धरान÷भारतको अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) को अवधारणा अनुरुप भारत सरकारकै लगानीमा निर्माण भएको नेपालकै सबैभन्दा ठूलो र प्रदेश नं. १ को गहना मानिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यतिबेला विघटनको सघारमा पुगेको छ ।
नेपाल सरकारले प्रतिष्ठान बनाउन भनेर नियुक्त गरेका पदाधिकारी नै प्रतिष्ठानको हुर्मत लिन तल्लीन भएर लागेका छन् । पदाधिकारी प्रतिष्ठान बनाउनु भन्दा पनि कमाउ गोरस धन्दामा लागेपछि प्रतिष्ठानको शैक्षिक गतिविधि, अस्पताल सेवा र प्रशासन तहस–नहस हुनुका साथै आर्थिक रुपमा प्रतिष्ठानले इतिहासमै सबैभन्दा ठूलो संकट व्यहोर्नु परेको छ ।
पदाधिकारीहरुले नियुक्तिमा गरेको लगानी उठाउने एक सूत्रीय गोरस धन्दाले शिक्षा, स्वास्थ्य, अनुसन्धानका कामहरु नराम्ररी धराशायी भएको छ । आन्तरिक व्यावस्थापनको मनोमालिन्यले गर्दा दक्ष जनशक्तिहरु पलयानको मनस्थितिमा पुगेको एक चिकित्सकले बताए । उनले भने अब प्रतिष्ठानमा चिकित्सकहरुका लागि आकर्षकणको कुनै कुरा रहेन । सुधार होला भन्ने अपेक्षा गर्नु नै अब बेकार हुन थाल्यो । यस्तो अवस्थामा बसिरहनुको औचित्य पनि रहँदैन ।
समयमा तलब पाउन छोडे
प्रतिष्ठान कतिसम्म धराशायी बन्न पुगेको छ भने प्रत्येक महिनाको नियमित तलब समेत शिक्षक, कर्मचारीहरुले पाउन छाडेका छन् । गत बर्षको चैत्र २८ गते प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी सम्हाल्न आएका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले वैसाखमा कर्मचारी, चिकित्सक, प्राध्यापकहरुको तलब २५, २०, १८ प्रतिशतशत बढाउने घोषणा गरेका थिए ।
एक कर्मचारीले आक्रोस पोख्दै भने विगतका महिनामा २७, २८ गते तलब खातामा हालिन्थ्यो । तर अहिले तीन गते भैसक्दा पनि तलब दिइएको छैन । नियमित तलब त खुवाउन सकेका छैनन् भने बढेको तलब खुवाउँछन् भन्ने आशै छैन । भ्रष्टाचार र कमिशनका कारण आर्थिक अवस्था डावाडोल बनेको छ । रातारात ठूला सप्लायर्स र निर्माण व्यवसायीलाई भुक्तानी गर्छन् । सामान्य सप्लायर्सहरुबाट थोरै कमिशन पाउने भएकोले भुक्तानी गर्दैनन् । साना सप्लायर्सहरु आन्दोलनमा उत्रने मनस्थितिमा पुगेको पनि उनले बताए । यतिबेला प्रतिष्ठानमा १७ सय (कर्मचारी, चिकित्सक, प्राध्यापक) छन् । अझै एक दुई दिन तलव नपाइने हो भने उधारो पनि पत्याउन छोड्छन् । उनले भने सञ्चालन खर्च सरकारसँग लिन असक्षम पदाधिकारी पूजीगत तर्फको निर्माण उपकरण खरिद भुक्तानीमा भने ठलो होडबाजी चलेको छ ।
रजिष्ट्रार र अस्पताल निर्देशक कमाउ धन्दामा


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा आर्थिक लगानी गरी चलखेल गर्दै आएका धरानका एक अग्रवाल थरका मेडिकल माफियासँग साँठगाँठ गरेर नक्कली उपकरण र नक्कली अस्पताल सामाग्री खरिद गरी रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशकको मिलीभगतमा करोडौ अनियमता भएको कासका एक सदस्यले बताए ।
नक्कली स्प्रिट खरिद प्रकरणमा शिक्षक र कर्मचारीहरुले प्रमाण सहित पेश गर्दा पनि न त नक्कली स्प्रिट सप्लाइ गर्नेमाथि कारबाही भएको छ न त रजिष्ट्रार र निर्देशकमाथि सोधपुछ भएको छ । चिकित्सक र कर्मचारीहरुले मेडिकल स्टोर, गुणस्तर जाँच समिति, खरिद शाखा, प्रशासनमा उजुरी गरेपछि केही स्प्रिटहरु देखाउनकै लागि हाल फिर्ता गरिएको एक चिकित्सकले बताए । गुणस्तर जाँच समितिका संयोजक परमानन्द गुप्ताले भने आपूर्ति गरेको स्प्रिट गुणस्तर जाँच समितिमा नल्याई सोझै स्टोरमा पु¥याइएको थियो । यसभन्दा अगाडि पनि यसैगरी गणस्तरहीन स्प्रिट आपूर्ति भएको थियो तर त्यसलाई गुणस्तर जाँच समितिले फिर्ता गरेको थियो ।
प्रतिष्ठानको जग्गा बेच्ने र कुलपति बन्ने चक्करमा रजिष्ट्रार
धरानका एक मदिरा व्यवसायीको दुई करोड ५० लाख र अग्रवाल थरका मेडिकल व्यवसायीको ४५ लाख लगानी तथा आफ्नो वालुवाटारको घर २ करोड ५० लाखमा विक्री गरी जोडजाड गरेर ७ करोडमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई हँटाएर उपकुलपति बन्ने डिल गरेर तत्काललाई रजिष्ट्रारको नियुक्ति लिएका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी प्रतिष्ठानको एक अर्ब भन्दा बढीको जग्गा मदिरा व्यवसायीलाई जिम्मा लगाएर ऋण तिर्न आतुर रहेको एक प्राध्यापकले बताए ।
मदिरा व्यवसायी, पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङ्गका एक आफन्त, विष्णु रिमालका छोरा, प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोख्रेलकी पत्नी सुजता शाक्यसँग सहकार्य गरिरहेका रजिष्ट्रार रेग्मी कुनै पनि हालतमा केपी ओली प्रधानमन्त्री छँदै उपकुलपति डा. गिरीलाई हँटाएर आफू उपकुलपति नबने आफूले भुक्तानी गरिसकेको ७ करोड डुब्ने डरले अनेक षड्यन्त्रको तानावाना बुन्नुले पनि प्रतिष्ठान तहसनहस बनेको पूर्व एमालेको एक स्रोतले जनाएको छ ।
अस्पताल निर्देशकको उठन्ती धन्दा
धरानका एक मेडिकल सामाग्रीका सप्लायर्ससँग ऋण लिएर, जनकपुरको आफ्नो जग्गा बेचेको पैसा र काठमाण्डौको घर मिटर व्याजमा राखेर जम्मा गरेको दुई करोड ८० लाख बुझाएर नियुक्ति लिएका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहको पूरै कार्यकाल उक्त पैसा उठाउनमै वित्ने गरेको प्रतिष्ठानका अर्का एक प्राध्यापकले बताए ।
केही समय अगाडिमात्र निर्देशक साहको घरमा तीन दिनसम्म धर्ना दिएपछि आपत्तमा परेका निर्देशक साहले अग्रवाल थरकै मेडिकल सप्लायर्स व्यापररीसँग ४० लाख ऋण लिएर आधा पैसा तिरेको ती प्राध्यापकले बताए । हिजो आज निर्देशक डा.् साह अग्रवाल थरका उक्त व्यापारीको गुन तिर्न नक्कली अस्पताल सामाग्री खरिदमा रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीसँग मिलेर व्यस्त बनेका छन् । निर्देशक साहका सम्पूर्ण खरिद निर्णय र सिफारिसको छानविन गर्न उजुरीसमेत परेको इटहरीस्थित अख्तियार स्रोतले जनाएको छ ।
उपकुलपतिको हावा ताल

स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई मोटो रकम बुझाएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति पाएका मेडिकल व्यवसायी एवम् विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र गिरीलाई प्रशासन, अर्थ व्यवस्था, अध्ययन, अनुसन्धानको कुनै ज्ञानै छैन, एक प्राध्यापकले भने । उनका अनुसार उठन्ती कार्यका लागि नियुक्ति गरिएका सल्लाहकार दिलिप भट्टराईले समेत करिब ५० लाख उठाएर चम्पट ठोकेपछि हिस्स परेका उपकुलपति डा. गिरीको कार्यकाल गफ गरेरै वित्ने भयो ।
सम्बन्धन दिएर पैसा खाने उपाय


आर्थिक रुपमा जर्जर बनेको, प्रतिष्ठानका सबै खाता रित्तिएपछि पैसा उठाउन यतिबेला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्व विद्यालय बनाउने दौडधूपमा उपकुलपति डा. गिरीर र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी दिलो ज्यानले लागेका छन् ।
प्रतिष्ठानलाई विश्व विद्यालय बनाएर झापाको विएण्डसी मेडिकल कलेज लगायत अन्य कलेजलाई सम्बन्धन दिएर करोडौ उठाउन सकिने उपकुलपति गिरीका गुरु डा. उपेन्द्र कोइरालाले आइडिय दिएको स्रोतले जानकारी दिएको छ । तर यसको प्रतिष्ठान भित्रैबाट तिब्र विरोध भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सक शिक्षक कल्याण समाजमा अध्यक्ष डा. विष्णु पोखरेल, महासचिव डा. एसपी रिमालले मंसिर २५ गते एक विज्ञप्ती नै प्रकाशित गरी विश्व विद्यालयको औचित्य पुष्टि गर्न चुनौति दिनु भएको छ ।
यसै सम्बन्धमा अध्यक्ष पोख्रेलसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो अहिलेका पदाधिकारीहरुलाई विश्व विद्यालय किन बनाउने भन्ने उद्देश्य नै थाहा छैन । उद्देश्य नै पुष्टि नभई विश्व विद्यालय बनाउदा त्यो दीगो हुँदैन र समस्या झन थपिन्छ । हाम्रो प्रश्न पनि यही हो, हामीले हाम्रो पश्नको जवाफ मागेका हौ, अध्यक्ष पोखे्रलले भन्नुभयो । तर यसको जवाफ अहिलेसम्म दिएका छैनन् । समाजका अध्यक्ष डा. पोख्रेल भन्नुहुन्छ २७ बर्षसम्म प्रतिष्ठान एउटा लक्ष्य लिएर अगाडि बढेको छ त्यो लक्ष्यमा हामी कहाँसम्म पुग्यौ ? हामीलाई त्यो लक्ष्य प्राप्ति गर्न के कुराले रोक्यो ? हामीले त्यो लक्ष्य प्राप्ति गरिसकेकोले अझ त्यो भन्दा माथिको लक्ष्य प्राप्त गर्न खोजेको हो कि ? किन विश्व विद्यालयमा जानु प¥यो भन्ने कुरामा बहस हुनुपर्दैन ? उहाँले भन्नुभयो पदाधिकारीहरुको अदूरदर्शिता असाध्यै देखियो । नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिएर पैसा असुल्ने नियत मात्र देखियो । आज प्रतिष्ठानको अस्पताल आर्थिक रुपले जर्जर देखिएको छ । आर्थिक कमजोरी भएकोले विश्व विद्यालय भयो भने आर्थिक रुपले सवल हुन्छौ भन्ने उहाँहरुको सोच छ । त्यो सम्पन्नताले आगामी दिनमा प्रतिष्ठान चल्न सक्दैन । प्रतिष्ठनमा भएको चरम भ्रष्टाचार, अपारदर्शिता रोक्नुपर्छ । भाँडाको प्वालचाहिँ नटाल्ने अनि माथिबाट जति खन्याए पनि तयो भरिदैन । आन्तरिक रुपमा हामी बलियो हुनुप¥यो अनि विश्व विद्यालय बनाउने कि नबनाउने दोस्रो कुरा हो । प्रतिष्ठान अहिले विश्व विद्यालय भन्दा कम छैन । एउटा सम्बन्धन दिन नसक्ने मात्र हो अरु कुनैपनि अधिकारमा कम छैन, डा. पोख्रेलले भन्नुभयो ।
समाजले वर्तमान प्रतिष्ठानको व्यवस्थापन सुधारे काफी हुने बताएको छ । तर सम्बन्धन दिएर प्रतिष्ठानलाई लथालिंग बनाउन खोजेको देखियो । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपकुलपति डा. ज्ञानेन्द्र गिरी, डा. उपेन्द्र कोइराला लगायतको मिली भगतमा विश्वविद्यालय बनाउन कार्यदल गठन गरेको र त्यसको सदस्य सचिवमा प्रारम्भदेखि नै विवादमा मुछिदै आएका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीलाई बनाइएको छ ।
छलफल नै नगरी सल्लाहकार समिति
प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना विपरीत स्वास्थ्यमन्त्री भानुभक्त ढकालको जोडबलमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति भएका डा. ज्ञानेन्द्र गिरी प्रारम्भदेखि नै विवादमा पर्दै आएपछि प्रतिष्ठानका बरिष्ठ चिकित्सक प्रा.डा. प्रल्हाद कार्कीको संयोजकत्वमा केही समय अगाडि सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
यसै सम्बन्धमा प्रा.डा. कार्कीसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो छलफलै नगरी टेलिफोन गरेर सल्लाहकार समिति बनाउँदै छु भनेर भिसीले भन्नुभयो । छैठपछि मंसिर ७ गते आइतबार एउटा मिटिङ पनि भयो । उहाँले भन्नुभयो सल्लाहकार समिति किन बनाइएको हो थाहा छैन । यसको काम, कर्तव्य र अधिकार के हो त्यो पनि थाहा छैन । भिसीलाई सल्लाह दिन होला । वैसाख १ गते दाङ जानु भएका प्रा.डा. कार्की केही दिन अगाडि मात्र प्रतिष्ठानमा आउनु भएको हो । उहाँले भन्नुभयो वास्तवमा मलाई यहाँ बस्न पनि मन छैन, छोरो पढ्दै छ भनेर मात्र बसेको हुँ । तलब समयमा दिँदैनन्, अब प्रतिष्ठानमा के छ र बस्ने ? अहिले यहाँ सबै कुरा लथालिंग भएको छ । कमिटी गठन भएदेखि भिसीले सल्लाह पनि मागेका छैनन्, हामीले सल्लाह दिएका पनि छैनौं ।
उहाँले भन्नुभयो सल्लाहाकारले केही निर्णय पनि गर्ने होइन, देखेको कुरा भनिदिने हो । यहाँ अहिले सबै कुरा गलत छ, कोही ठीक छैनन् । प्रतिष्ठानप्रति वफादार पदाधिकारी नै देखिएका छैनन् । हामीले लागेको कुरा भनिदिने हो गर्ने उनीहरुले नै हो । प्रो. इस्टिच्युटका लागि काम गर्नुुप¥यो । प्रतिष्ठान हिजो कस्तो थियो, आज खत्तम भइसकेको छ । प्रतिष्ठानको लागि काम गर्नुप¥यो भिसी र रजिष्ट्रारका लागि गर्ने होइन । उहाँले भन्नुभयो सल्लाह दिँदा पनि पदाधिकारीलाई फाइदा हने सल्लाहचाहिँ दिइदैन ।
