सीमा नाका खोल्न धर्ना र प्रदर्शन

इनरुवा÷कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले नौ महिना अगाडि सुनसरी, मोरङ, झापामा बन्द गरिएको सीमा नाका खोल्नुपर्ने माग गर्दै सुनसरी र मोरङ्गमा स्थानीयहरुले समिति नै गठन गरेर धर्ना सहित दबाबमुलक कार्यक्रम अगाडि बढाएका छन् ।
भारत सरकारले आफ्नोतर्फ दुई महिना अगाडि नाका खुल्ला गरेपनि नेपालका तर्फबाट हालसम्म बन्दै गरिएकोले आफूहरुको जनजीवन कष्टकर बन्दै गएको भन्दै सुनसरीको देवानगञ्ज, रामनगर भुटाहा, सीतागञ्ज र विराटनगरको रानी नाकामा शनिवारदेखि दबाबमुलक कार्यक्रम धर्ना र रिले अनसन स्थानीयले शुरु गरेका छन् ।
आर्थिक, सामाजिक, साँस्कृतिक सम्बन्ध रहेको नेपाल भारत बीचमा नेपालका तर्फबाट नाका बन्द हुँदा दैनिक उभोग्य वस्तुदेखि आफन्त भेटघाटमा जान समेत नपाइएको स्थानीयहरु बताउँछन । सुनसरीको देवानगञ्ज वडा नं ४ कौवाखोजमा नेपाल भारत खुला सीमा सम्वाद समूहको व्यानरमा स्थानीयले दैनिक एक घण्टा धर्ना र प्रर्दशन शुरु गरेका छन् । यसै सम्बन्धमा सुनसरीका प्रमख जिल्ला अधिकारी फणिन्द्रमणि पोखे्रलसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो यो निर्णय हामीले गर्न सक्दैनौं । क्याविनेटले नै निर्णय गरेर हामीलाई निर्देशन दिनुपर्छ । उहाँका अनुसार अब त खोलीदिँदा पनि हुने हो । भारतले आफ्नो तर्फ खोलिसकेको छ । कामदारहरु आउने सवालमा विराटनगर भन्सार नाका हुँदै आउने हुन् । त्यो हेनेै काम मोरङ्गकै प्रमुख जिल्ला अधिकारीको हो । झापामा पनि काँकडभिट्टा नाकाबाट आउजाउ गर्नेहरुलाई झापाकै प्रमुख जिल्ला अधिकारीले हेर्नुपर्छ । हाम्रोमा त्यस्तो ठूलो समस्या त छैन तर पनि अव बन्दै गर्दा स्थानीयले दुःख चाहिँ पाएका छन् ।
मोरङ्ग जिल्लामा नेपाल भारत खुल्ला सीमा संवाद समूह प्रदेश नं. १ गठन गरी दैनिक एक घण्टा अनिश्चित कालीन धर्ना र प्रदर्शन शुरु गरेका छन् । राजीव झाको नेतृत्वमा गठन गरिएको समूहका सदस्यहरु प्रिति झा, कमलेश्वर रौनियार, विकास मण्डल, नेपाल भारत मैत्री युवा प्रदेश नं. १ का अध्यक्ष महम्मद नसरुल, इनामुल हक, सत्यनारायण साह, फैयाज रैन, सदिन शेख लगायतले नेपालले सीमा नाका खोल्नुपर्ने माग गर्दै धर्ना र प्रदर्शन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया