरुको प्रत्यक्ष र अप्रत्यक्ष भूमिका हुने गरेको छ । यी गिरोहहरुको स्वार्थ पूरा हुन्जेल प्रतिष्ठानमा शान्ति रहने र स्वार्थ पूरा नहुने वित्तिकै विदण्डता हुने विगत १० बर्षदेखिको नियमति प्रक्रिया बन्दै गएको छ ।
केही बरिष्ठ चिकित्सक र कर्माचारी नै चरम असवसरवादी

प्रतिष्ठानमा एउटा यस्तो समूह छ जुन देशको राजनैतिक अवस्था परिवर्तन हुने वित्तिकै आफूले आस्था राखेको भनेको राजनैतिक दल तत्काल परिवर्तन गरी हाल्छन् । प्रतिष्ठानभित्र हाल कट्टर कम्युुनिस्ट भएर पदाधिकारी पद पाएका एक पदाधिकारीले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा चितवनबाट नेपाली काँँग्रेसको सक्रिय सदस्यता लिँदै नेपाली काँग्रेस सुनसरीको समेत सिफारिस लिएर झण्डै अस्पताल निर्देशक पदमा नियुक्त भएको प्रसंग अहिले प्रतिष्ठानमा चर्चाको विषय भएको छ त्यसैगरी डा. शेखर कोइराला उपकुलपति हुँदा आफूलाई कट्टर प्रजातान्त्रवादी भनेर विभिन्न व्यक्तिगत फाइदा लिनेहरु डा. शेखर कोइरालाको कार्यकाल सकिने वित्तिकै चरम वापन्थी भएर पद प्राप्तिको खेलमा लागेको आम धरानबासीले रोचक ढंगले हेरेका छन् । अझ दुई तिहाइको ओली सरकार बनेपछि बीपी प्रतिष्ठानमा अब लालसत्ता स्थापित गर्ने हो भनेर ज्यान छोेडेर आफूलाई पूर्व माओवादी, पूर्व एमाले र पूर्व खाओवादी (नारायण काजी–गिरिराजमणि) को प्रमाणपत्र सहित पदको निम्ति भिड्ने चिकित्सक र आकर्षक शाखाहरुमा सरुवाको निम्ति भिड्ने कर्मचारीको खेल हेर्दा आम धरान बासीलाई ……. भन्दा देख्नेलाई लाजको उखान युक्ति संगत लाग्न थालेको छ ।
नेकपाको फुटले भागाभाग
नेपालमा कम्युनिस्टहरुको दुई तिहाइको सरकार पानीको फोका जसरी फुटेपछि बीपी प्रतिष्ठानको अवसरवादी गिरोहको सपना पनि फुट्दै गएको प्रतिष्ठानका एक कासले बताए । उनले भने विशेष गरी ओली गुटभित्रका कमाउधन्दा चलाउने गिरोहको पहलमा पदाधिकारी नियुक्ति पाएका र सात करोडमा उपकुलपति समेतको नियुक्तिको प्याकेज डिल गरेर बसेका ‘हिसिला प्रवृत्ति’ का पदाधिकारीको होस हवास नै उडेर विगत केही दिनदेखि आफूलाई विराटनगर भएको भन्दै भूमिगत रुपमा काठमाण्डौ गएर आफूले बुझाएको सात करोड उठाउन जोडतोडले लागेको ती कासले बताए ।
माफियाले उचालेर पदाधिकारी त बनाए तर यसकै चक्करमा तिनको घरबार नै पो उजाडि दिने जस्तो छ अर्का एक प्राध्यापकले बताए । त्यसैगरी पूर्व खाओवादी (नारायकाजी) गुटमा लागेर पद हत्याउने एउटा समूह समेत अहिले पति वियोगमा रहेकी स्त्रीजस्तै भएका छन् । अब यो देशमा केही बर्षभित्र कम्युनिस्ट सरकार आउने कुरा कल्पना गर्न मुस्किल छ । अझ सधै अरुलाई जुधाएर अर्काको दुःखको व्याज खाने नारायण काजी–गिरिराज मणि समूहको दिन त यो जन्ममै आउँदैन जस्तो लाग्छ, प्रतिष्ठानका गिरिराजमणि समर्थकहरु हाल आफूहरु कम्युनिस्ट हैन भनेर पद जोगाउन रोइलो गर्न थालिसके अर्का एक कर्मचारीले भने ।
यति धेरै राजनीति किन ?
चिकित्सकलाइ समाजले भगवानको अर्को रुप मानेको छ । आम जनमानसले अस्पतालमा सेतो कोट लगाएका व्यक्तिमा दक्ष चिकित्सक खोजेका हुन्छन् न कि काँग्रेस, एमाले, माओवादी, मधेशवादी वा खाओवादी । तर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पद र सुविधा प्राप्तिको लडाइले यस्तो अवस्था सिर्जना भइरहेको छ कि आम जनताले पहिला सम्बन्धित पार्टी अफिसमा सम्पर्क गरेर मात्र अस्पतालमा आफ्नो पार्टीको चिकित्सक भेट्नु पर्ने हुन्छ, प्रतिष्ठानका एक प्राध्यापकले सुनाए । पदाधिकारी नै पार्टीको झोले छन्, पार्टीमा लागेन र कुनै नेताले दबाब दिएन भने कुनै काम नै हुँदैन । त्यसैले पनि यस्तो अवस्था सिर्जना भएको हो, धरानका एक बरिष्ठ समाजसेवीले बताए ।
